Latest Book

रुकुम पूर्वको सदरमुकाम सार्ने सरकारको कदम सर्वोच्चद्वारा रोक

काठमाडौं, १८ माघ । रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै सदरमुकाम नसार्न भनेको हो । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने सरकारको निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सदरमुकाम सार्ने निर्णय विरुद्ध परेको रिटमा कानूनविदहरु सूर्य ढुंगेल, उपेन्द्रकेशरी पोखरेल, रमन श्रेष्ठ, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए ।

रुकुम पूर्वको सदरमुकाम सार्ने सरकारको निर्णयको विरोधमा एक सातादेखि रुकुममा आन्दोलन चइरहेको छ । सरकारको सदरमुकाम सार्ने निर्णयको विरोधमा सदरमुकामका जनताले सीडीओलाई समेत घेराबन्दी गरेर राखेका थिए ।