Latest Book

शिक्षा शास्त्र स‌ङ्काय र शिक्षकको गुणस्तरीयता

शिक्षक सेवा आयोग नियमावलीको नवौ संशोधनले शैक्षिक क्षेत्रमा एउटा फरक बहस सृजना गरेको छ । बहसमा मुख्य २ प्रश्न उठेका छन्: पहिलो, शिक्षक बन्नका लागि तालिम चाहिने वा नचाहिने ? दोस्रो शिक्षा शास्त्र सङ्काय पढेकाले मात्र शिक्षक बन्न पाउने वा अन्यले पनि ? प्रश्न यी दुई वटा मात्र भए तापनि यसको सम्बन्ध विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायको औचित्य र विगतमा शिक्षा शास्त्र पढेकाहरू लार्इ मात्र वितरण गरिएको करिब ६ लाख अध्यापन अनुमति पत्रको प्रयोगमा पनि रहेको छ ।

यस आलेखमा शिक्षा शास्त्र सङ्कायको आलोचना भन्दा पनि यसका कमजोर पक्षहरूको खोजी गर्ने प्रयास गरिएको छ । सर्पको खुट्टा सर्पले देख्छ भनेजस्तै पङ्कतिकार स्वयम् शिक्षा शास्त्र सङ्कायकै विद्यार्थी भएकाले आफैले अनुभव गरेका, देखेका, सुनेका र भोगेका तथ्यहरूका आधारमा यसका कमजोर पक्ष खोतल्ने प्रयास गरिएको हो । पङ्तिकारले यस आलेख मार्फत शिक्षा शास्त्र सङ्कायका कमजोरीलार्इ सुधार गर्न अथवा यसको बारेमा बहस, चिन्तन र छलफल गर्नका लागि विषयवस्तु प्रदान गर्ने प्रयास गरेको छ र यसलार्इ विद्ध पाठक वर्गले यसरी नै बुझिदिनु हुनेछ भन्ने आग्रह गर्दछु । उल्लिखित विषयवस्तुहरू शिक्षा शास्त्र सङ्कायमा छलफल र बहसका विषयवस्तु बन्न सकेमा शिक्षा शास्त्र सङ्कायको भूमिका र यसको गुणस्तरीयता वृद्धि गर्नमा सहयोग पुग्ने अपेक्षा गरेको छु । त्रिविमा पनि झ्यालमा, भुईँमा बसेर लेक्चर सुन्ने प्रचलन छ ।

नेपालमा शिक्षाको गुणस्तर भएन, शिक्षकले पढाएनन्, शिक्षकले लिएको तालिम प्रभावकारी भएन, तालिम कक्षा कोठामा पुगेन, पाठयोजना बनाएर पढाउने चलन नै छैन, शैक्षिक सामग्रीको प्रयोग हुँदैन लगायतका धेरै आलोचना र समस्या सुन्न पाइन्छ । र, पढ्न पनि के पाइन्छ भने, कुनै पनि देशको शिक्षाको गुणस्तर त्यस देशका शिक्षकको गुणस्तरभन्दा माथि हुन सक्दैन । विपरीत तथ्य कस्तो छ भने, आलोचना शिक्षकको गुणस्तर प्रति गरिएको छ, तर शिक्षकलार्इ गुणस्तरीय बनाउने अथवा गुणस्तरीय व्यक्तिलार्इ शिक्षण पेसामा आकर्षित प्रयास भने गरिएको छैन् । इतिहासलार्इ हेर्दा २८ सालमा अनिवार्य गरिएको तालिम केही वर्षमै हटाइयो र तालिम लिएका र नलिएकाहरूलार्इ फरक फरक तलव मान तोकियो । एसएलसी उत्तीर्ण, एसएलसी अनुत्तीर्ण र दुई विषय सम्म अनुतीर्ण र त्यो भन्दा धेरै अनुत्तीर्ण भन्ने जस्ता आधारमा शिक्षक लार्इ वर्गीकरण गरि फरक फरक तलव भत्ता दिने गरिएको अवस्था अहिले पनि छ ।

४६ सालको प्रजातन्त्र प्राप्ति पश्चात् तालिम लिएका वा नलिएका दक्ष या कमजोर भन्ने कुनै कुराको आधार नबनाइ हजारौं शिक्षक स्वतः स्थायी गरिए । ५२ सालमा खोलिएको आयोगमा पनि तालिमको कुरा थिएन । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०५५ र शिक्षा सम्बन्धी उच्चस्तरीय कार्यसमितिको प्रतिवेदन २०५८ कार्यान्वयन गर्ने क्रममा ५८ सालमा गरिएको शिक्षा ऐन २०२८ को सातौं संशोधन मार्फत शिक्षक बन्नका लागि अध्यापन अनुमति पत्रको अनिवार्य व्यवस्था भयो । २०५९ बाट अनिवार्य गरिएको अध्यापन अनुमति पत्र र २०६६ सम्ममा करिब ९८ प्रतिशत शिक्षकले तालिम प्राप्त गरेको समयको शैक्षिक उपलब्धि, सिकाइ स्तर, अभिभावकको सन्तुष्टि र एसएलसी परीक्षाको उत्तीर्ण प्रतिशतमा त्यति धेरै ठूलो भिन्नता देखिँदैन । अध्यापन अनुमति पत्र नलिएका शिक्षकले १० वर्ष पढाएका सामुदायिक विद्यालयको २०६० को एसएलसी उत्तीर्ण प्रतिशत ३६ थियो भने अध्यापन अनुमति पत्रको अनिवार्य व्यवस्था भएपछि (कार्यरत स्थायी शिक्षकले पनि लिनुपर्ने अनिवार्य व्यवस्था अनुसार) २०७० को एसएलसी परीक्षामा सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत २८ रह्यो । यो तथ्यले अध्यापन अनुमति पत्रले गुणस्तरीय पठनपाठनमा सहयोग गर्छ भन्ने स्पष्ट आधार देखिएन ।

अध्यापन अनुमति पत्रको व्यवस्था सुरु भए देखि नै यो विवाद, छलफल र बहसको विषय बनिरहेको छ । सुरुको दुई पटकका लागि महिला र अपाङ्गता भएका व्यक्ति जुनसुकै सङ्काय अध्ययन गरेका भए तापनि अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुन पाएका थिए । त्यस पछिका समयमा पनि कहिले जुनसुकै विद्यालयमा एक वर्ष पढाएका, त कहिले ३ वर्षभित्र तालिम लिने गरि जुनसुकै विषय पढेका वा दुर्गम क्षेत्रका लागि भनेर विभिन्न ढङ्गले अध्यापन अनुमति पत्र वितरण गर्ने परम्पराले यसको कार्यान्वयन कमजोर हुन गएको देखिन्छ ।

नेपालमा शिक्षा शास्त्र सङ्कायको अध्ययन इतिहास हेर्दा यो शिक्षक तालिमबाटै विकसित भएको देखिन्छ । साथै शिक्षा शास्त्र सङ्कायको अध्ययनलाई तालिम र योग्यता दुवै मान्ने गरिएको पनि छ । खास छलफल, बहस र विवादको विषय के छ भने विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायले के साँच्चिकै योग्य र दक्ष शिक्षक उत्पादन गरिरहेको छ ? शिक्षा शास्त्र सङ्काय अध्ययन नगरेका व्यक्तिहरूले साँच्चिकै राम्रोसँग पढाउन जान्दैनन् वा सक्दैनन् ? करिब ८ हजारको सङ्ख्यामा रहेका निजी विद्यालयमा ९० प्रतिशत भन्दा बढि शिक्षक शिक्षा शास्त्र भन्दा अन्य सङ्काय र तालिम नलिएका छन् तर परीक्षाका नतिजाका दृष्टिले त निजी विद्यालय अब्बल नै छन् । यसका साथै विद्यालयमा पढाइ हुने अनिवार्य तथा ऐच्छिक विषय र शिक्षा शास्त्र सङ्कायको तालमेल मिलेको पनि देखिँदैन । उदाहरणको लागि सामाजिक अध्ययन विद्यालयमा अनिवार्य विषय छ, तर शिक्षा शास्त्र सङ्कायमा सामाजिक अध्ययन नामको विषय पढाइ हुँदैन र नेपाली, गणित र अङ्ग्रेजी पढेका हरू सामाजिक विषयका लागि दक्ष र तालिम प्राप्त शिक्षक हुने अवस्था छ ।

स्वास्थ्य जनसङ्ख्या र वातावरणको कुरा गरौं, जनसङ्ख्या र स्वास्थ्य शिक्षा शास्त्र सङ्कायका विषय भए पनि यी दुई अलग अलग रुपमा पढाइने विषय हुन । यस अर्थमा दुवै विषय पढ्ने व्यक्तिहरू भेट्न कठिन त छ नै वातावरण भन्ने विषय त शिक्षा शास्त्र सङ्कायमा पढाइ नै हुँदैन । यस्ता अन्य थुप्रेँ ऐच्छिक विषय छन् जसको पढाइ शिक्षा शास्त्र सङ्कायमा नै हुँदैन । विज्ञान शिक्षा विषयको पढाइ हुने गरेको भए तापनि हाल विद्यार्थीको अभावमा लगभग बन्द भैँ सकेको अवस्था छ । कम्प्युटर, कार्यालय सञ्चालन र लेखा, भूगोल, नागरिक शास्त्र, वातावरण विज्ञान, समाजशास्त्र, लेखा परीक्षण, पत्रकारिता लगायत दर्जनौ विषय रहेका छन् शिक्षा शास्त्र सङ्कायमा पढाइ नहुने । शिक्षा शास्त्र सङ्कायमा सम्बन्धित विषय अध्ययन नगरी जुनसुकै विषय अध्ययन गरेर शिक्षक बन्ने व्यक्ति के साँच्चिकै दक्षता भएको हुन्छ ? त्यसका लागि विषयवस्तुको ज्ञान चाहिँदैन, विधि भन्ने कुरा नै सबै विषयका लागि योग्यताको कडी हुन सक्छ र ?

कुरा शिक्षण विधिकै गरौं, शिक्षा शास्त्र सङ्काय अन्तर्गत ११ कक्षामा ५० पूर्णाङ्क र स्नातक तहमा १०० पूर्णाङ्कको शिक्षण विधि विषय अध्यापन हुन्छ । ११ कक्षामा अध्यापन हुने ५० पूर्णाङ्क कक्षा ८ सम्म विभिन्न फरक फरक विषय अध्यापन लागि पर्याप्त हो त भन्ने सवाल त छँदैछ, त्यसको साथै उक्त कक्षा ११ मा पढ्ने विद्यार्थीले उक्त विषय कसरी पढ्छ अर्थात् उच्च माध्यमिक विद्यालयहरूमा कसरी पढाइन्छ भन्ने पनि सवाल छ । विभिन्न शिक्षण विधि (प्रदर्शन, छलफल, प्रश्नोत्तर, नाटकीकरण, भूमिका अभिनय, क्षेत्र भ्रमण आदि) अध्यापन गर्दा प्रयोग गरिने शिक्षण विधि एउटै मा विधि प्रवचन हुन्छ । नाटकीकरण र भूमिका अभिनय जस्ता शिक्षण विधि प्रवचन विधि मार्फत पढेर परीक्षा पास गरेको आधारमा विद्यालयमा शिक्षण विधि जानेकाले राम्रो पढाउँछन् भन्ने भ्रम मात्रै पनि हुन सक्छ ।

साना कक्षाहरूमा खेल, कथा, गीत, नाटक, भूमिका अभिनय जस्ता विधि प्रयोग गर्नु पर्छ भनेर सिद्धान्त मात्र कण्ठस्थ गैरकै भरमा कसैले राम्रो पढाउन सक्छ भन्ने विश्वास पङ्कतिकारले गर्ने सक्दैन । पाठ योजना यसरी बनाउनु पर्छ, उद्देश्य यसरी लेख्नु पर्छ भनेर ठूला ठूला सिद्धान्त पढाइ हुने स्नातक तहमा प्राध्यापक आफैले कहिले पनि पाठ योजना बनाएर कक्षामा ल्याएको देखेको छैन मैले । शिक्षण विधि पढाउने प्राध्यापकले जिन्दगीभरि शिक्षण गर्दा पनि प्रवचन बाहेक अर्को विधि विरलै प्रयोग गरेका होलान् । शैक्षिक सामग्री निर्माणका थुप्रै सिद्धान्त र विधि पढाउने प्राध्यापकले कक्षामा शैक्षिक सामग्री बनाएर पढाएका होलान् भनेर विश्वास गर्न सकिने आधार छैनन् । स्नातक तहमा हुने शिक्षण अभ्यास बिरालो बाँधेर श्राद्ध गर्ने भन्ने नेपाली उखानसँग धेरै हदसम्म मेल खान्छ । विश्वविद्यालयका विभिन्न सङ्कायहरूमध्ये सबैभन्दा कम उत्तीर्ण प्रतिशत भएको सङ्कायमा शिक्षा शास्त्र सङ्काय पर्दछ । उच्च माध्यमिक विद्यालयमा शिक्षण विधि अध्यापन गर्ने शिक्षक राजन सापकोटाले पूरकमा एसएलसी पास गर्ने र विज्ञान र व्यवस्थापनमा पढ्न नसक्ने र महँगो शुल्क तिर्न पनि नसक्ने गरिब, कमजोर र विपन्न समुदायका र छात्राहरूले पढ्ने विषय शिक्षा भएको छ भन्नुहुन्छ ।

त्रि वि को शिक्षा शास्त्र सङ्कायमा विद्यालय तहको ऐच्छिक द्वितीय पत्रमा राखिएको स्वास्थ्य र शारीरिक शिक्षा विषय पढ्ने विद्यार्थी सबैभन्दा धेरै छन् । जबकी गत वर्ष १२ हजार शिक्षक पदको विज्ञापन हुँदा यो विषयमा देशभरमै करिब १५ जनाको मात्र विज्ञापन भएको थियो । यही विषयको अध्ययन अध्यापनको कुरा गर्दा, स्नातक तहमा शिक्षा शास्त्र सङ्काय पढाइ हुने तर स्वास्थ्य र शारीरिक विषयको अध्यापन नहुने क्याम्पस सायद कम होलान् । त्रि वि का आङ्गिक बाहेक औँलामा गन्न सकिने क्याम्पस मात्र होलान् जहाँ शारीरिक शिक्षाको प्रयोगात्मक शिक्षणका (भलिबल, फुटबल, ब्याडमिन्टन) लागि खेल मैदानको व्यवस्था गरिएको छ । यस्ता क्याम्पसबाट स्वास्थ्य र शारीरिक शिक्षा विषय पढेर स्नातक उत्तीर्ण गरेका विद्यार्थी कहिले पनि ब्याडमिन्टको र्य्याकेट नसमातेको, खेल मैदानमा फुटबल नखेलेको हुने अवस्था पनि छ ।
शिक्षा शास्त्र सङ्काय लाइ तालिम मानिए तापनि यो वास्तविक तालिम हुन सकेको छैन ।

कोरा सैद्धान्तिक ज्ञान मात्र सिकाउने भएको हालको शिक्षा शास्त्र सङ्कायले गुणस्तरीय शिक्षक उत्पादन गरिरहेको छ भन्ने विश्वसनीय आधारहरू भेटिएका छैनन् । यो विषय अध्ययनको सुरुवातका अवस्थामा राम्रो भए तापनि विस्तारै यो कमजोर हुँदै गएर कुनै बेला अङ्ग्रेजी विषयदेखि डराउनेहरूले पढ्ने (शिक्षा विभाग, २०६७) विषय भएको अवस्थाबाट, हाल पूरक एसएलसी उत्तीर्ण गर्ने, गाउँमा विपन्न र गरिबका छोरा छोरीले पढ्ने विषय बनेको छ । विश्व विद्यालय अनुदान आयोगको सन् २०१२/१३ को प्रतिवेदन अनुसार त्रिविमा सबै भन्दा बढी ३९.७६ प्रतिशतले शिक्षा शास्त्र सङ्कायमा अध्ययन गर्छन् । उच्च माध्यमिक शिक्षा परिषदका अनुसार करिब २० प्रतिशत मात्र निजी र ८० प्रतिशत सामुदायिक उच्च माविमा शिक्षा विषय अध्ययन हुने गर्छ । तर उत्तीर्ण प्रतिशतका हिसाबले ११/१२ र स्नातकमा सबैभन्दा कम उत्तीर्ण प्रतिशत शिक्षा शास्त्र सङ्कायको रहेको छ ।

शिक्षक सेवा आयोग नियमावलीको नवौं संशोधनले केही तोकिएका विषयमा अध्यापन अनुमति पत्रको आवश्यकता नपर्ने व्यवस्था गरे पश्चात् त्रिविमा शिक्षा शास्त्र सङ्काय अध्ययनरत विद्यार्थी आन्दोलित भएको अवस्था छ । शिक्षा शास्त्र सङ्कायका विद्यार्थी आन्दोलित भइरहदा यो विषयका प्रबुद्ध प्राध्यापक र त्रिविका पदाधिकारी भने मौन रहेको देखिन्छ । कक्षा ११ देखि स्नातकोत्तर तहसम्म झन्डै हरेक वर्ष र तहमा शिक्षाको परिभाषा, शिक्षाका उद्देश्य, कार्य, मनोविज्ञान, पाठ्यक्रम, मूल्याङ्कन, पाठयोजना, एकाइ योजना, वार्षिक कार्य योजना, शैक्षिक सामग्री, शिक्षा आयोगका प्रतिवेदन जस्ता विषयहरूको अध्ययन अध्यापन गरिन्छ ।

शिक्षण विधि शिक्षा शास्त्र सङ्कायमै पढाइ हुन्छ । बाल विकास र मनोविज्ञान, पाठ्यक्रम र मूल्याङ्कन, दूर शिक्षा, शिक्षण प्रविधि, कार्यमूलक अनुसन्धान, घटना अध्ययन सबै कुरा विश्वविद्यालयको कोर्समै पढाइ हुन्छ र यी सबै कुरा नै शिक्षक पदको परीक्षाका पाठ्यक्रमका विषयवस्तु हुन । यस अवस्थामा शिक्षा शास्त्र सङ्कायका विद्यार्थीले आन्दोलन गर्नुको साटो चुनौती दिनु पर्ने आवश्यकता छ । शिक्षक सेवा आयोगको अध्यापन अनुमति पत्र र शिक्षक पदको लिखित परीक्षाको पाठ्यक्रमले शिक्षा शास्त्र सङ्कायका विद्यार्थीलाई आरक्षण प्रदान गरे जस्तै छ ।

यसरी हेर्दा आयोगको पाठ्यक्रमका सबै कुरा विश्वविद्यालयमै पढेका शिक्षा शास्त्र सङ्कायका विद्यार्थीले अन्य सङ्कायका विद्यार्थी शिक्षक बन्न पाउँदैनन् भन्नु भन्दा हामीले पाठ्यक्रमको सबै कुरा विश्वविद्यालयमा पढेका छौं, शिक्षण विधि, शैक्षिक सामग्री, बाल मनोविज्ञान, घटना अध्ययन जस्ता कुराहरू हामीले पहिल्यै पढेका छौं, प्रतिस्पर्धाको लागि फेरी तयारी गर्छौ । आयोगको पाठ्यक्रमका विषयवस्तुको कुनै नामै नसुनेका अन्य सङ्कायका व्यक्तिले हामीलाई जित्न सक्दैनन् ।

उनीहरूले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैनन्, भनेर चुनौती दिने कि तालिम प्राप्त र दक्ष हामी मात्र हौं, हामीले मात्र पढाउन पाउनु पर्छ भनेर आन्दोलन गर्ने ? शिक्षा शास्त्र सङ्कायका विद्यार्थी मात्र शिक्षणका लागि योग्य र दक्ष छौ भने निजी विद्यालयमा कोही पनि शिक्षक योग्य र दक्ष छैनन् भन्नु पर्ने हुन्छ किनकी कानुनले अनिवार्य गरे तापनि निजी विद्यालयमा अध्यापन अनुमति पत्रको व्यवस्था कार्यान्वयनमा रहेको छैन । विद्यालय तहको शिक्षामा मात्र शिक्षा शास्त्र सङ्काय अध्ययन गरेकाले पढाउनु पर्ने तर उच्च माध्यमिक तहको ११ कक्षा देखि माथि सबै तहमा शिक्षक हुन कतै पनि शिक्षा शास्त्र पढ्नु नपर्ने अवस्था पनि छ । यसको अर्थ के विद्यालय तहका शिक्षक मात्र योग्य हुनु पर्ने उच्च तहमा योग्य र दक्ष नभए पनि हुने भन्ने त पक्कै होइन ।

आफू मात्र दक्ष र सक्षम छु भन्दै गर्दा अरूसँग प्रतिस्पर्धा गर्न डराउनु पनि शोभनीय हुँदैन होला शिक्षा शास्त्र सङ्कायका विद्यार्थीका लागि । यदी शिक्षा शास्त्र सङ्कायका विद्यार्थी साँच्चिकै दक्ष र सक्षम छौँ भने हामीहरू अरू कसैसँग डराउनु आवश्यक छैन । यदि कसैले शिक्षक सेवा आयोगको जाँचमा शिक्षा शास्त्र सङ्कायको विद्यार्थीले भन्दा राम्रो गर्न सक्छ भने उसको ज्ञान र सीपमा दक्षता नभएको भन्न पनि मिल्दैन ।
शिक्षा शास्त्र सङ्कायका विद्यार्थीले तालिम प्राप्त शिक्षकबाट पढ्न पाउने बालबालिकाको अधिकार हन्न गर्न पाइँदैन भनेर आन्दोलन गर्दै गर्दा शिक्षा शास्त्र पढेपछि सबै व्यक्ति स्वतः दक्ष हुन्छन् र अरु विषय पढेका कोही पनि योग्य र दक्ष छैनन् भनेको हो भन्ने पनि त अर्थ लाग्न सक्छ कि । त्यसैले प्रतिस्पर्धामा नजुधि हामीहरू मात्र दक्ष र सक्षम छौं भन्दै गर्दा हामी भन्दा सक्षम बाट (कोही भए) पढ्न पाउने बालबालिकाको अधिकार पनि त हनन हुन सक्छ भन्ने तर्फ हेक्का राख्नै पर्ला ।

राज्यले यो विषय वा त्यो विषय पढेको बहानामा शिक्षक हुनका लागि रोकावट गर्नु आवश्यक र सान्दर्भिक पनि देखिँदैन । शिक्षक छनौटको मापदण्ड कडा र प्रतिस्पर्धी बनाउनु आवश्यक छ । गुणस्तरीय शिक्षक भनेको ज्ञानको मात्र गुणस्तरीयताले हुँदैन । शिक्षण एक कला पनि हो । कुनै विषय पढेकै आधारमा कोही पनि दक्ष शिक्षक बन्न सक्दैन । बालबालिकाको भावना बुझ्ने र प्रभावकारी शिक्षण गर्ने कुरा पाठ कन्ठस्थ गरेको भरमा र सिद्धान्त रटेको भरमा हुने कुरा होइन यो त व्यक्तिको आन्तरिक क्षमतामा पनि भर पर्दछ ।

यसर्थ, यदि राज्यलाइ साच्चिकै गुणस्तरीय शिक्षकको आवश्यकता छ भने, जुनसुकै विषय अध्ययन गरेकालार्इ अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी गराउने, अध्यापन अनुमति पत्रको परीक्षा प्रणाली परिवर्तन गर्ने, शिक्षण छनौटका मापदण्ड कडा र प्रतिस्पर्धी बनाउने, दूर शिक्षा तथा प्रविधिका माध्यमबाट निरन्तर सेवाकालीन तालिम प्रदान गरेर दक्ष र योग्य व्यक्तिबाट बालबालिकाको गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित गर्नु पर्छ, ।

कुनै अमुक विषय अध्ययन गरेकालार्इ मात्र शिक्षण बनाउने अथवा कुनै अमुक विषयमा अध्यापन अनुमति पत्र चाहिने र कुनैमा नचाहिने गरेर गुणस्तरीय शिक्षक प्राप्ति हुन सक्दैन ।