Latest Book

अनुशासनको गोलचक्करमा बालबालिका

अहिले हाम्रो समाजमा शिक्षा र अनुशासनलाई पर्यायवाची शब्दको रुपमा अर्थ लगाइन्छ । शिक्षाले मानिसलाई अनुशासित बनाउँछ भन्ने गरिन्छ । अनुशासनको सही अर्थ ,यसको साँधसीमा र एउटै परिभाषा कतै भेटाउन सकिन्न । शिक्षाले व्यक्ति र समाजको उन्नतिको लक्ष्य राखेको हुन्छ । व्यक्ति र समाजको उन्नति बिना राष्ट्रको उन्नति सम्भव छैन । राष्ट्रको उन्नति प्रगति र विकासका लागि शिक्षा अपरिहार्य कुरा हो । शिक्षा समाज, संस्कृति, राजनीति, दर्शन आदिबाट निर्देशित हुन्छ । अहिले हाम्रो शिक्षा कहाँबाट र कसरी निर्धारित र निर्देशित छ ? भन्ने कुरा शिक्षा सम्बन्धि नीति निर्माताहरुलाई थाहा होला तर शिक्षाका विभिन्न आयामहरुको अध्ययन विश्लेषण गर्दा हाम्रो शिक्षा चौबाटोमा उभिएको गन्तव्यहीन यात्रु जस्तो छ ।

हाम्रो शिक्षा ब्रह्माजीले सबै भन्दा राम्रो प्राणी बनाउन खोज्दा उँट बने जस्तै भएको कथाजस्तै भएको छ । हाम्रा बाबालिकालाई कता लैजाँदै छौं हामीलाई नै थाहा छैन् । यही परिवेशमा अभिभावक, शिक्षक, शैक्षिक प्रशासक, समास सबैतिरबाट अपरिभाषित अनुशासनको जालोमा बालबालिकालाई बाँधिन्छन् । उनीहरुले बोक्न नसक्ने उपदेशको भारि बोकाइन्छ । बालबालिकाले अनुशासनको उपदेश जति सुनेपनि अग्रजहरुको व्यवहारमा त्यो अनुशासन कहिल्यै देख्न पाउँदैनन् । अनुशासन भन्ने चिज के हो बुझ्न सक्दैनन् । शिक्षारुपी खुडकिला पार गर्दै माथिल्लो सिंढीमा पुगेकाहरुको व्यवहार चिन्तन सोंचाइ हेर्दा हाम्रो शिक्षाले कल्पना गरेको आदर्श नागरिकको चित्र भन्दा अत्यन्त फरक देखिन्छ ।

जति धेरै कक्षा पास गरेर प्रमाण पत्र लिएको हुन्छ त्यसले घर परिवार नातागोता समाज र राष्ट्रको जिम्मेवारीबाट पलायन हुनु पर्छ भन्ने कुरा शिक्षाको माध्यमबाट हामीले सिकाइरहेका छौं । आज पढेलेखेका व्यक्तिहरु गाउँमा बस्न नहुने, घरव्यबहारमा ध्यान दिन नहुने , हलो कोदालो गर्न नहुने, आफू जन्मे हुर्केको समाजको बारेमा सिन्को सम्म भाँच्न नहुने केवल आफ्नो बारेमा सोच्नु पर्ने शिक्षा हामीले दिइरहेकाछौं र हाम्रा नानीबाबुहरुलाई त्यहीबाटामा हिड्न प्रेरित गरिरहेका छौं ।

त्यो कुरा हाम्रा पाठ्यपुस्तकले होइन व्यबहार, संस्कार, संस्कृति र हाम्रो पढे लेखेका अग्रज नेतृत्वले सिकाई रहेको छ । शिक्षा केवल विद्यालयको बन्द कोठा भित्रमात्र लिइंदैन । शिक्षाको क्षेत्र व्यापक छ । ज्ञानको स्रोत व्यापक छ । परिवार मानिसको पहिलो पाठशाला हो भन्ने कुरा सबैले स्वीकारे पनि हाम्रा राम्रा नराम्रा सबै गुण बालबालिकाले सिक्छन भन्ने कुरामा कसैले हेक्का राखेनौं । घर परिवारबाट उसले सबै कुरामा छुट पाउँछ बालकलाई काखमा राखेर आफ्ना बा आमालाई सकेसम्म गाली गर्ने ,घरका बुढा पाकालाई हेला हेलाँचीमा राख्ने, आफूले घरपरिवारको भन्दा नितान्त व्यक्तिगत कुरामा ध्यान दिने, आफूले आफन्तजनहरु ,मान्यजनहरुलाई मानमनितो नगर्ने तर छोराछोरीहरुले आफूलाई सम्मान गरुन भन्ने चाहने प्रवत्ति आम नेपालीको चिन्तन बनेको छ ।

बालबालिकाहरु सुनेर होइन देखेर सिक्छन , हामीले घरमा जस्तो भाषा बोल्छौं, जस्तो व्यबहार देखाउँछौं, त्यसैको सिको गर्ने त हुन हाम्रा नानीबाबुहरुले त्यसमा हाम्रो हेक्का कहिल्यै रहेन । हाम्रो ध्यान केवल बालबालिकालाई ज्ञानी, गुणी र मर्यादित बनाउनमा केन्द्रित छ । हाम्रो समाज र सामाजिक परिवेश पनि ज्ञानको अर्को स्रोत हो । अहिले हाम्रो समाजबाट बालबालिकाले सिक्ने कुरा भनेको नकारात्मक मात्र हो । अहिलेको हाम्रो मान्यता जसरी पनि पैसा कमाउनु पर्छ भन्ने रहेको छ ।अहिले अभिभावकहरुमा देखिएको प्राविधिक शिक्षा दिने मोह पनि त्यही अर्थवादी सोंचको उपज मात्र हो । सामान्य अभिभावकले छोराछोरीहरुले पैसा कमाउन भनेर सोंच्नुलाई नकारात्मक रुपमा लिनु पर्ने कुरा होईन अझ अभाव पिडा दरिद्रतामा जीवन गुजारा गर्नेहरुले आर्थिक उन्नतिको चाहना राख्नुलाई स्वभाभिक र सकारात्मक कुरा हो । अर्को तिर हाम्रो राजनीतिक र प्रशासनिक नेतृत्व गर्नेहरु जसरी पनि पैसा कुम्लाउने सुरमा दखिन्छन् । पद र प्रतिष्ठाका लागि हत्या, हिंसा, काटमार, भ्रष्टाचार जति धेरै ग¥यो त्यो असल र सफल नेता मानिन्छ । नेताको चाकडी गरेर हिड्ने शिक्षक राम्रा मानिन्छन् र पुरस्कृत हुन्छन् ।

यहाँ जसले जे गरे पनि हुन्छ,जे बोले पनि हुन्छ ,जे खान पनि हुन्छ, जे लगाउन पनि हुन्छ ,ठूला मान्छेका लागि सबै कुरामा छुट छ भन्ने प्रमाणित गर्न बालबालिकाको अगाडि हामी जे पनि खान्छौं ,जे पनि बोल्छौं,जे पनि गर्छौं । चौबाटोमा बसेर रक्सी खान , तास खेल्न , चुरोट, खैनी पान पुकार खानेहरु समाजका समाजका सम्मानित व्यक्ति, काका, मामा , दाजु ,दिदी,शिक्षक बाबा आमा भए पछि हाम्रो देखासिकी गरेका बालबालिका कसरी अनुशासनहीन र बिग्रेका भन्ने ?

हाम्रा व्यवहारको शुक्ष्म अध्ययन गरिहेका हाम्रा मान्यजनको व्यवहार अँगाल्नु स्वभाविक हो । यही परिवेशमा हाम्रा नेता,कलाकार, अगुवा ,समाजसेवी ,अभिभावक, गुरुहरुबाट बालबालिकाले सिक्ने भ्रष्ट आचरण भित्रको अराजक शिक्षा हो । आदर्श व्यक्तित्वबाट अनुसरण गर्ने शिक्षा नपाएका हाम्रा बालबालिकाबाट हामीले खोज्ने गरेको अनुशासन कस्तो हो ? कसरी अनुशासित भइने हो ? नबोलेर ? नसोधेर ? अथवा हामीले गरेको अराजक र उछृङ्खल व्यबहारको समर्थन वा सिको गरेर ?यस्तो परिभाषा र पहिचान बिनाको अनुशासन सिकाउने सम्पूर्ण जिम्मा विद्यालयलाई दिएका छौं ।

विद्यालयले पनि बिना हिचकिचाहट अनुशासित बनाउने ठेक्कालिईहाल्छन् । अनि ठेक्का पुरा गर्न शिक्षकहरुबाट कम्मर कँसेर विद्यार्थीको हुर्मुत लिने काम सुरु हुन्छ । अनि खेल सुरु हुन्छ अनुशासनको ,शिक्षकको दिमाग नाच्छ कसरी अनुशासित बनाउने ? गोर्खे लौरी लगाएर ? घुँडा टेकाएर ? कुटपिट गरेर ? कन्सीरीका रौ उखेलेर ? शौचालयमा थुनेर हुन्छ कि उठबस गराएर अथवा मुर्गा बनाएर ? लौरो लगाएर हुन्छ कि नाङ्गै गराएर हुन्छ ? शब्दबाण बर्साएर हुन्छ कि बेइजती गरेर हुन्छ ?अथवा एकदुई जनालाई निस्कासन गरी अरुलाई तर्सासाएर ? अनुशासनको शिक्षा दिइरहेका छौं । के यही हो एक्काइसौ शताब्दीका सभ्य व्यक्तिबाट पाउने शिक्षा जुन हामीहरुले दिई रहेका छौं ?

सायद हाम्रो लागि सबै भन्दा उत्तम विधि यही होला ? गैरसरकारी संस्थाका प्रतिनिधिको अगाडि लौरा भाँचेको खबर त शिक्षकहरुले दियौं भयमुक्त शिक्षण सिकाइको तालिमको भत्ता त पचाइयो तर व्यबहारमा खोइ ? के यस्तै हो बालमैत्री सिकाइ विधि ?लोकतन्त्रको गफ हाँक्ने हामीबाट कहिले सम्म तानाशाही व्यबहार पाउने नानीबाबुहरुले ? कसको आदर्श व्यबहार व्यबहार सिक्ने ती अबोध बालबालिकाले ?बाबुआमाको वा गुरुहरुको ? यसरी हेर्दा अनुशासनहीन बालबालिका हुन् कि हामी आफै खुट्याउनु आवश्यक भएको छ ।

आफ्ना नानीबाबुले पढिरहेको देख्न चाहने हामीहरुले पनि पढ्न र सिक्न पर्ने बिषय त पक्कै छन् , के हामी अभिभावकहरु पनि उनीहरु सगै घरमा समय निकालेर ,फेसबुक ,सिरियल छोडेर दिनको एक घण्टा पढेका छौं ? आफू सिरियल , फेसबुक, गफगाफ, आदिमा व्यस्त भएपछि आमाबाबाको कुरा बच्चाले नसिके कसले सिक्ने ? के हामी पढ्ने सिक्ने विषय छैनन् र ? पढाइको महत्वबारे भाषण गर्ने हामी शिक्षकले पनि बर्षमा कतिवटा किताब किनेर पढेका छौं ? एक मिनेट कक्षा कोठामा ढिलो गए वा पढाउने बेलामा अन्यत्र व्यस्त भए विद्यार्थीको भविष्य के होला भनी नसोच्ने ? पढाउने बेलामा ठग्ने शिक्षकहरुले विद्यार्थीहरुले गृहकार्य गर्न ठगे भनेर अनुशासनहीन भन्न मिल्छ र ?

हामी शिक्षकहरु आफैँ नियमित ,अनुशासित,मर्यादित ,कर्तव्यनिष्ठ एवं बालबालिकाको असल भविश्य निर्माणमा समर्पित नभएसम्म अनुशासित बालबालिकाको कल्पना गर्नु र अनुशासनको भाषण छाँट्नु व्यर्थमा समय खर्चनु मात्र हो । हामी शिक्षक अभिभावक ,समाजका अग्रजहरु पथप्रदर्शक बनेर नसुध्रिए बालबालिका सुध्रिंदैनन् र अनुशासित बन्दैनन् भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ ।

लेखक ज्ञानज्योति शिक्षा सदन कपिलवस्तुका प्रअ हुनुहुन्छ ।