सन्धिखर्क नगरपालिका : शैक्षिक सुधारका अवसर र चुनौती
प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीका ३ नगरपालिका र ३ गाउँपालिकामध्ये सन्धिखर्क नगरपालिका एउटा हो । नगरपालिकालाई १२ ओटा वडामा विभाजन गरिएको छ र यसको क्षेत्रफल १२९.४२ वर्ग किमी छ । वि सं २०६८ को जनगणनामा यस नगरपालिकाको जनसङ्ख्या ४१०७१ रहेको थियो । क्षेत्रफलको दृष्टीले ठूलो वडा ७ र जनसङ्ख्याको दृष्टीले ठूलो वडा १ नम्बर हुन् । शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त विवरण अनुसार नगरपालिकामा ६७ वटा सामुदायिक र १४ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । नगरपालिकामा १० वटा सामुदायिक मावि रहेका छन् । वडा नम्बर ३, ४, ६ र १० मा माध्यमिक विद्यालय छैनन् ।
नगरपालिकामा सञ्चालित माध्यमिक विद्यालयहरुको मात्र अवस्था विश्लेषण गर्दा भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनका दृष्टीले सबल देखिन्छ । आधारभूत तहका विद्यालयमा शिक्षक व्यवस्थापन र भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको छ । शिक्षक विद्यार्थी अनुपातमा पनि समस्या देखिन्छ । आधारभूत विद्यालयतर्फ शिक्षक विद्यार्थी अनुपात न्यूनत ४ देखि ३० सम्म रहेको छ । शिक्षक विद्यार्थी अनुपात न्यून र उच्चको अवस्था निम्न रहेको छ ।
तालिका १ : शिक्षक विद्यार्थी विवरणका उदाहरण
नगरपालिकाको वेभसाइडमा अपलोड गरिएको आर्थिक वर्ष २०७६।७७ को वार्षिक बजेट अनुसार करिब ६ प्रतिशत बजेट शिक्षामा विनियोजन भएको देखिन्छ । यसरी विनियोजित बजेट अधिकांश फर्निचर, खेलमैदान, भवन, कक्षाकोठा, घेरावारामा र केही शैक्षिक व्यवस्थापन र केही गुणस्तर वृद्धि भन्ने शीर्षकहरु रहेका छन् । तर शैक्षिक व्यवस्थापन र गुणस्तर वृद्धि अन्तर्गतको बजेट के क्रियाकलापका लागि खर्च गरिएला भन्ने स्पष्ट छैन । वडा मार्फत कार्यान्वयन हुने बजेटको शीर्षकमा शैक्षिक गुणस्तर भएपनि अन्तत फर्निचर, शौचालय, दराज, पङ्खा, खानेपानी, घेरावारा यस्तैमा प्रयोग हुनेछ ।
गुणस्तरको मापदण्ड एउटै त नहोला तर वर्तमान अवस्था र अभिभावकले बुझेको गुणस्तर विद्यार्थीको सिकाइ र त्यो सिकाइ देखिने एसइइका परीक्षाको ग्रेड सिट नै हो । परीक्षाको अङ्क मात्र गुणस्तर होइन भन्ने तर्क त गर्न सकिएला तर गुणस्तर के हो त भनेर उत्तर पनि नभेटिएला । यो सन्दर्भमा अरुका लागि जे जे होलान तर अभिभावकका लागि ग्रेड सिट नै गुणस्तर हो । उच्चस्तरको ग्रेड सिटले कक्षा ११ मा विज्ञान विषय पढ्ने ल्याकत राख्छ जसले भविष्यका थुप्रै ढोकाहरु खुला गरिदिन्छ । ग्रेड सिट र जिपिएको अवस्थाबाट हेर्दा सन्धिखर्क नगरपालिकाको शिक्षाको स्तरलाई राम्रो भन्न सकिने अवस्था छैन् । जिपिएको विभिन्न नौ समूहमध्ये ६२ प्रतिशत विद्यार्थी तल्ला पाँच समूहमा रहेका छन् भने १२ प्रतिशत विद्यार्थीले मात्र विज्ञान विषय पढ्ने योग्यता हासिल गरेका छन् । कक्षा ११ र १२ का नतिजाहरुले पनि सिकाइस्तर कमजोर रहेको देखाउँछन् ।
यदी हामीले शिक्षाको सुधार गर्ने कुरा गर्छौ भने हामी केही आधारभूत विषयमा निकै नै प्रष्ट हुनु आवश्यक छ । शिक्षाको सुधार गर्ने भनेको के हो ? विद्यार्थीको सिकाइमा (परीक्षाहरूमा प्राप्त गर्ने प्राप्ताङ्क) सुधार गर्ने हो ? विद्यालयका भवन कक्षाकोठा फर्निचर खेलमैदान, पुस्तकालय प्रयोगशाला जस्ता पक्षमा सुधार गर्ने हो ? वा शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्ने हो ? वा अभिभावकको चासो बढाउने हो ? वा अरु पनि छन् ? यदी छन भने ती केके हुन ? हामीलाई चाहिएको के हो ? सुधार गर्ने भनेको हालको अवस्थामा सन्तुष्ट नभएकाले अगाडी जान खोजेको भन्ने हो भने भने हामी अगाडी कहाँसम्म जान चाहन्छौँ र कसरी जाने ? हामीले चाहेको गन्तव्यसम्म पुग्नका लागि हामीलाई के चाहिन्छ ? हामीसँग के छ र के छैन ? समस्या के हुन सक्छन ? समाधान कसरी गर्ने ? सुधारको यात्राका सहयात्री कोको हुन ? उनीहरु सबै सहयात्राका लागि तयार छन् त ? छैनन् भने के गर्ने ? छोड्ने वा लैजाने ? यी प्रश्नको दृष्टीबाट सोच्नु पर्ने हुन्छ । कुरा गर्न जति सजिलो छ काम गर्न अलिक कठिन र चुनौतीपूर्ण छ तर हामीले साच्चिकै मनैदेखि सुधार चाहेको हो भने त्यो संभव पनि छ ।
हरेक व्यक्तिमा आफ्नै बुझाई व्याख्या र विश्वासहरु निहीत हुन्छन । मैले गरेकै त छु नभए के गर्ने त भन्ने एउटा दृष्टीकोण हुन्छ भने अर्को किन भएन भनेर आफैसँग असन्तुष्ट हुने दृष्टीकोण पाइन्छ । मैले गरेकै छु नभए के गर्ने त ? मैले मात्र गरेर हुन्छ र भन्ने दृष्टीकोणमा परिवर्तन गराउने मुख्य चुनौती हो । हरेक परिवर्तनमा चुनौती र जोखिम हुने भएकाले सबैले त्यो चुनौती र जोखिम उठाउन चाहदैनन् तर सबैलाई प्रेरीत गर्न जोखिम लिन तयार गराउन र जोखिमका लागि नडराउ, हामी साथमा छौँ भन्ने बनाउन भने अवश्य सकिन्छ । त्यसैगरी कुनै २।४ ओटा विद्यालयबाट मात्र शुरु गरी क्रमश: अरुमा विस्तार गर्न र सिकाउन पनि सकिन्छ । हामीले हाम्रो अवस्था विश्लेषण गर्ने कार्यमा निकै ध्यान दिनु आवश्यक छ । हामी अहिले कहाँ छौँ, हामी कहाँसम्म जान चाहन्छौँ ? र कहिलेसम्म र कसरी जाने ? विद्यमान अवस्थाबाट कति टाढा पुग्ने हाम्रो लक्ष्य कति हो, त्यही अनुसार हाम्रो तयारी, साधन स्रोत आवश्यक पर्छ । सुधारका लागि म गर्छु, हामी गर्छौ, गरे हुन्छ र संभव छ भन्ने विश्वास विकास नगरी यात्रा शुरु गर्नु भनेको बीचमा थप जोखिमहरु लिने मात्र हो, त्यसैले तयारी राम्रोसँग गरेर मात्र यात्रा सुरु गर्दा गन्तव्य सुनिश्चित हुन सक्छ । त्यसका लागि सुधारको थालनी कसरी र कहाँबाट गर्ने अलमल पनि हुन सक्छ । सुधारको कुनै एउटै शुरु विन्दु र अन्त्य हुदैँन त्यसैले जहाँबाट पनि शुरु गर्न सकिन्छ । समग्र जिल्लाकै शैक्षिक अवस्थाको सम्बन्धमा सङ्कलन गरेका तथ्याङ्क तथा केही औपचारिक तथा अनौपचारिक अन्तरक्रियाबाट प्राप्त सूचना समेतका आधारमा सुधारका क्षेत्रहरु निम्न हुन सक्छन् ।
- विद्यालयको पठनपाठन गर्ने क्रियाकलापको केन्द्रमा शिक्षकहरु रहेका हुन्छन् । विद्यालयमा पर्याप्त, दक्ष र उत्प्रेरीत, पेसाप्रति प्रतिबद्ध र जवाफदेही शिक्षकको व्यवस्थापनबाट मात्र शिक्षण सिकाइ प्रभावकारी बनाउन सकिने भएकाले दरबन्दी मिलान, थप शिक्षक व्यवस्थापन, शिक्षक प्रोत्साहन, शिक्षक क्षमता विकास जस्ता क्रियाकलापलाई प्राथमिकता दिइनु आवश्यक छ ।
- प्रभावकारी विद्यालय कुशल र प्रभावकारी नेतृत्वबाट मात्र संभव छ । नेतृत्व क्षमता पहिचान, नेतृत्व क्षमता विकास गरी नेतृत्व गर्न सक्ने ज्ञान, सिप र कला भएकाहरुबाट विद्यालयको सञ्चालन हुने व्यवस्था गर्नु आवश्यक छ । विद्यालय विकास दृष्टीकोण, सकारात्मक चिन्तन, जवाफदेहिता, पारदर्शिता, कार्यकुशलताका आधारमा विद्यालयको नेतृत्व व्यवस्थापन उनीहरुको सेवा सुविधा र उत्प्रेरणाजस्ता पक्षमा सुधार र पद्धति विकास गर्नु आवश्यक देखिन्छ ।
- भौगोलिक अवस्थिति, विद्यालय उमेरका बालबालिकाको जनसङ्ख्या र वस्ती र विद्यालयको दुरी जस्ता पक्षबाट तथ्याङ्कहरु विश्लेषण गरी नगरपालिकामा के कति विद्यालय वास्तविक आवश्यक हो ? कति विद्यालय मिलान गर्न सकिन्छ र कति थप गर्नुपर्ने हुन्छ र थप गर्दा कुन कुन तहका कति विद्यालय थप गर्ने भन्ने सवालमा स्पष्ट ढाँचा तयार गरिनुपर्छ । यसले भविष्यको लागि समेत स्रोत विनियोजन र अन्य विकासका गतिविधिका लागि सहयोग पुग्छ ।
- हाल भएका विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, भौतिक पूर्वाधार तथा अन्य व्यवस्थापकीय पक्षको यथार्थ विवरण सङ्कलन गरी समस्याहरूको प्राथमिकीकरण र सोही अनुसार समस्या समाधान र बजेट विनियोजन गरी त्यसको प्रभावकारी उपयोगितामा ध्यान दिनुपर्छ । विद्यार्थी सङ्ख्या र आवश्यकताका आधारमा स्रोत विनियोजन गर्ने प्रणाली विकास गरिनुपर्छ ।
- प्राथमिक कक्षाहरुको सुधारमा ध्यान दिनु आवश्यक छ । कक्षाकोठा व्यवस्थापन, बसाई व्यवस्थापन, सिकाइ सुनिश्चितता जस्ता विभिन्न पक्षमा ध्यान दिई प्राथमिक तहको सिकाइ सुधारमा विशेष ध्यान दिनु आवश्यक छ । यसका लागि शिक्षक क्षमता विकास, प्रभावकारी मूल्याङ्कन प्रणाली र अनुगमन र जवाफदेहिताको पक्षबाट क्रियाकलापहरु अगाडी बढाउनु आवश्यक हुन्छ ।
समग्रमा सन्धिखर्क नगरपालिकाको शैक्षिक गुणस्तर अब्बल छैन । मानव पूँजीको विकासबाट सामाजिक विकास र आर्थिक समृद्धि हासिल गर्नका लागि उच्च गुणस्तरयुक्त शिक्षाविना संभव छैन । नगरपालिकाको शैक्षिक विकासका लागि विद्यमान अवस्था पहिचान, गन्तव्य पहिचान र त्यसका लागि आवश्यक स्रोत साधनको मितव्ययो र प्रभावकारी विनियोजन तथा परिचालन गर्नु आवश्यक हुन्छ । सुधार गर्छु भन्नेका लागि प्रेरित गर्दै सामुदायिक शिक्षाको सुधारमा सबैलाई जिम्मेवारीवोध गराई अगाडि बढ्दा कठिनाइ भए पनि संभव छ । उस्तै परिवेशका दुई विद्यालयहरुमा किन शैक्षिक स्तरमा ठूलो भिन्नता छ भन्ने प्रश्नको मात्र उत्तर खोजी गरेर पनि सन्धिखर्क नगरपालिकाले शैक्षिक सुधारको कार्यमा अगाडि बढ्न सक्ने देखिन्छ । शिक्षक दरबन्दी मिलान, सक्षम प्रअ व्यवस्थापन, विद्यालय मिलान र क्षमता विकास तत्कालीन सुधारका एजेण्डा हुन सक्छन् । (अर्घाखाँची, डिभर्नाका आचार्य शिक्षा क्षेत्रमा क्रियाशिल छन् । deviramac@outlook.com मा सम्पर्क गर्न सकिन्छ ।)
२०७६।७।१८ मा बुटबल टुडेमा प्रकाशित ।