Latest Book

सामुदायिक शिक्षा सुधार र स्थानीय सरकार

माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारको जिम्मेवारीमा आए पछि, अब सामुदायिक शिक्षा अभिभावकको विश्वास जित्ने गरी सुधार हुनेछ । समग्र सामुदायिक शिक्षाको फड्को मार्नेछ । धेरै विश्लेषक, शिक्षाविद् र साधारणजनले यसै भनिरहेका छौं । सामुदायिक शिक्षा खराब हुनुमा केन्द्रीय सरकारलाई दोषी देख्नेका दृष्टिमा यो रामवाण पनि हुन सक्छ । तर प्रष्ट हुनुपर्ने कुरा के जस्तो लाग्छ भने, नेपालको सामुदायिक शिक्षा कमजोर हुनुमा यसको केन्द्रीय व्यवस्थापन मात्र दोषि थिएन र होइन पनि ।

एउटा ज्यादै सरल र साधारण बुझ्नै पर्ने कुरा के हो भने सामुदायिक शिक्षाको सुधार भनेको कक्षा कोठाको सिकाइबाट मात्र हुन्छ । भवन, खानेपानी, शौचालय, खेलमैदान भनेका त सहायक कुरा हुन् । प्राथमिक भनेको वर्षभरी विद्यालय गएको विद्यार्थीले सिकेको हुनु पर्यो । विद्यालयको कक्षाकोठामा शिक्षकले पढाउनु पर्यो । पढाएर मात्र भएन, विद्यार्थीलाई जान्ने बनाउनु प¥यो । अन्तिम त विद्यार्थीको सिकाइ हो । अभिभावकले बाल कक्षामै क, ख र A, B, C, D, १, २ जानोस्, कक्षा १ मा पुग्दा सरल वाक्य पढोस् । अङ्ग्रेजीमा My name is … भनोस् । I read in class । भनोस् । यति चाहेका हुन् । अभिभावकले यो चाहना आफैँ बनाएका पनि होइनन् निजी विद्यालयले नर्सरीमै यति कुरा भन्न सक्ने बनाइदिए अनि अभिभावकले यो चाहना गरे । नीजिले नर्सरीमै सिकाउने कुरा सामुदायिकले कक्षा ३ मा पनि सिकाउन सकेका छैनौँ । कारण त जेसुकै भनौला वा बनाउँला तर कक्षा ३ मा पुग्दा पनि ५० प्रतिशत भन्दा बढी विद्यार्थीले शुद्धसँग सरल शब्द पढन् नसक्ने अवस्था रहेको तथ्यहरू सरकारी अनुसन्धानहरूले नै देखाइरहेका छन् ।

सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्ने भनेको कक्षाकोठाबाट मात्र हो । अरु कुनै पनि नीति, परिपत्र, निर्देशन र कानुनले अभिभावकको विश्वास जिन्त सकिदैँन । माथिको प्रसङ्ग कुनै एक सामुदायिक विद्यालयका अगाडि भन्ने हो भने सयौ कारण छन् सिकाउन नसक्नुका । अब सामुदायिक विद्यालयले अरुलाई कारण देखाएर आफ्नो कमजोरी लुकाइरहने अवस्था छैन । विद्यालयको कक्षाकोठामा सिकाइ नहुनुका लागि कारण के हो ? जिम्मेवार को हो ? कक्षाकोठाको Supreme Man को ?

कक्षाकोठाको सिकाइका लागि कसले कति जिम्मेवारी लिने हो ? कक्षाकोठा भित्र पसेको शिक्षकको जिम्मेवारी विद्यार्थीलाई सिकाउने हो, सिक्न सघाउने हो र जान्ने बनाउने हो ? विहान १० बजे विद्यालय आएको विद्यार्थी ४ बजेसम्म विद्यालयमा बस्दा उसको सिकाइका लागि सरकार (शिक्षा मन्त्री/मन्त्रालय) जिम्मेवार हुने हो ? शिक्षा अधिकारी जिम्मेवार हुने हो ? वा विद्यालयका प्रधानाध्यापक वा कक्षाकोठामा पढाउने शिक्षक वा छोराछोरी विद्यालय पठाएर मेलापात गएका अभिभावक ? को ?

अभिभावकको जिम्मेवारी कापी, पेन्सिल सहित स्कुल पठाउने हो । केही गरी कुनै बच्चाले कापी ल्याएन, पेन्सिल ल्याएन भने त्यो दिनको लागि विद्यालयले उपलब्ध गराउनुपर्छ र अर्को दिन ल्याउनका लागि विद्यार्थी स्वयं र अभिभावकलाई आग्रह गर्न सकिन्छ । विद्यार्थीले कापी ल्याएन, पेन्सिल ल्याएन भन्ने वहानामा नजान्नुको कारण उसैलाई बनाउन मिल्दैन । विद्यालय नआउने विद्यार्थी त आएनन् तर आएका विद्यार्थीलाई त्यो दिन पढाएको कुरा जान्ने बनाउने वा सिकाउने जिम्मेवारी शिक्षककै हो । शिक्षकले म त पढाउने हो, पढाएकै छुँ, नजाने त मैले के गरुँ ? भनेर मात्र भनिरहने हो भने सामुदायिक शिक्षाको जिम्मेवारी जसलाई दिए पनि यसबाट सुधार हुन सक्दैन ।

पङ्तिकारले करिब दुई महिना अगाडि भ्रमण गरेको एक सामुदायिक विद्यालयको एउटा कक्षाको प्रतिनिधि उदाहरणले हामी विद्यार्थी सिकाइका लागि कति जिम्मेवार छौँ भन्ने प्रष्ट पार्न सकिएला ।

(क) कक्षा १ मा एक शिक्षिकाले ३ जना विद्यार्थीलाई पढाउँदै हुनुहुन्छ ।
पङ्तिकार : जम्मा कतिजना विद्यार्थी हुन् ?

शिक्षिका : छ जना हुन् आज तीन जना मात्र आएका छन् ।

पङ्तिकार : के पढाउँदै हुनुहुन्छ ?
शिक्षिका : नेपाली ।
पङ्तिकार : अनि क, ख कति सम्म चिनेका छन् त ?
शिक्षिका : क मात्र चिनेका छन् ।
पङ्तिकार : बाल कक्षामा पनि क, ख पढाउने गरेको भन्नु भएको थियो मिसले । अनि शैक्षिक सत्र शुरु भएको पनि २ महिना भयो क बाहेक अरु जान्दैनन् ? २ महिनामा क मात्र सिकाउने हो भने, ४९ अक्षर र बाँकी बाह्रखरी कहिले सिकाउने होला ?

शिक्षिका : यिनीहरू कोही नियमित आउँदैनन, आएर पनि ध्यानै दिदैनन् । गृहकार्य पनि गर्दैनन् । अभिभावकले पनि चासै दिन्नन् ?
पङ्तिकार : साना बालबालिकाले गृहकार्य नगरे पनि के भयो र ? क, ख चिनाउने त हामीले नै हो नि, होइन र ? क, ख चिन्ने बनाउनलाई गृहकार्यसँग त्यति ठूलो सम्बन्ध हुन्छ र ?
शिक्षिका : सामग्री केही छैन, हामीले पढाएकै छौँ, जान्दै जान्दैनन्, नियमित आए, गृहकार्य गरे, अभिभावकले ध्यान दिए न जान्ने हुन् । हामीले मात्र पढाएर हुन्छ र ?
कक्षामै बसेर धेरै सवाल जवाफ गर्न चाहिन, कक्षा एकबाट बाहिरिएँ ।

सँगैको कक्षा २ मा पुगेँ । हिन्दु अरेविक र रोमन सङ्ख्याको पढाइ हुँदै थियो ।

कक्षामा ३ जना विद्यार्थी उपस्थित थिए । सेतो पाटीमा शिक्षकले १ देखि ५ सम्मको तालिका बनाउनु भएको थियो । म शिक्षकलाई पढाउँदै गर्नुस् भनेर पछाडि गएर बसे । वहाँले कक्षा सकियो घण्टि लाग्नेबेला भयो भन्नुभयो । मैले वहासँग अनुमति लिएर बोर्डमा लेखेको कुरा हटाएँ र iv भनेको कति हो भनेर सोधेँ, तीन जना मध्ये एकजनाले मात्र मिलाए ।

शिक्षकले तुरुन्तै उनीहरु नियमित आउँदैनन भन्दै ती नजानेका दुवैजना विद्यार्थीको हाजिरी देखाउन थाल्नुभयो । उनीहरू नियमित नआएका होलान् ठिकै छ, तर आज आएका छन्, तपाईँले आज जे पढाउनु भयो त्यो कुरा त जान्नु प¥यो नि ? मैले प्रश्न गरे ।

यिनीहरू नियमित आउँदैनन्, बुझ्दैनन् । दश बाह्र दिनपछि हिजो र आजमात्र आएका शिक्षकको थप प्रष्टोक्ति थियो । मैले फेरी त्यही कुरा दोहोराए, ठिकै छ, नियमित आउँदैनन् तर आएको दिन पढाएको कुरा त जान्नु पर्ला नि । आज तपाईँले १ देखि ५ सम्मको रोमन सङ्ख्या पढाउनु भयो ३ जनालाई । आज पढाएको रोमन सङ्ख्याको वारेमा जान्नलाई हिजो आएको हुनैपर्छ र ? यति कुरा गर्दै गर्दा अर्को विषय पढाउन शिक्षिका आउनुभयो म पनि गणित शिक्षकसँगै कक्षा २ बाट बाहिरीएँ ।

अवस्था यस्तो छ, विद्यार्थीले नसिकेको हो वा सिकाउन नसकेको हो ? उनीहरुले नजान्नुको कारण के हो ? नआएर नजानेका हुन कि नजानेर नआएका हुन् ? हामी सधै रटान लगाएका छौँ, नियमित आउँदैनन् त्यसैले जान्दैनन् तर हामीले सोचेकै छैनौँ उनीहरु जान्दैनन् त्यसैले नियमित आउँदैनन् । नियमित आउने बनाउन जान्ने पनि बनाउनु पर्छ । विद्यार्थी नियमित नआउनुको कारण विद्यार्थी र अभिभावक मात्र हो कि ? शिक्षकको व्यवहार, विद्यालयको वातावरण, सिकाउने शैली तथा समग्र विद्यालय पनि हो ? आउँदैनन् जान्दैनन् भनिरहने कहिलेसम्म । आउने बनाउने कसरी ? के गरे आउलान् ? चिन्तन मनन गर्ने, अभिभावकलाई भेट्ने, छलफल गर्ने कि आउँदैनन् भन्यो सकियो ?

विद्यार्थी विद्यालय नआउने कारणमा एउटा र अर्को विद्यार्थीको मिल्दैन, एउटा विद्यालय र अर्को विद्यालयको मिल्दैन । माथीको उदाहरण खोटाङ्को सदरमुकाम नजिकैको एक विद्यालयको हो । उक्त विद्यालयमा विद्यार्थी नआउने कारण र सदरमुकामको विद्यालयको विद्यार्थी नआउने कारण फरक होला ? काठमाण्डौको विद्यालयको फरक होला, चितवनमा फरक होला ? देशका सबै ठाउँको साझा समस्या विद्यार्थी अनियमिततालाई देखेका छौँ ।

मैले उदाहरणमा प्रस्तुत गरेको खोटाङ्कै विद्यालयको कुरा गरौँ कक्षा १, २ जस्तै गरी कक्षा ८ सम्म सामान्य अवलोकन गरी खाजा खाने समयमा कार्यालयमा सबैजनासँग बसेर गफ गरँ । उपस्थित सबै शिक्षकले विद्यार्थीको नियमितताको समस्या भन्नुभयो । मैले भने शैक्षिक सत्र सुरु भएदेखि आजसम्म कति दिन विद्यालय खुल्यो ? कति दिन पुरै पढाइ भयो ? र कुन कुन विद्यार्थी कुन कुन दिन विद्यालय आएन भन्न सक्नुहुन्छ ? कसैसँग पनि यसको जवाफ थिएन । हाजिरीबाट निकाल्नै पनि यो कठिन थियो वहाँहरुका लागि । एउटा बनिबनाउ उत्तर छ, विद्यार्थीले किन जानेनन्, नियमित नआएर, आउँदाको दिन किन जानेनन्, हिजो नआएर । आएकाले जानेका छन् ? आएकाले पनि ध्यान दिदैनन्, गृहकार्य गर्दैनन्, अभिभावकले चासो दिदैँनन् । के हामी यसरी रुमलिएरै सामुदायिक शिक्षा सुधार हुने हो ? के स्थानीय सरकारले अब सबै विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित गराउँछन् ? के सिकाइ नहुनुका लागि नियमित उपस्थिति मात्र कारण हो ?

हरेक विद्यार्थीलाई भोलिपल्ट तिमी हिजो किन आएनौ ? भनेर नम्र तरिकाले सोधौँ, उत्तर दिए पनि ठिकै छ, नदिए ठिकै छ । झर्कि फर्कि गर्दै हिजो किन नआएको, कहाँ गाथिस् ? भन्दै नतर्साउँ । साना कक्षाबाटै यस्तो बानी लगाउँ । हिजो तिमी नआउँदा रमाइलो भएन, हामीले कथा भनेका थियौँ, गीत गायौँ, भोलि आउने है । भन्न पनि सिकौँ । गाउँमा एउटा शिक्षक घर फर्कदा ४ जना अभिभावक बाटामा भेट हुन्छन्, यसौ औपचारिकता निभाउँ, हाइ हेलो गरौँ, अनि नानी बाबुको पढाइको कुरा गरौँ, विद्यालय नआएका भए किन पठाउनु भएन ? भनेर सोधौँ, आएका भए घरमा कति पढ्छन सोधौँ । अभिभावकलाई ध्यान दिन लगाऊँ । चौतारोमा तास खेलेर, चिया खाएर बसेका अभिभावकलाई स्कुल आउन भनौँ । विद्यार्थीलाई आफ्ना अभिभावकसँग शिक्षकले कुरा गर्नुहुन्छ भन्ने होस् । अभिभावकलाई पनि शिक्षकले छोराछोरीको पढाइको वारेमा कुरा गर्नुहुन्छ भन्ने होस् ।

मैले कहिलेकाँही भन्ने गर्छु समस्या खोजे एक सय एक, उपाय खोजे तीन सय दुई । हामी समस्या मात्र खोज्ने कि समाधानका उपाय पनि ।
हामीले कक्षाकोठामा सुधार नगरी सामुदायिक शिक्षा सुधारको स्वैरकल्पना गरिरहनु कति सान्र्दभिक होला । स्थानीय सरकारका पदाधिकारीहरुले कस्तो योजना बनाउनु भएको छ खै ?स्थानीय सरकारले सामुदायिक शिक्षा सुधार गर्छन्, गर्छन् भनेर रटान लगाउँदा के के सुधार गर्छन् ? कसरी सुधार गर्छन् ? विग्रिएको के हो ? सुधार के मा गर्ने हो ? के भए सुधार हुने हो ? हामी कुरा गर्नेहरु आफैँ कति प्रष्ट छौँ ? स्थानीय तहबाट शिक्षकको तलब, विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण गरेर मात्र सामुदायिक शिक्षा सुधार हुने होला त ? कि हरेक स्थानीय निकायमा (३० देखि १४० सम्म सामुदायिक विद्यालय भएका, एकदिनमा एकबाट अर्कोमा मुश्किलले पुग्न नसकिने भुगोल भएका) एकजना शिक्षाका अधिकृतलाई खटाएर ?

कुरा जे गरे पनि, कारण जे देखाए पनि, दोष जसलाई लगाए पनि विद्यालयभित्र पसेको विद्यार्थीले अभिभावकको चाहना पूरा हुने गरी सिकाउने अवस्था नहुँदा सम्म कुनै पनि ओखतिले हाम्रो रोग निको हुने छैन ? विद्यार्थी किन नियमित आउँदैनन् र नियमित गराउने उपाय के होलान् ? छलफल र वहस गरौँ तर वर्षौदेखि यस्तै बहानामा अलमल नगरौँ । सुधार हामीले गर्ने हो । त्यो भनेको कक्षाकोठाबाट शुरु गर्ने हो ।

स्थानीय सरकारका पदाधिकारीले पनि यसलाई मनन् गरेर सुधारका प्रयासको थालनी गरौँ । कुरा होइन, काम गरौँ, काम पनि देखाउने होइन देखिने र नतिजा आउने गरी गरौँ । धन्यबाद ।