निरन्तर विद्यार्थी मूल्याङ्‍कन : समस्या नै हो त ?

वि‍ सं २०७२ मा एडुखबरमा Netra Gole Anjaan ले एउटै शिक्षकले कुनै कुनै दिन ५ वटा कक्षा हेर्नुपर्छ । दैनिक प्रत्येक घण्टीमा दुई वटा त अनिवार्य जस्तै । अनि CAS कसरी लागू गर्न सकिन्छ ? भनेर लेख्नु भएको थियो । मलाई त्यसले निकै नै गिजोल्यो ? अहिले यस्तो अवस्था कति विद्यालयमा होला ? १।२ दिन होला कि सधैँ ?

वहालाई मात्र होला कि अरुलाई पनि ? त्यो कुनै दिन होला, जुन दिन ५ वटा कक्षा हेर्नू पर्ला त्यो दिन  CAS लागू नगरौ ठिकै छ । तर  वहाँले नै भनेजस्तै दैनिक प्रत्येक घण्टीमा दुई वटा अनिवार्य जस्तै छ भने पनि, CAS कसरी त ? यसका इतिहास, सिद्धान्त धेरै जान्दिन । मसँग भएको केही सिमित ज्ञानका आधारमा मात्र छलफल गर्न सकिएला ।

CAS को सैद्धान्तिक पृष्ठभूमि, CAS भनेको के हो यसको के महत्व छ, CAS किन चाहियो,  CAS को रेकर्ड कसरी राख्ने CAS लागू गर्ने समस्या र समाधान जस्ता शीर्षकमा लेखिएका लेख र सामग्रीको खोजी गरियो भने सय भन्दा पनि बढि हुन सक्छन् । CAS सँग सम्बन्धित एम फिल, पिएचडीकै शोध कार्य पनि भेटिन्छन् । तर CAS अहिले धेरैको टाउको दुखाइ भएको छ ।

सिद्धान्त र मेरा जस्तै उपदेशका लेख त जति पाइन्छ तर साच्चिकै कक्षा कोठामा हरेक विषयमा कसरी कार्यान्वयन गर्ने भन्ने विधि सहितका लेख भेटाउन भने निकै मुश्किल पर्छ । कोही कसैसँग भए बाड्नुहोला ।

नवौँ पञ्चवर्षिय योजनामा, आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाको गुरुयोजनामा तथा उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५ ले निरन्तर विद्यार्थी मूल्याङ्कन र उदार कक्षोन्नतिको वारेमा उल्लेख गरेपश्चात २०५७ बाट अनिवार्य प्राथमिक शिक्षा लागू भएका पाँच जिल्ला (इलाम, चितवन, स्याङ्जा, सुर्खेत र कञ्चनपुर) मा परीक्षण सुरु गरीयो ।

प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले पाठ्यक्रम ढाँचामै यसलाई समावेश गरे पश्चात नेपालमा CAS को कार्यान्वयनका १८ वर्ष पुरा भएका छन् तर अहिले पनि शिक्षकहरु CAS कार्यान्वयन गर्न सक्दिन, हुँदैन, कठिन छ, भनिरहेको अवस्था एकातिर छ भने सरकारले यही व्यवस्थालाई कक्षा १ देखि ३, ५ हुँदे ७ सम्म पुर्‍याएको छ ।  यसको वृद्धिदर हेर्दा कुनै समय १० कक्षा सम्म गर्ने भन्ने पनि आउला कि अनुमान गर्न सकिएला ।

CAS कार्यान्वयनका समस्या लेख्ने हो भने, बुँदामा १०० पुयाउन सकिएला तर प्राथमिकीकरण गरेर एउटै समस्या भन्ने हो भने, यो कार्यान्वयन गर्नेको दृढ इच्छा शक्ति नभएको, बुझाउन नसकिएको, बुझ्न नचाहेको र नगर्दा पनि भएकै छ भने किन गर्ने भन्ने मुख्य हो । र फेरी यो सजिलो पद्धति भने अवस्य होइन । जटिल हो, तर साच्चिकै कार्यान्वयन गर्ने हो भने विद्यार्थी सिकाइमा ठूलो योगदान यसले गर्न सक्छ ।

१८ वर्षको अवधिमा यो सँग सम्बन्धित तालिम, गोष्ठी, छलफल कति भए होलान, लेखाजोखा नै गर्न असम्भव छ । स्टेशनरीमा CAS फारम पाइन्छ भन्ने त नयाँ भएन यसको तालिमलाई cash (नगद) को नामाकरण पनि गरिएको सुनेकै हो । यो आलेख हुँदैन भन्ने र गर्न नचाहनेका लागि त हुदैँ होइन वहाँहरुले नपढे पनि हुन्छ, जो सँग गर्ने दृढ इच्छाशक्ति छ तर कसरी गर्ने भन्नेमा केही अलमल छ भने अलि अलि सहयोगी बन्ला भन्ने मात्र हो ।

यो लेख CAS को विद्धान र विषयको विज्ञले लेखेको पनि होइन । नेत्र गोलेजीले दैनिक प्रत्येक घण्टीमा दुइ वटा कक्षा पढाउनु पर्ने रहेछ, त्यही दुइ वटा कक्षा वहाँका लागि CAS को बाधक भएछ, गर्ने मन भएको दुईवटा कक्षा बाधा ? त्य्यही समस्याको समाधान कसरी गर्ने भन्ने चिन्तनमा यो आलेख तयार भयो । तर उल्लेख गरेको यस्तो अवस्था देशभरीका कति विद्यालयमा छ होला ? प्राथमिक तहमा विद्यार्थी नभएर स्कुल गाँभिदै गएको बेला यो अवस्था कतिमा होला, गर्ने चाहना नै नभएका विद्यालयमा यस्तो छैन होला, जसलाई गर्ने चाहना छ, उसैलाई यस्तो अवस्था छ भने यसका केही विकल्प सबै मिलेर खोजी गरौँ भन्ने आगह पनि हो ।

यो कार्यान्वयन नहुने नै भएसि यसलाई फालिदिउ न त भन्ने पनि हो । त्यसका लागि

निरन्तर विद्यार्थी मूल्याङ्कन : भनिरहने नगर्ने कि ? नभन्ने नगर्ने ? के होला ?

अब यता भने यसैका कुरा गरौँ । पहिला

१) CAS लाई कार्यान्वयन गर्ने साच्चिकै तीब्र इच्छा हो भने, प्राथमिक तहमा विषय शिक्षण छोडेर कक्षा शिक्षण सुरु गरौँ । कक्षा शिक्षण त हुँदै हुँदैन भन्ने हो भने बहुकक्षा शिक्षणमा लागौँ । होइन बहुकक्षा पनि हुँदैन, विषय शिक्षण नै हो तर CAS t गर्नु पर्छ भन्ने नै हो भने त्यसका पनि विकल्प छन् । त्यसका लागि पहिलो काम कार्यतालिका परिवर्तन गरौँ ।

एउटै घण्टीमा दुइ वटा कक्षामा पढाउने हो भने, विद्यालय कति कक्षा सम्म चलेको छ, विद्यार्थी सङ्ख्या कति छ, शिक्षक सङ्ख्या कति छ यसको यकिन हुनुपर्छ । मानिलिउँ कक्षा ५ सम्म चलेको विद्यालय छ, ३ जना शिक्षक छौँ । शिक्षक ‘क’ का लागि पहिलो घण्टी कक्षा १ र २ मा नेपाली, दोस्रो घण्टी ३ र ४ मा नेपाली, तेस्रो घण्टी कक्षा ५ मा सामाजिक अध्ययन र सिर्जनात्मक कला ।

२) शिक्षक ‘क’ कै लागि चौथो घण्टी कक्षा २ र ३ मा विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, पाँचौ घण्टी ४ र ५ मा विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, छैठौ घण्टी कक्षा १ मा विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, सातौ घण्टी कक्षा ५ मा नेपाली । शिक्षक ‘ख’ र ‘ग’ को पनि यसै गरी गणित, अङ्ग्रेजी, मातृभाषाको कार्यतालिका बन्छ । (ध्यान दिनुहोस एउटै घण्टीमा कक्षा १ मा नेपाली र २ मा गणित पढाउने खालको कार्यतालिका भएको अवस्थामा यसको apply हुन भने सक्दैन)

३) तपाईँले पाठ्यपुस्तकको माध्यमबाट शिक्षण गर्ने गर्नु भएको छ भने, पाठ्यपुस्तकलाई छोडेर पाठ्यक्रम लिनुस् । पाठ्यक्रमकै आधारमा पाठ्यपुस्तक तयार गरिने भएकाले पाठ्यक्रमको सहायताले शिक्षण सुरु गर्नुस । त्यसो पनि नगर्ने भए यसलाई कार्यान्वयन गर्दिन भन्नुपर्ला । नगर्ने काम गरेको जस्तो किन गर्नु र !

४) अब शैक्षिक सत्रको सुरुमा अथवा कुनै पनि समय माथि उल्लेख गरे अनुसार तपाइको कार्यतालिका परिवर्तन भयो । अब पाठ्यक्रम हेरौँ । नेपालीको कक्षा १ र २ मा एकैपटक पढाउने पर्ने भएकाले यसलाई एकै पटक हेरौँ । पाठ्यक्रम अनुसार कक्षा १ र २ राखिएका विषयवस्तुको क्षेत्र हेर्दा कक्षा १ मा २१ र २ मा २० वटा रहेका छन् । अब तपाइले वार्षिक शैक्षणिक योजना तयार गर्नुस । (नयाँ लागू हुने एकिकृत पाठ्यक्रममा पनि यसलाई अबलम्बन गर्न सकिन्छ ।)

२२० दिन विद्यालय खुल्नेछ, त्यस मध्य तपाइले २०० दिन पठनपाठनको लागि योजना तयार गर्नुस । प्रत्येक विषयक्षेत्रलाई १० दिन हुनेछ । तपाइले केहि सामग्रीको योजना बनाउनुस । निरन्तर विद्यार्थी मूल्याङ्कन अभिलेख राख्न विभिन्न फारम  portfolio file विकास गर्नुस् । सबै विद्यार्थीको अभिलेख फारम तयार गर्नुस् । यो कार्य एक्लै भन्दा संयुक्त रूपमा विद्यालयमा सबै शिक्षकले गर्दा बढि प्रभावकारी र सजिलो हुन्छ ।

५) विद्यार्थी सङख्याको आधारमा दुइवटै कक्षालाई एकै ठाँउ राखेर शिक्षण गर्ने हो वा, अलग अलग कोठामा । यस अनुसार केही रणनीति फरक फरक हुन्छन् । अहिले हामी अलग अलग कक्षाका लागि केहि उपाय खोजौँ । यसका लागि कम्तिमा कक्षा १ र २ जोडिएका कक्षामा हुनु आवश्यक छ ।

पाठ्यक्रममा पहिलो सिकाइ उद्देश्य कक्षा १ मा साधारण मौखिक निर्देशन सुनेर पालना गर्न भन्ने रहेको छ, भने कक्षा २ मा गर्न भनेका साधारण काम गर्न र नगर भनेका काम नगर्न भन्ने रहेको छ । यस उद्देश्यलाई हेर्दा कक्षा १ र २ को सिकाइमा ठूलो भिन्नता देखिएन ।

६) पहिलो घण्टी लाग्यो, सबै विद्यार्थी कक्षामा छन, अब तपाईँ पहिले कक्षा २ मा जानुस र तिमीहरु गीत गाँउदै, खेल्दै, चित्र बनाउँदै गर, धेरै नचल, झगडा नगर, बाहिर नजानु, म एकैछिनमा आउँछु, म पल्लो कक्षा १ मा छु, तिमीहरुले के के गर्छौ म सुनेको हुन्छु नि ,, ल भनेर उनीहरुलाई नम्र तरिकाले आग्रह गर्नुस,, आदेश नदिनुस,, डर नदेखाउनुस,, । यस्तो कुरा त भन्नु नपर्ला ! २ कक्षाका विद्यार्थी १ वर्ष विद्यालयमा विताइसकेका हुनाले र तपाईँलाई चिनेका अनि भनेको मान्ने हुनाले उनीहरुलाई यति भनेर २,३ मिनेटमै कक्षा १ मा जानसु ।

७) यो विद्यालयको र कक्षाको पहिलो दिन त होइन,, पहिलो २, ४ दिन त हामी पठन पाठन गर्दैनौ,, अब यहाँ बालविकासबाट आएका तथा सिधै विद्यालय आएका वालबालिका को को हुन छुट्याउनु भयो भने उनीहरु तपाईँका सहयोगी हुन्छन् । अभिवादन गर्नुस, हालखवर सोध्नुस, आज विहान कस कसले के खाना खाएर आयौँ भन्नुस, यस्तै विभिन्न खालका कुरा गर्नुस एकैछिन मात्र । तपाईँ आफ्नो योजना अनुसार तथा निर्धारीत सिकाइ उद्देश्य अनुसार साधारण निर्देशन (सुनाइ सिप) अन्तर्गत उनीहरूलाई निर्देशन पालना गर्न सिकाउदै हुनुहुन्छ, सबै जना उठ, बस, अगाडी आँउ, पछाडी जाँउ, भन्ने जस्ता क्रियाकलाप गराउनुस् ।

कक्षामा कुनै विद्यार्थी (तपाईँले क्रियाकलाप गराउँदा जसले सजिलै र छिटो बुझ्न सक्यो) उसलाई अन्य केही, आउ, जाउ, बस उठ भन्ने क्रियाकलाप गर्न लगाएर तपाईँ २ मा जान सक्नु हुन्छ । कक्षा २ मा अब तपाईँले पहिले के के गर्न र के के नगर्न भन्नु भएको थियो प्रश्न सोध्नुस । के गर्‍‍याै भनेर सोध्नुस । घरमा आमा बुबाले के के नगर भन्नुहुन्छ भनेर पालैपालो सोध्नुस । गर्न हुने र नहुने कामको सानो गीत, कविता सुनाउनुस । छोटो कथा सुनाउनुस । कविता लय र छन्दमै हुनुपर्छ भन्ने छैन, गद्यमै पनि लय मिलाएर सुनाउन सकिन्छ । हाउँभाउमा कुरा सुनाउन सकिएला । यस्ता सिप छैनन भने विचार गर्नुस् ।

कथा सधै लेखिएका र लामा हुनु पर्दैन । विद्यालयमा भएका स साना घटना, घरमा भनेको मान्दा नहुने दुर्घटना जस्ता हुन सक्छन् । कक्षा २ मा सानो कविता सुनाएर, उनीहरुलाई त्यसको अभ्यास गर्न पठाएर १ मा जानुस । त्यही कविता सुनाउनुस निर्देशन पालना गर्न सिकाउनुस ।

८) हामीले योजना बनाए अनुसार र पाठ्यक्रमको विषय क्षेत्र अनुसार निर्देशन भन्ने विषय क्षेत्र र यस अन्तगर्तका उद्देश्यका लागि ५,६ दिन सम्म क्रियाकलाप गराउन सकिन्छ । सधै ४५ मिनेटै पढाउनु पर्दैन, खेलाउनुस, कक्षा १ मा खेलाउँदा निर्देशन छोटा, सरल र एक दुई शब्दका प्रयोग गर्नुस, कक्षा २ गर्न हुने र नहुने काम भनेर छुट्टाएर सिकाउनुस ।

करिब ६ दिन यस्ता क्रियाकलाप गराएपछी तपाइले अब कक्षाका सबैले निर्देशन सुनेर पालना गर्ने (कक्षा १) र गर्न भनेको मात्र गर्ने र नगर भनेको नगर्ने (कक्षा २) सक्छन सक्दैनन भन्ने मूल्याङ्कन गर्नुपर्ला । त्यसका लागि तपाईँले कुनै लिखित परीक्षा लिने, प्रश्नपत्र बनाउने, परीक्षाको तालिका निकाल्नु पर्दैन, मौखिक रुपमै सोधेर, ५, ६ दिन सम्म क्रियाकलाप गराउँदाको अवलोकनका आधारमा कतिले गर्न सके सकेनन भन्ने थाहा पाउन सकिन्छ । कसैले निर्देशन पालना गर्न सकेनन भने उनीहरुलाई थप सिकाउनुस, कारणको खोजी गर्नुस ताकि अर्को पटक तपाईँलाई सजिलो हुन्छ । श्रवण क्षमता कम भएर हो कि, निर्देशन नबुझेर हो कि ? निर्देशन नबुझ्ने समस्या हुन सक्छ, यो तपाईँको कार्यमूलक अनुसन्धान अथवा घटना अध्यययनको विषय बन्न सक्छ । त्यता नजाउँ अहिले ।

९) सुनाइ सिप अन्तगर्तको निर्देशन भन्ने विषय क्षेत्र सकियो  । यसमा कस कसले कति सिके कसले कति सिक्न सकेन अभिलेख पनि राखेका छौँ । अभिलेखका आधारमा नसिकेकाहरूका लागि पुन सिकाउने योजना गर्दै दोस्रो विषयक्षेत्र आवाज तर्फ पाठ सुरू गर्छौ । यसका लागि विभिन्न आवाज सुनाउन विद्यालय बाहिर लैजान सकिन्छ । मोबाइबाट आवाज सुनाउन सकिन्छ । पाठ्यक्रमको उद्देश्य अनुसार धेरै क्रियाकलाप संयुक्त रुपमा गराउन सकिन्छ । अक्षर पहिचान, वर्ण विभेद जस्ता क्रियाकलाप संयुक्त पनि हुन सक्छन् । यसै गरी नेपालीको पठन पाठन गर्न सकिन्छ । यसो गर्दै गर्दा पाठका केहि निर्देशनसँग सम्बन्धित क्रियाकलाप पनि गराउन सकिन्छ । पाठ्यपुस्तक हेदै नहेर्ने भन्ने नभई क्रियाकलाप तय गर्ने आधार पाठ्यक्रम बनाउने भन्ने हो ।

माथि उल्लेख गरे अनुसार नै हुनुपर्छ र त्यो सबै ठाँउ मिल्छ भन्ने छैन । यो एउटा उदाहरण मात्र हो । शिक्षकले आफू अनुकूल यो भन्दा राम्रा क्रियाकलाप गराउन सकिन्छ । अझ प्रभावकारी शिक्षण हुन सक्छ । विद्यार्थी सङ्ख्या समस्या हुन सक्छ, तर समस्यालाई कसरी समाधान गर्ने भन्ने उपाय सम्बन्धित शिक्षकसँग नै हुन्छ । ३० जनासम्मलाई समस्या मान्न सकिदैन । अहिले देशभर कति सामुदायीक विद्यालय होलान यो भन्दा धेरै विद्यार्थी भएका । शैक्षिक सामग्री पर्याप्त व्यवस्था गरेर अथवा निर्माण गरेर यसलाई सरल बनाउन सकिन्छ ।

निरन्तर विद्यार्थी मूल्याङ्कनलाई वर्षको २, ३ पटकमात्र प्रश्न मार्फत लिखित परीक्षा लिएर विद्यार्थीको वास्तविक सिकाइ अवस्था थाहा हुँदेन, प्रत्येक पाठ पढाएपछि, उनीहरुले जाने जानेनन भन्ने सुनिश्चित गरेर मात्र अगाडि बढ्नुस । त्यसको अभिलेख राख्नुस र कक्षा उत्तीर्ण गराउँदा अथवा वार्षिक मूल्याङ्कनमा त्यसलाई पनि आधार बनाउनुस भन्ने हो । नकि परीक्षा नलिनुस, जाने पनि नजाने पनि माथिल्लो कक्षा चढाउनुस । तपाईँले हरेक पाठ अथवा उद्देश्य अनुसार मूल्याङ्कन गर्नु भयो भने मात्र हरेक विद्यार्थीको कमजोरी थाहा पाउनु हुन्छ र सुधारका लागि तपाईलाइ मार्ग प्रशस्त हुन्छ । हुन त हामी काम सक्ने अभियानमा छौँ, नसिके के भो र ! सिकाउने नै भए यता जाने हो ।

हो, निरन्तर विद्यार्थी मूल्याङ्कन परम्परागत शिक्षण भन्दा केही फरक छ, तपाई नयाँ केही गर्न र सुधार चाहनु हुन्छ भने यसका समस्या खोजीमा होइन, समाधानका उपायको खोजीमा लाग्नुस ।

अन्यथा यसलाई कार्यान्वयन गर्न नसकिने कारण के के हुन भनेर सूची बनाउन लागौँ । धेरै विद्यार्थी छन, शिक्षक थारै छौ, विद्यार्थी कमजोर छन, त्यसैले निरन्तर विद्यार्थी मूल्याङ्कनलाइ उपयोग गर्न सकिन्छ । दिनहुँ, रेजा लगाउने समय छुट्टाउने नभएर योजना अनुसार ५, ७ दिनमा पाठ सकेर, उद्देश्य पूरा भएपछि गर्ने हो ।

प्राथमिक तहमा २०, २५ पाठ हुन्छन् तपाइले अब २५ दिन निरन्तर विद्यार्थी मूल्याङ्कन प्रयोजनका लागि छुट्टाए पनि बाँकी १७५ दिन पढाँउन सकिन्छ । खाँचो केवल इच्छा शक्तिको मात्र हो । चुनौति सामना गर्न चाहनेका लागि मात्र हो । जौ दोडिन्छ, उसको मात्र दौड जित्ने संभावना रहन्छ । अब तपाईँहरु कतिपयले भन्नुहोला ३ वटा कक्षामा पढाउनु पर्छ, २ जना मात्र शिक्षक छौ, विद्यार्थी धेरै छन यस्तै यस्तै । तपाइका लागि पनि विकल्प छन, छलफल गर्न सकिन्छ, तर तपाइसँग गर्छु नै भन्ने दृढ इच्छाशक्तिको खाँचो आवश्यक पर्दछ । धन्यवाद ।

२०७२ भदौमा www.edukhabar.com मा प्रकाशित आलेख ।