Latest Book

एसइइ पछि के पढाउने ? अभिभावकलाई अनुरोध !

लाखौँ विद्यार्थी यतिखेर एसइइको नतिजा हातमा बोकेर कक्षा ११ मा भर्ना हुन खोज्दैछन् र सँगसँगै किशोरावस्थामा प्रवेश गर्दैछन् ।

अर्थात् उनीहरू हामी अभिभावकको नियन्त्रणबाट अलिक पर जान खोज्दैछन् । स्वतन्त्र भएर उड्न खोज्दैछन् । तर हामी भने उनीहरु विग्रने हुन् कि भनेर चिन्तामा हुुन्छौ । अनि अलि कडा अनुशासन भएको कलेजमा भर्ना गर्न पाए हुन्थ्यो भनेर सोच्दै पनि हुनसक्छौं ।

आफूले आँफैलाई राम्रो भन्दै ठूलो गर्जनका साथ विज्ञापन गरिरहेका कलेज ! आफ्ना छोराछोरीलाई ठूलो मान्छे बनाउने सपना देखिरहेका अभिभावक !

रेडियो टेलिभिजन र पत्रपत्रिकामा उत्कृष्ट कलेजका विज्ञापन, विद्धानहरूका सल्लाह र सुझाव त झन् कतिकति !

यस्तै धेरै कुराले अलमलिदा अलमलिदै एउटा कलेज त छान्नु नै छ । छोराछोरी भर्ना गर्नु नै छ । बलबुताले भ्याएसम्म (गाँसै कटाएर भएपनि) महँगो कलेजमा भर्ना गरेर समाजमा इज्जतिलो पनि बन्नु छ । कलेज भर्ना गरौला, इज्जतपनि बढाउँला, छोराछोरीलाई ठूला मान्छे पनि बनाउँला ।

सँगसँगै उनीहरूसँग यसो गर्न पाए कसो होला ?

(क) अब सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर) चलाउन नदिने सपना नदेखौँ । सुरक्षित चलाउन, निश्चित समयमा मात्र चलाउन, निश्चित घण्टा मात्र चलाउन, चिनेका मान्छेहरूलाई मात्र साथी बनाउन, सिर्जनात्मक तरिकाले उपयोग गर्न दिउँ । साइबर अपराध, त्यसका वेफाइदा सिकाउँ, आफू पनि साथी बनीदिऊ, संभव भए सँगै बसेरै चलाउँ ।

(ख) उमेर अवस्थामा देखापर्ने स्वभाविक इच्छा र चाहनाहरूलाई रोक्ने प्रयास नगरौँ । जस्तै केटाहरूलाई कपाल पाल्ने रहर लाग्ला । उसको त्यो रहर निमोठ्नु जरुरी छैन् । लट्टा पालेर नहिड्न सुझाउन सकिन्छ, तर अलिकति लामो बनाउने रहरले केही विग्रीदैन । लामो कपाल पढाइको बाधक होइन । गायक स्वरुपराज आचार्यको कपाल लामो छ, के उनलाई लामो कपालले राम्रा गीत गाउन रोकेको छ र ?

(ग) जाँच नजिकिदै गर्दा कोर्सका किताब पढ्ने कुरामा ध्यान दिदाँ हुन्छ तर वर्षैभरि कोर्षका किताब मात्र पढ् पढ् भनेर चिच्चाहट नसुनाऊ । विभिन्न उपयोगी किताबहरू किनेर ल्याउँ आफू पनि पढौँ, उनीहरूलाई पनि पढ्न लगाउँ कस्तो लाग्यो छलफल गरौँ । त्यो पुस्तकबाट के सिकियो, हाम्रो व्यवहार कस्तो छ छलफल गरौँ ।

(घ मेरो छोराले, मेरी छोरीले गल्ती नै गर्दैनन् भनेर ज्यादै धेरै विश्वास नगरौँ । तर त्यही बहानामा जतिखेर पनि शंका नगराँै । तपाईँ र तपाईँका छोराछोरीको सम्बन्धले नै यो कुरा निर्धारण गर्छ । उनीहरूले थाहा नपाउने गरी कतै शंका गरौ । साच्चै शंका लाग्यो भने सौहार्दपूर्ण तरिकाले झर्किफर्कि नगरी सोधौ, खुलेर कुरा गरौँ । आफूले पनि हिजो यस्तै उमेर पार गरेर आएको हुँ । म पनि १६, १७ वर्षको हुँदा यसरी नै झर्किन्थे मेरा बाआमासँग भन्ने पनि मनन् गरौँ ।

(ङ) राम्रा फिल्महरू छनौट गरेर उनीहरूसँगै हलमा गएर फिल्म हेर्न सकिन्छ । फिल्मको समिक्षा गर्न सकिन्छ । शहरमा जन्मे हुर्केका विद्यार्थीलाई गाउँको परिवेश सिकाउन सकिन्छ ।
केही उदाहरण हेरौँ, मानविकीमा राजनीति शास्त्र पढ्ने विद्यार्थीलाई रुक्मागत कटुवालको आत्मकथा, सुधिर शर्माको प्रयोगशाला, कृष्णप्रसाद भट्टराइको आत्मकथा, नेश्लन मण्डेला, महात्मा गान्धी, विपि कोइरालाका कृतिबाट धेरै कुरा सिकाउन सकिन्छ ।

विज्ञानका विद्यार्थीलाई दयानन्द बज्राचार्यका पुस्तक, तीर्थबहादुर श्रेष्ठका लेखबाट धेरै कुरा सिकाउन सकिन्छ, जुन ज्ञान कुनै पनि Physics, chemistry का ठेलीमा पाइँदैंन ।

व्यवस्थापन विषय पढ्नेका लागि शिव खेडाका पुस्तक, विनोद चौधरीको पुस्तकबाट पाइने ज्ञान नेपालको जतिसुकै उत्कृष्ट मानिने कलेजले पनि दिन सक्दैनन् ।

शिक्षा पढ्ने विद्यार्थीका लागि दिवास्वप्न, तोतोचान, हामी आमाबाबु जस्ता पुस्तकले दिने ज्ञान ४ जना पिएचडीधारीले दिने ज्ञानभन्दा उत्कृष्ट हुन सक्छ । राजनीतिमा रुचि भएकाहरुका लागि त्यस्तै किताब हुन सक्छन् । किशोर लक्षित साहित्य लेख्ने प्रचलन शुरु भएको छ ।

नेपालीमा अनुवाद गरिएको एक किशोरीको डायरी र नेपाली लेखक विजय सापकोटाको उडान जस्ता उपन्यासहरुले  किशाेर किशोरीका मनोविज्ञान बुझ्न सघाउँलान् ।

यी केही उदाहरण मात्र हुन । अभिभावकले विषयवस्तुलाई रटान लगाउन मात्र सिकाउने होइन, त्यसलाई जीवन र जगतसँग जोडेर हेर्न सिकाउनु पर्छ । सिद्धान्तको रटान होइन व्यवहार र सिप सिकाउनेमा ध्यान जानु जरुरी छ ।

(च)) छोराछोरीले उपन्यास पढेर बिग्रन्छन् भन्ने डरबाट मुक्त बनौ । समय र उमेर सान्दर्भिक उपन्यासहरुले जीवनका चाहना, आवश्यकता, अनुभुति, विविध समस्या र समस्या समाधानका माध्यमहरु बुझ्न, सामान्यीकरण गर्न , सहयोग लिनदिन जस्ता महत्वपूर्ण व्यवहारिक ज्ञान दिन सक्छन् । त्यसैले उनीहरुको छनौट र अध्ययनलाई रचनात्मक सहयोग गरौं ।

(छ) अझ ध्यानदिनु पर्ने के भने, उनीहरूलाई जे विषय पढन् मन लाग्छ, त्यही पढ्न दिउँ । दबाब नदिउँ । हरेक विषयका आप्mनै गुण र दोष छन् । उसले भविष्यमा के गर्न चाहेको छ, के बन्न चाहेको छ विचार गरौँ । दुई घण्टा समय निकालेर आमिर खानको थ्रि इडियटस् हेरौँ छोराछोरी सँगै बसेर । अनि निर्णय गरौला । निर्णय गर्न हतार नगरौँ ।

(ज) सबै भन्दा उत्कृष्ट हुनुपर्छ भन्ने तपाईँको दिमागमा कतैबाट आएर बसेको छ भने, त्यो पनि हटाइदिउँ । सधै र सबै विषय क्षेत्रमा उत्कृष्ट हुन सकिदैन, उत्कृष्ट हुनु पर्दैन राम्रो मात्र भए हुन्छ तर आत्मविश्वास महत्वपूर्ण हो भन्ने सम्झाउनुस् । रिजल्ट कमजोर आउँदा मार्कसिट लुकाएर तपाईँलाई ढाट्न नपरोस् । यहीबाट शुरु हुन्छ तपाईलाई सबै कुरा लुकाउने र ढाट्ने पद्धति ।

छोराछोरीलाई ठूला मान्छे होइन, असल मान्छे बनाउँ । ठूला ठूला सपना देख्ने महत्वाकांक्षी होइन आत्मविश्वासी र गरे सफल भइन्छ भन्ने विश्वास दिलाउँ । मार्कसिटमा आउने स्कोर मात्र जीन्दगीको ताला चावी होइन भन्ने बुझाउनुस् । पढाई सबथोक होइन, एकथोक हो । राम्रो खेलाडी, राम्रो गायक, राम्रो संगीतकार, गीतकार, कथाकार बन्न सकिन्छ । जे बन्ने हो राम्रो बन्ने हो भनेर सिकाउँ । शिक्षक बने पनि राम्रो शिक्षक बनाउनुस, डाक्टर बनाए पनि राम्रो डाक्टर बनाउँ ।

इमान्दारीता, नैतिकता र संस्कार सिक्ने घरबाट हो । आफ्ना छोराछोरी जस्ता बनाउन चाहेका छौँ त्यस्तै बनौँ । छोराछोरी ठुला र गतिला बनाउने ध्यानमा बढाइचढाइ गरिएका विज्ञापन र तारे होटल जस्ता सुविधा सम्पन्न महंगा कलेजहरुको पछि नलागौं ।

आफ्ना नानीहरुलाई पनि सोहि किसिमले बुझाउँ ताकि नाम चलेका भनेका कलेजमा प्रवेश नपाएकामा हिनताबोध हुने वातावरण नरहोस् । हामीले राम्रो अभिभावकत्वमा हुर्काएका छोराछोरीलाई राम्रा भनिएका शैक्षिक सस्थामा अनुशासनका नाममा पालिएका चुल्ठेमुङ्ग्रेहरुको जिम्मा लगाउनु आवश्यक छैन । असल शिक्षाको लागि राम्रो भौतिक वातावरण भन्दा शैक्षिक वातावरण आवश्यक हुनेछ ।

2074/3/15 मा www.edukhabar.com मा प्रकाशित ।