Latest Book

विद्यालयको सक्षमता : पूवार्धार त छ, उपलब्धि खैँ ?

विद्यालय भन्ने शब्द सुन्नासाथ हाम्रो दिमागमा भवन, कक्षाकोठा, शिक्षक, विद्यार्थी, पढाइ लेखाइ हुने, खेल मैदान भएको, खानेपानी, शौचालय भएको एउटा कुनै खास फरक स्थान भन्ने सम्झिन्छौँ । भवन, कक्षाकोठा, शिक्षक र विद्यार्थी अनि त्यहा हुने पठनपाठन त्यसका आधारभूत पक्षहरु हुन । जब कुनै स्कुलमा भवन हुदैँन अथवा भएको पनि सुरक्षित छैन, राम्रो छैन, कक्षाकोठा विद्यार्थीलाई पुग्ने गरी छैनन, कक्षामा डेस्क बेञ्च छैनन्, शिक्षक छैनन वा विद्यार्थी छैनन भने अब त्यो एउटा स्कुल हो वा होइन भन्ने प्रश्न उठ्छ ।

त्यसैगरी विद्यालयमा भवन, कक्षाकोठा, शिक्षक, विद्यार्थी छन् तर नियमित पठनपाठन हुन्छ हुदैँन्, विद्यालय एउटा संस्थाको रुपमा त्यसको प्रशासन र व्यवस्थापन कसरी चलेको छ, त्यसका आर्थिक, भौतिक पक्षहरुको अवस्था के छ भनेर पनि विद्यालयहरुलाई हेर्ने गरिन्छ । अझ यो भन्दा पनि अगाडि बढेर विद्यालयमा भएको पठनपाठनको स्तर कस्तो छ, सिकाइ कति भएको छ, विद्यालय छोड्ने, कक्षा दोहोर्‍याउने, कक्षा र तह उत्तीर्ण हुने, परीक्षाका नतिजा कस्तो छ, विद्यालयका शिक्षक विद्यार्थी कति सन्तुष्ट छन् ? अभिभावकहरु के भन्छन् ? विद्यालयमा कति विद्यार्थी छन् भनेर पनि हेर्ने गरिन्छ । विद्यालयका यी मुख्य तीन पक्षको अवस्था समग्रमा अध्ययन गर्ने एउटा प्रक्रिया विद्यालयको कार्यसम्पादन परीक्षण हो । यसलाई अर्को शब्दमा भन्दा

विद्यालयको प्रशासन, व्यवस्थापन, अभिलेख, योजना तथा लगानी र उपलब्धिका सम्पूर्ण पक्षलाई लेखाजोखा गर्ने कार्यलाई कार्यसम्पादन परीक्षण भनिन्छ ।

विद्यालयका आर्थिक गतिविधिहरू लेखा परीक्षणबाट हेर्ने गरिन्छ । अन्य शैक्षिक तथा भौतिक पक्षहरुको साथै समग्र व्यवस्थापन सामाजिक परीक्षणबाट हरेक विद्यालयमा हरेक वर्ष भइरहेको हुन्छ । शैक्षिक, भौतिक, आर्थिक, प्रशासनिक लगायतका समग्र पक्षको वाह्य मूल्याङ्कन कार्यसम्पादन परीक्षणबाट गर्ने गरिन्छ । नेपालमा विधिसम्मत रुपमा विद्यालयहरुको कार्यसम्पादन परीक्षणको थालनी आर्थिक वर्ष २०६८।६९ बाट भएको देखिन्छ । देशभरीका विभिन्न विद्यालयको कार्यसम्पादन परीक्षण गर्ने र त्यसको प्रतिवेदन सार्वजनिक गर्न काम हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरिरहेको छ । केन्द्रले आर्थिक वर्ष २०७४।७५ मा गरेको २४ जिल्लाका १९९९ विद्यालयको प्रतिवेदन हालैमात्र सार्वजनिक गरेको छ ।
विद्यालयको कार्यसम्पादन परीक्षण
अर्घाखाँची जिल्लाका ७० वटा सामुदायिक विद्यालयमा आर्थिक वर्ष २०७४।७५ मा गरिएको कार्यसम्पादन परीक्षणको अवस्थालाई यस आलेखमा प्रस्तुत गरिएको छ । यसबाट जिल्लाका सबै माध्यमिक विद्यालयहरुले आफ्नो विद्यालयको समग्र पक्षमा सुधार ल्याउन, स्थानीय सरकारहरुले विद्यालयमा गर्ने विकासको प्राथमिकता छुट्टाउन सहयोग पुग्नेछ । कार्यसम्पादन परीक्षणमा वाह्य व्यक्तिहरुको संलग्नता हुने र निर्धारित सूचकका आधारमा रहेर अवलोकन तथा छलफल हुने र प्रमाणमा आधारित भएर मात्र अङ्कन गर्ने गरिन्छ । उदाहरणको लागि कुनै एउटा विद्यालयमा विद्यालय व्यवस्थापन समितिको गठन तोकिएको समयमा र पूर्ण भए ३ अङ्क, पूर्ण गठन भएको तर समयमा नभएको भए २ अङ्क, गठन भएको तर पूर्ण नभए १ अङ्क र गठन नै नभएको भए जिरो अङ्क प्राप्त गर्छ । त्यसैगरी व्यवस्थापन समितिको वैठक वर्षमा १० पटकभन्दा बढि भए ३ अङ्क, ७ देखि १० पटक बसेको भए २ अङ्क, ६ पटकसम्म बसेको भए १ अङ्क र त्योभन्दा कम नबसेको भए ० अङ्क प्राप्त गर्छ । यसरी वस्तुनिष्ठ आधारमा विद्यालयका विभिन्न पक्षमा आधारित भएर मूल्याङ्कन गरिन्छ ।
यसरी मूल्याङ्कन गर्ने क्रममा मूल्याङ्कनका विभिन्न सूचकहरुलाई लगानी, प्रक्रिया र उपलब्धि गरी तीन समूहमा विभाजन गरिन्छ । यसरी विभाजन गर्दा विद्यालको भौतिक संरचना, शिक्षक र समुदायको सहभागिता र लगानीलाई लगानीको क्षेत्र अन्तर्गत राखिन्छ भने कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापन र सह/अतिरिक्त क्रियाकलाप प्रक्रिया अन्तर्गत र विद्यार्थीको नियमितता/कक्षा दोहोर्‍याउने र छोड्ने दर, सिकाइ उपलब्धि, अभिभावकको सन्तुष्टि र शिक्षकको पेसागत सन्तुष्टीलाई उपलब्धि अन्तर्गत राखिन्छ । यसरी कति शिक्षकले, कस्तो भवनमा कुन तरिकाले पढाउँछन र त्यसबाट विद्यार्थीको सिकाइ कस्तो हुन्छ भन्ने सह-सम्बन्ध खोजी गर्ने गरी सूचकमा आधारित भएर यस्तो परीक्षण गरिन्छ । यो परीक्षणमा विद्यालयका सम्पूर्ण सूचना तथा जानकारीहरु वाह्‍य व्यक्तिहरुलाई उपलब्ध गराइन्छ र उनीहरुले उपलब्ध प्रमाणका आधारमा अङ्कन गर्ने र सो अङ्कनका सम्बन्धमा विद्यालयमा छलफल गरी प्रअले उक्त अङ्कन ठिक छ भनी प्रमाणित गरिदिनुपर्ने हुन्छ ।

यो प्रक्रियाबाट जिल्लाका ७० ओटा सामुदायिक माध्यमिक विद्यालयमा गरिएको कार्यसम्पादन परीक्षणको नतिजा अनुसार धेरै विद्यालय सामान्य अवस्थामा रहेका छन् । परीक्षणमा विद्यालयले प्राप्त गरेको कूल अङ्कबाट ४० प्रतिशतभन्दा कम अङ्क भएमा कमजोर, ४० देखि ७० भएमा सामान्य, ७० देखि ९० भए मध्यम र ९० भन्दा माथि भएमा उत्तम स्तरमा राखिन्छ । जिल्लाका ७० विद्यालयमध्ये ८४ प्रतिशत (५९) विद्यालय सामान्य अवस्थामा रहेका छन् भने १६ प्रतिशत (११) विद्यालय मध्यम स्तरमा रहेका छन् ।
विद्यालयहरुमा लगानी अन्तर्गतको भौतिक संरचना, शिक्षक तथा समुदायको सहभागिताको दृष्टिले हेर्दा ५० वटा विद्यालयको प्राप्ताङ्क ४० देखि ७० को बीचमा रहेको छ । बाँकी २० वटा विद्याल मध्यम तहमा पर्छन् । भौतिक संरचनामा एउटा मात्र विद्यालय कमजोर, ५३ विद्यालय सामान्य र १६ विद्यालय मध्यम स्तरमा रहेका छन् । शिक्षक व्यवस्थापन अन्तर्गत २१ विद्यालयमात्र सामान्य अवस्थामा, ४४ विद्यालय मध्यम अवस्थामा र पाँचवटा विद्यालय उत्तम अवस्थामा रहेका छन् । समुदायको सहभागिता र लगानीतर्फ ३३ वटा विद्यालय कमजोर र बाँकी ३७ वटा सामान्य अवस्थामा छन् । लगानीको सन्दर्भबाट हेर्दा विद्यालयहरुले समुदायको सहभागिता बढाउन नसकेको देखिन्छ भने विद्यालयमा शिक्षक व्यवस्थापनको पक्ष राम्रो रहेको छ ।

विद्यालयको लगानीको क्षेत्रबाट हेर्दा भौतिक संरचनामा कमजोर तर शिक्षक व्यवस्थापनमा राम्रो र शिक्षक व्यवस्थापन कमजोर तर भौतिक संरचना राम्रो भएको देखिन्छ ।

विद्यालयमा शिक्षण सिकाइ लगायत अन्य प्रक्रिया कसरी हुन्छ भन्ने सन्दर्भमा प्रक्रियाका विभिन्न क्षेत्रहरू कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापन र सह/अतिरिक्त क्रियाकलापलाई लिने गरिन्छ । लगानीको अवस्था कमजोर हुँदा पनि प्रक्रिया राम्रो हुन सक्छ भने लगानी राम्रो भएर प्रक्रिया कमजोर हुन पनि सक्छ । यदि लगानी पनि राम्रो र प्रक्रिया पनि राम्रो भयो भने निश्चित रुपमा त्यसको उपलब्धि राम्रो हुन्छ भन्न सकिन्छ । प्रक्रियाका विभिन्न पाँचवटा क्षेत्रहरूमध्येको कक्षा शिक्षणले शिक्षणको योजना, शिक्षण सामग्री, सूचना प्रविधिको प्रयोग, वैयक्तिक शिक्षण र सहयोग, गृहकार्य, पूर्नबल, कार्यमूलक अनुसन्धान, शिक्षण सुधार योजना, कक्षाकोठा व्यवस्थापन, निरन्तर विद्यार्थी मूल्याङ्कन, निर्माणात्मक मूल्याङ्कन, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण, शिक्षकको पेसागत विकास आदि रहेका छन् । यस क्षेत्रका सबै सूचकको जम्मा पूर्णाङ्क १३८ र समग्र नतिजामा यसका लागि ३० प्रतिशत भार छुट्टाइएको छ । सो अनुसार हेर्दा शिक्षणमा ६ विद्यालयको अवस्था कमजोर, ३३ विद्यालयको सामान्य, २४ विद्यालयको मध्यम र ७ विद्यालयको उत्तम रहेको छ । विद्यालयको नेतृत्व र व्यवस्थापनमा १३ विद्यालयको अवस्था सामान्य, ४६ विद्यालयको मध्यम र ११ विद्याललयको अवस्था उच्च रहेको छ । परीक्षणबाट प्राप्त तथ्याङ्क अनुसार शिक्षकको पेसागत विकासका पक्षहरु धेरै कमजोर रहेका छन् । पेसागत विकासको कमजोर अवस्थामा ३५ विद्यालय, सामान्य अवस्थामा २६, मध्यम स्तरमा ८ र १ ओटा उत्तम रहेको छ । प्रक्रिया क्षेत्रको समग्र अवस्थालाई हेर्दा ३३ विद्यालयको अवस्था सामान्य, ३५ विद्यालयको अवस्था मध्यम र २ विद्यालयको अवस्था उत्तम रहेको छ ।

विद्यालयमा लगानीको अवस्था, विद्यालयमा हुने गरेको प्रक्रिया र त्यसबाट हासिल भएको उपलब्धिलाई समग्रमा व्याख्या विश्लेषण गर्ने सन्दर्भमा उपलब्धि महत्वपूर्ण मानिन्छ । लगानी र प्रक्रियाको संयुक्त प्रयासबाटै उपलब्धि हासिल हुने हो । विद्यालयको उपलब्धिको रुपमा विद्यार्थीको सिकाइ अवस्था, उनीहरुको नियमितता, कक्षा दोहोर्‍याउने र छोड्ने दर, शिक्षक तथा अभिभावकको सन्तुष्टिलाई लिइएको छ । यस आधारमा हेर्दा ४ विद्यालयको स्तर कमजोर, ५३ विद्यालयको सामान्य र १३ विद्यालयको अवस्था मध्यम रहेको छ । विद्यार्थीको नियमितता, उत्तीर्ण दर, छोड्ने दर र दोहोर्‍याउने दरबाट मूल्याङ्कन गर्दा २२ विद्यालयको स्तर कमजोर रहेको छ । त्यसैगरी ३१ विद्यालयको स्तर सामान्य, १४ विद्यालयको मध्यम र ३ विद्यालयको अवस्था उत्तम रहेको देखिन्छ । उपलब्धि अन्तर्गतको अर्को महत्वपूर्ण क्षेत्र सिकाइ उपलब्धि (कक्षा ५, ८ र १०) मा २१ विद्यालयको स्तर कमजोर, ३३ विद्यालयको सामान्य र १३ विद्यालयको मध्यम तथा ३ विद्यालयको उत्तम रहेको छ । विद्यालयमा शिक्षकहरूको सन्तुष्टीको सर्वेक्षणमा ९ ओटाको स्तर उत्तम, २६ ओटाको मध्यम र ३५ वटाको सामान्य रहेको छ ।

महत्वपूर्ण र विचारणीय पक्ष के रहेको छ भने शिक्षकको सन्तुष्टीसँग सिकाइ उपलब्धिको सम्बन्ध कमजोर रहेको छ ।

निष्कर्ष
विभिन्न वाह्‌य व्यक्तिहरूबाट गराइएको यस परीक्षणको नतिजाबाट केही निष्कर्षहरु निकाल्न सकिन्छ । जिल्लामा समग्रमा भौतिक पक्ष, प्रक्रिया र उपलब्धि राम्रा भएका विद्यालयहरु एकदम कम छन् । भौतिक संरचनाका दृष्टीले एक माध्यमिक विद्यालयको अवस्था कमजोर छ भने ५३ विद्यालयको अवस्था सामान्य रहेको छ र १६ विद्यालय मध्यम स्तरका छन् । सिकाइ उपलब्धिमा सबैभन्दा माथिल्लो उत्तम अङ्क प्राप्त गर्ने ३ विद्यालय रहेका छन् तर तीन ओटै विद्यालयहरु लगानीको क्षेत्रमा सामान्य स्तरमा रहेका छन् । त्यस्तै प्रक्रियाको क्षेत्रमा उत्तम स्तरमा परेका २ वटा विद्यालयमध्ये एउटाको उपलब्धि कमजोर र अर्कोको मध्यम रहेको छ । लगानी, प्रक्रिया र उपलब्धिबीचमा सम्बन्ध पाइदैन ।

जुन विद्यालयको उपलब्धि एकदमै कमजोर छ, उक्त विद्यालयका शिक्षकहरु पेसागत रुपमा सबैभन्दा बढी सन्तुष्ट देखिन्छन् । यस अर्थमा विद्यालयको कमजोर अवस्थासँग पेसागत सन्तुष्टी जोडिएको अर्थ लगाउन नमिले पनि विद्यालयमा हामीले कस्तो गरिरहेका छौँ, हाम्रो विद्यालयको अवस्था कस्तो छ भन्ने विषयमा अनविज्ञ हो कि भन्न सकिन्छ ।

विद्यालयको नेतृत्वलाई समग्र विद्यालयको प्रभावकारीतासँग जोडेर हेरिन्छ तर परीक्षणमा नेतृत्व र व्ययवस्थापनको कूल पूर्णाङ्क ५१ मा ५० ल्याउने २ विद्यालय र ४८ ल्याउने २ विद्यालय छन् तर ती विद्यालयको उपलब्धिको ४० मा एउटाको २६ र अर्कोको २९ रहेको छ । शैक्षिक सत्र २०७५ को एसइइ परीक्षामा पनि यी विद्यालयको नतिजा राम्रो पाइएन ।
लगानीको शिक्षक उपक्षेत्रमा ९० प्रतिशतभन्दा माथिको अङ्क हासिल गरेका पाँच विद्यालयमध्ये कक्षा शिक्षणको पक्षमा ९० माथि अङ्क हासिल गर्ने कुनै पनि विद्यालय छैन र २ विद्यालयको अङ्क ८६ प्रतिशत र ८३ प्रतिशत रहेको छ । अन्य ३ विद्यालय सामान्य स्तरमा रहेका छन् । शिक्षकले प्रक्रियाको शिक्षण क्षेत्रमा प्रभाव नपारेपछी त्यो प्रभाव उपलब्धिमा पनि देखिएको छैन् ।
यी विभिन्न पक्षबाट हेर्दा एउटा विद्यालय न त भौतिक सुविधा र लगानीले मात्र पनि राम्रो हुदैँन, शिक्षकले मात्र पनि हुदैँन तर प्रक्रिया प्रभावकारी हुन सक्यो भने त्यसको उपलब्धि राम्रो हुन्छ । प्रक्रियामा राम्रो गर्नेको उपलब्धिमा राम्रो देखिन्छ तर लगानी राम्रो भएकोमा प्रक्रिया र उपलब्धि राम्रो भएको देखिएन् ।

त्यसैले विद्यालयमा एउटा न्यूनतम स्तरमा भौतिक सुविधा तथा अन्य लगानीको खाँचो भएपनि साच्चिकै राम्रो विद्यालय हुनका लागि प्रक्रिया राम्रो हुनु आवश्यक देखिन्छ । धन्यबाद ।

(अर्घाखाँची, डिभर्नाका आचार्य शिक्षा क्षेत्रमा क्रियाशिल छन् । deviramac@outlook.com मा सम्पर्क गर्न सकिन्छ । )
(कार्यसम्पादन परीक्षणको तथ्याङ्क शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट लिइएको हो ।)