कार्यमुलक अनुसन्धान : गर्न खोजेको के ? भएको के ?
वि.सं. २०६७ मा शिक्षक सेवा आयोग नियमावलीको पाँचौ संशोधनले शिक्षकहरूको प्रचलित कार्यसम्पादन मूल्याङ्कनको ढाँचामा परिवर्तन गरी फारम भर्ने सबैले अनिवार्य रुपमा कार्यमूलक अनुसन्धान गर्नुपर्ने र त्यस वापत ३ अङ्कको व्यवस्था गर्यो । यो कसैको लहडमा ल्याइएको थियो वा आवश्यकताको आधारमा ? यसमा कुनै ठूलै अनुसन्धान नै भएको थियो कि सत्ता र शक्तिमा हुनेलाई रहर लागेको थियो ? ल्याउनेलाई नै थाहा होला । तर यो शिक्षकहरूले माग गरेर र उनीहरूको चाहनामा आएको भने पक्कै होइन । नेपालमा शिक्षकहरूले सामुदायिक शिक्षा सुधार र आफूहरूको व्यवसायिकता वृद्धिका लागि कुनै माग गरेको पङ्तिकारलाई ज्ञान छैन । कसैको रहरमा यो आयो, शिक्षकको रहरमा आएन र अहिले पनि यसलाई अधिकांश शिक्षकहरूले अरुका लागि गरिदिने कामको रुपमा बुझेका छन् भन्दा अतिशयोक्ति नहोला ।
कार्यमूलक अनुसन्धानको सैद्धान्तिक अवधारणबाट हेर्दा सामुदायिक शिक्षाको समग्र कमजोरीमा विद्यालय र कक्षा कोठाका समस्या छन् ती समस्या समाधान अभ्यासकर्ताले (शिक्षक) नै गर्नुपर्छ भन्ने आसयले यसलाई ल्याइएको हुनुपर्छ । आठ वर्षदेखिको यो अभ्यासले सामुदायिक विद्यालयका कक्षा कोठा र विद्यालय सुधार भए कि भएनन् ? शिक्षकहरूले गरेका वा लेखेका कार्यमूलक अनुसन्धानले शिक्षण सिकाइमा सुधार ल्यायो ल्याएन ? त्यो फरक खोजको विषय होला । तर हरेक वर्ष वैशाखमा कार्यसम्पादन मूल्याङ्कन फारममा जोड्नका लागि, कार्यमूलक अनुसन्धान लेख्ने हतारो शुरु हुने गरेको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा व्यवस्था भएसँगै शिक्षक सेवा आयोगले यसलाई खुला प्रतियोगिताको पाठ्यक्रममा पनि समावेश ग¥यो । शैक्षिक जनशक्ति विकास केन्द्रले मुख्य प्रशिक्षक प्रशिक्षण र प्रशिक्षक प्रशिक्षण सञ्चालन ग¥यो । शैक्षिक जनशक्ति विकास केन्द्र, विभिन्न शैक्षिक तालिम केन्द्र, जिल्ला शिक्षा कार्यालय, स्रोतकेन्द्र जहीँतहीँ यसका तालिम चले । यो विषयका लागि हजारौँ प्रशिक्षक तयार भए । हजारौँ जनालाई तालिम दिइयो । प्रशिक्षण निर्देशिका, कार्यमूलक अनुसन्धानका लेख त कति कति ! शिक्षक सेवा आयोगको खुला प्रतियोगितात्मक परीक्षा पास गर्नेले त तीन घण्टाको परीक्षा समयमै एउटा कार्यमूलक अनुसन्धान सम्पन्न पनि गरे । शिक्षक सेवा आयोगका तयारी कक्षा र गाइडमा यसको विद्धता पोखिएको छ । देशी विदेशी सयौँ विद्धानले यसका परिभाषा दिएका छन् । शिक्षा क्षेत्रमा यस्तो मान्छे कोही छैन होला, जसले यसको वारेमा सुनेको छैन र जानेको छैन । यति धेरै प्रयास हुँदा पनि कार्यमूलक अनुसन्धान किन अनुसन्धान मात्र भएको छ, कार्यमूलक हुन सकेको छैन ? भन्ने प्रश्न अनुत्तरित नै छ । तर पङ्तिकार शिक्षा क्षेत्रमै काम गरेपनि यसको तालिम लिने र दिने अवसर पनि पाएको छैन, धेरै कुरा जान्दा पनि जान्दैन ।
वि.सं. २०७४ असारको पहिलो साता पङ्तिकार देशको एउटा तत्कालीन शिक्षा कार्यालयमा पुगेको थियो । विद्यालय प्रशासन शाखामा विभिन्न तहका शिक्षकहरूले बुझाउनु भएका कार्यमूलक अनुसन्धान प्रतिवेदनको तहगत अलग अलग फाइल तयार गरेर व्यवस्थित तरिकाले राखिएको थियो । भन्न त नजाने गाउँको बाटो नसोध्नु भन्छन् तैपनि मलाई त्यसरी बाँधेर राखिएका ती कार्यमूलक अनुसन्धानका प्रतिवेदनहरू कस्ता होलान् ? ती अनुसन्धानका प्रतिवेदनहरू पढेर कक्षा कोठा र पठनपाठनका केही कुरा जान्न पाइएला कि भनेर हेर्न मन लाग्यो । अनुमति मागेर जब ती प्रतिवेदनहरू सरसर्ती हेर्न थालेँ मलाई मेरै अल्पज्ञान माथि प्रश्न गर्न मन लाग्यो । होइन मैले त यो कार्यमूलक अनुसन्धान भन्ने बुझैकै छैन कि क्या हो ? कनिकुथी अङ्ग्रेजीमा लेखिएका गुगलमा सर्च गरेका सामग्री त पढेको हुँ । अनुसन्धान विधिका केही पुस्तकहरू पनि पढेकै हो । होइन यो त बुझैकै रहेनछु कि जस्तो लाग्यो । फेरी एकपटक गुगलको सहारा लिए । केही निशुल्क किताब डाउनलोड गर्न सकिने वेभसाइटको सहारा लिए । फेरी पाँच सातवटा किताब जम्मा पारेँ । तीन वर्ष अगाडी रु. ५५० हालेर किनेको कार्यमूलक अनुसन्धानको पुस्तक सित्तैमा वेभसाइटमा भेट्टाउँदा त्यो पैसाको माया लाग्यो । पढ्ने कुरा र ती फाइलमा राखिएका प्रतिवेदनमा तालमेल नभेट्दा आफैले नुबुझेको हो कि भन्ने अलमल धेरै भयो । तथापि चार वटा कुरामा भने स्पष्ट हुन सकेँ ।
(a) without action there is no action research
(b) it is cyclical process (plan, act, do, reflect, re-plan)
(c) result should have change in practice/previous situation
(d) it should have conducted by practioner and self-correction.
अङ्ग्रेजीका यी चार वाक्यको सहाराले सबै प्रतिवेदन हेर्न थालेँ, त्यहाँ कुनै Action छ, छैन र चक्रीय छ, छैन भन्ने दृष्टिबाट । हेर्दै गर्दा न त कतै Action छ, न त त्यहाँ चक्रीय पद्धति छ, न त साँच्चिकै अनुसन्धान नै भएको छ । न त प्रतिवेदनमा एकरुपता नै छ । कसैले शीर्षक लेखेर निबन्ध लेख्नुभएको छ, कसैको पत्रकारको जस्तो रिपोट छ त कतै १५, २० वटा समस्याको फेहरिस्त र त्यति नै सङ्ख्यामा समस्या समाधानका उपाय सुझाइएको छ । कासमु भर्दा एक दुई घण्टामा तयार गरिएको हो कि भन्ने जस्तो देखिन्छ । प्राथमिक होस् वा निम्नमाध्यमिक र माध्यमिक सबैको अवस्था करिब उस्तै छ तथापि तह अनुसार भाषा, शैली, समस्या, समस्याका कारण, समाधानका उपायको पनि तह बढेको छ । अनि विचार गरेँ माध्यमिक तहका मात्र यी प्रतिवेदनको एउटा तालिका बनाउँ कस्तो बन्छ ।
फाइल पल्टाउदै जाँदा विद्यालयमा पुस्तकालय स्थापनाका लागि तयार गरिएको प्रस्तावनालाई कार्यमूलक अनुसन्धानको रुपमा कासमुमा राखिएको छ । स्रोतकेन्द्रमा कार्यमूलक अनुसन्धानको प्रशिक्षक भएका स्रोतव्यक्तिहरूको पनि कार्यमूलक अनुसन्धानको उदाहरण प्रतिवेदन बन्न सकेको देखिएन ।
एक स्रोत व्यक्तिकै कार्यमूलक अनुसन्धानको प्रतिवेदनमा वर्षमात्र परिवर्तन गरेर बुझाएको पनि भेटिएको छ । अर्का एक शिक्षकले शिक्षकको पेशागत विकास तालिम TPD २०६९ मा सहभागी हुँदा तयार गरिएको कामलाई कभर पेज परिवर्तन गरी पेस गरिएको छ । शिक्षकले आफ्नै समस्या समाधानका लागि गर्ने भन्ने कार्यमूलक अनुसन्धानको उद्देश्यमा शिक्षकलाई सुझाव दिने भन्ने उद्देश्य निर्धारण गरी कार्यमूलक अनुसन्धानको प्रतिवेदन तयार गरिएको छ । एउटै शीर्षकमा तयार गरिएको रिपोर्टमा दुइजनाले नाम परिवर्तन गरेर राखिएको छ ।
शिक्षकले केही न केही त लेखे । उनीहरुले केही अध्ययन त गरे । त्यो कार्यमूलक अनुसन्धान नभए पनि केही काम त भयो । विस्तारै सुधार हुँदै जाला पनि भन्न सकिएला । तर जुन तरिकाले औपचारिकता मात्र पूरा गर्न गरिएको छ त्यसले भोलिका दिनमा पनि सुधार हुन्छ भनेर आशा कमै गर्न सकिन्छ । एउटा कार्यमूलक अनुसन्धान गणित विषयमा अतिरिक्त कक्षा लिने र नलिने विद्यार्थीको प्राप्ताङ्कको भिन्नता अध्ययन गर्ने भनिएको छ तर परीक्षा नै नलिई प्राप्ताङ्कको अध्ययन सकिएको छ । यस खालको प्रवृतिले त भोलिका दिनमा पनि सुधार होला भन्ने अपेक्षा कति गर्ने होला ! सिकाएर, पढाएर त सकि नै सक्यो । हरेक वर्ष कासमुमा यस वापतको पूृर्ण अङ्क आएकै छ किन गर्नु र ?
कार्यमूलक अनुसन्धान खासगरी देखापरेका समस्या समाधान (न्यूनीकरण वा सुधार समेत) गर्नका लागि गर्ने भनिन्छ, तर अधिकांश कार्यमूलक अनुसन्धानका शीर्षकहरूनै समस्याहरु खोजी गर्ने भन्ने रहेका छन् र समस्याको खोजी गर्दा पनि मनगढन्ते तरिकाबाट आफूलाई मनमा लागेका समस्या लेखिएको छ । समस्या ज्यादै स साना हुनुपर्छ र जुन शिक्षकले आफैले समाधान गर्न सक्ने हुनुपर्छ भनिन्छ तर समस्याहरु नेपालमा बालिका शिक्षाका समस्यादेखि सामुदायिक विद्यालयको गुणस्तरका सम्म रहेका छन् ।
हामी शिक्षाकर्मीले साच्चिकै सुधार चाहेका छौँ भने जे गर्न खोजिएको हो, यसलाई जे का लागि गराउन खोजिएको हो त्यसमा ध्यान दिउँ । नभए औपचारिकताका विभिन्न वहानामा समय खर्च नगर्दा पनि होला भन्ने लाग्छ । कम्तीमा यी कार्यमूलक अनुसन्धानको सामान्य समिक्षा गर्ने, शिक्षकलाई पृष्ठपोषण दिने र केही राम्रा कार्यमूलक अनुसन्धानको उदाहरणहरू प्रस्तुत गरिदिने अभ्यास मात्र गर्न सक्दा पनि प्रभावकारी हुन्थ्यो ।
दुई पेजमा पनि तयार गरिएका छन् र १०, १२ पेजसम्मका पनि छन् । कार्य सम्पादन मूल्याङ्कनका लागि कम्तीमा कति आवश्यक पर्ने हो, त्यसको ढाँचा के हो ? त्यसमा न्यूनतम हुनुपर्ने कुरा के के हुन ? भन्ने मात्र पनि स्पष्ट गर्नु आवश्यक छ । यसलाई सुधारको रणनीति हो भने प्रभावकारी कार्यान्वयनमा ध्यान दिउँ, नभए औपचारिकतामा मात्र ध्यान नदिदाँ नै वेस होला । कुरा गरेर होइन, काम गरेर हुन्छ सुधार । कार्यमूलक अनुसन्धान लेख्ने विषय होइन, गर्ने विषय हो । लेखेर गर्ने होइन गरेपछि लेख्ने हो ।
धन्यबाद !