Latest Book

सामुदायिक शिक्षा सुधारको स्वैरकल्पना

नेपालको विद्यालय शिक्षाको अवस्था मूल्याङ्कन गर्ने एकमात्र आधार भनेको वि.सं. १९९० देखि चलेको एसएलसी परीक्षा नै थियो । विद्यालय शिक्षालाई कक्षा १२ सम्म बनाएको हालको अवस्थामा कक्षा १० र १२ को नतिजाले यसको मूल्याङ्कन गर्न सकिएला तर अक्षराङ्कन पद्धतिमा गएपछि यसलाई सबैले सरल तवरले बुझ्न नसकिने भएको छ ।

गुणस्तरीय शिक्षा के हो भन्ने सन्दर्भमा मतैक्यता नहुँदानहुँदै पनि विद्यार्थीले परीक्षामा प्राप्त गर्ने अङ्क वा उसको सिकाइ स्तर गुणस्तरको एउटा सूचक हो भन्ने कुरामा करिब करिब सहमतिजस्तो देखिन्छ । यस आधारमा हेर्दा नेपालका सामुदायिक विद्यालयको सिकाइ अवस्था अत्यन्त कमजोर अवस्थामा भएको तथ्य विभिन्न अनुसन्धानहरूले नै प्रमाणित गरेका छन् । विद्यार्थीको सिकाइका लागि थुप्रै कारकतत्व जिम्मेवार भएपनि सबैभन्दा महत्पूर्ण तत्व शिक्षक हो । यस अर्थमा शिक्षकको गुणस्तरले विद्यार्थीको सिकाइलाई प्रत्यक्ष असर पार्छ । कुनै पनि देशका शिक्षकको गुणस्तरभन्दा शिक्षा प्रणाली गुणस्तरीय हुन सक्दैन भन्ने मान्यता पनि छ ।

हाल नेपालका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको गुणस्तरको सन्दर्भमा कुनै विश्वससनीय अनुन्धान भएको त छैन् । विश्वविद्यालय तथा उच्च माध्यमिक तहको शिक्षाशास्त्र संकायको गुणस्तर, यसको उत्तीर्ण प्रतिशत, शिक्षा पढ्ने विद्यार्थीको सिकाइस्तर, उनीहरूले प्रवेशिका परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क, शिक्षा विषय पढाइ हुने उच्चमाध्यमिक तथा विश्वविद्यालयका क्याम्पसहरूको अवस्था जस्ता पक्षले शिक्षा विषय पढ्ने विद्यार्थी कमजोर भएको पुष्टि गर्छ । उच्चमाध्यमिक तहमा २४८८ सामुदायिक र १०६ ओटा निजी विद्यालयले शिक्षा विषय पढाउँछन् । यो तथ्यले के पुष्टि गर्छ भने निजि विद्यालयले शिक्षा विषय पढाउँदैनन् किनकी त्यहाँ राम्रा विद्यार्थीले शुल्क तिरेर पढ्दैनन् । सामुदायिकमा पनि सबैभन्दा सस्तो शुल्क शिक्षा विषयमा हुन्छ ।

त्रिभुवन विश्विद्यालयका सम्बन्धनप्राप्त कलेजमध्ये ५९१ र २६ आंगिक क्याम्पसमा शिक्षा विषय पढाइ हुन्छ । शिक्षा विषयका क्याम्पस जताततै खुल्ने लहर चलिरहदा साधारण शिक्षातर्फ सबैभन्दा बढी विद्यार्थीले शिक्षा विषय पढ्छन् । शिक्षाशास्त्र संकाय अन्तर्गत सबैभन्दा बढी ऐच्छिक स्वास्थ्य तथा शारीरिक शिक्षा पढ्ने विद्यार्थी छन् र सबैभन्दा कम विज्ञान शिक्षा । शिक्षा विषय पढाइ हुने विद्यालय र क्याम्पसको चाप खासगरी दुर्गम जिल्ला र ग्रामीण क्षेत्रमा बढी देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको सूचना अनुसार सुदूरपश्चिमका ७ पहाडी जिल्लाका २२३, मध्यपश्चिमका भेरी र कर्णालीका १० जिल्लाका २३१ तथा पूर्वाञ्चलका मेची र कोसीका १० जिल्लाका ३९९ विद्यालयमा शिक्षा विषय पढाइ हुन्छ । नेपालमा शिक्षक तयारी कोर्षको गुणस्तर नै कमजोर छ ।

त्रिविका एउटा कक्षामा १०० जनाभन्दा बढी राखेर पढाएर तालिमप्राप्त गुणस्तरीय शिक्षक तयार गर्ने गरिएको छ । शिक्षाशास्त्र संकायमा अनिवार्य अंग्रेजी पढ्नु नपर्ने व्यवस्था हुञ्जेल अंंग्रेजी पढन नपर्ने भएकाले यो विषयमा विद्यार्थीको चाप बढ्यो र ती विद्यार्थीहरु नै शिक्षक बने । अध्यापन अनुमति पत्रको व्यवस्था हुनु पहिले ११ र १२ कक्षामा २०० पूर्णाङ्कमात्र शिक्षा विषय पढेर शिक्षक बन्ने योग्यता र तालिम प्राप्त भए । हालपनि कक्षा ११ मा ५० पूर्णाङ्कको शिक्षण विधि मात्र पढेर तालिम प्राप्त शिक्षक बन्न पाइने व्यवस्था छ । शिक्षाशास्त्र संकायमा न त पर्याप्त शिक्षण विधि सिकाइन्छ न त पर्याप्त विषयवस्तु नै पढाइन्छ । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको उत्तीर्ण दर निकै निराशाजनक छ । र यही संकाय पढ्ने मात्र शिक्षक बन्न पाउने व्यवस्था छ ।

शिक्षा विषय पढाइ हुने कलेज तथा विद्यालयहरू दुर्गम र ग्रामीण क्षेत्रमा बढी छन् । ती विषय पढाउने शिक्षकको सक्षमता पनि कमजोर रहेको छ । विश्वविद्यालयको पढाइलाई योग्यता र तालिम दुवै मानिएको अवस्था छ । गुणस्तरीय शिक्षक विकासका लागि कसैको पनि ध्यान पुग्न सकेको छैन् । विद्यालयमा कमजोर शिक्षकबाट शिक्षण गराई गुणस्तरीय सिकाइ प्राप्त हुन सक्दैन भन्ने तथ्य विर्सन मिल्दैन । सिंगापुर, फिनल्याण्ड, जापान, कोरीयामा शिक्षक बन्नका लागि चाहिने गुणस्तरको वारेमा चर्चा भइरहन्छ तर नेपालमा शिक्षकको गुणस्तरको वारेमा पर्याप्त चर्चा भएको पाइँदैन् । सरकारी निकायबाट सञ्चालन हुने तालिमको गुणस्तर पनि अत्यन्तै कमजोर छ र यो कक्षाकोठामा विरलै मात्र उपयोग हुने गरेको छ ।

अन्य विषयमा स्नातक गरेका विद्यार्थीले शिक्षामा एकवर्षे बी.एड. गरेर तालिम लिएको मान्ने चलन छ । क्याम्पसमा उपस्थिति नै नभई शिक्षण अभ्यासका प्रव्रिmया पुरा गर्ने र गाइड र गेसपेपर पढेर परीक्षा उत्तीर्ण गरेकै भरमा तालिमप्राप्त शिक्षक बन्न सकिने हाम्रो बिडम्बना नै हो । त्रिविका शिक्षाशास्त्र संकायका क्याम्पसमात्र होइन पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको एकवर्षे बी.एड. कार्यव्रmम भर्ना गर्ने परीक्षामा उपस्थिति हुने र फोटोकपि गरेका रिपोर्ट र पाठयोजना बुझाएर प्रमाणपत्र उपलब्ध हुनेसम्मको अवस्था छ ।

विभिन्न सामाजिक साँस्कृतिक कारणहरूले छात्राहरूको सिकाइस्तर कमजोर छ । र शिक्षाशास्त्र संकाय छात्राहरूको रोजाइको संकाय भएको देखिन्छ । शैक्षिक सत्र २०७३ मा उच्च माध्यमिक तहको कक्षा ११ मा शिक्षा विषयमा भर्ना हुने छात्रा ६५ प्रतिशत रहेका थिए भने विश्वविद्यालय अनुदान आयोगको २०७३ को प्रतिवेदन अनुसार पनि उच्च शिक्षाको शिक्षा संकायमा ६५ प्रतिशत छात्राहरू रहेका थिए ।
वि.सं. १९९० देखि २०७२ सम्म बयासी वर्षको इतिहास हेर्दा हाम्रो सामुदायिक शिक्षाको सिकाइस्तर विगतमा पनि राम्रो थिएन, अहिले पनि राम्रो छैन् र भोलिका दिनमा पनि सुधार हुने संभावना न्यून छ । बयासी वर्षमध्ये सबैभन्दा बढी २७ वर्षको नतिजा ३० देखि ४० बीचमा रहेको थियो । माथि चर्चा गरिए अनुसार शिक्षाको गुणस्तरका लागि शिक्षकको गुणस्तर पूर्वशर्त हो । वर्षौदेखि अस्थायी, राहत र निजीको भरमा सामुदायिक विद्यालय भरथेग गरेर चलिरहेका छन् । शिक्षक बन्नका लागि शिक्षा विषय पढेको हुनुपर्ने अनिवार्य व्यवस्थाले नेपालको सामुदायिक शिक्षा झनै कमजोर हुँदै गएको हो कि भन्ने प्रश्न उठाएको छ ।

शैक्षिक नीति निर्धारणको माथिल्लो निकाय शिक्षा मन्त्रालयले कक्षा ११ पढ्नका लागि तोकिएको मापदण्डमा जिपीए १.६ ल्याउनेले शिक्षा विषय पढ्न पाउँने भन्ने निर्धारण गरिएको छ । यसको आधारमा हेर्दा तुलनात्मक रुपमा एसइइमा कमजोर उपलब्धि हासिल गर्नेहरू शिक्षा विषय पढ्दैछन् र भविष्यमा अहिले यी कमजोर विद्यार्थीहरू नै सामुदायिक विद्यालयका शिक्षक हुनेछन् । पङ्तिकारले सङ्कलन गरेको खोटाङ, नुवाकोट, ललितपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँची र जाजरकोटबाट हाल १२ कक्षामा शिक्षा विषय पढीरहेका ३३५ विद्यार्थीको विवरण अनुसार एसइइमा जिपीए १.६ देखि २ सम्म ल्याउने ४८ प्रतिशत रहेका छन् । जिपीए १.६ ले विद्यार्थीको सिकाइलाई आंशिक स्वीकारयोग्य भनेर व्याख्या गरेको छ र यही समूह अहिले शिक्षा विषय अध्ययन गरिरहेको छ र भोलि यही समूह शिक्षक हुनेछ । त्यसैगरी ३५ प्रतिशतको जिपीए २ देखि २.५ को बीचमा रहेको छ, जुन सिकाइको सामान्य अवस्था हो ।

शिक्षण पेसाका लागि शिक्षा विषय पढ्ने विद्यार्थीको अवस्था, शिक्षा विषय पढाउने कलेज तथा विद्यालय, ती कलेज विद्यालयका शिक्षक, शिक्षण सिकाइको प्रक्रिया र शिक्षा विषयमा देखिएको भीडले अबको दशौँ वर्षपनि नेपालको सामुदायिक शिक्षा सुधार हुन कठिन छ ।

गुणस्तरीय शिक्षकको अभावमा सामुदायिक शिक्षा सुधारका विषय स्वैरकल्पना मात्र हुन । जुनसुकै विषय पढेका र अध्यापन अनुमति पत्रको व्यवस्था कार्यान्वनय नगरेका शिक्षकबाट नीजि विद्यालयले अभिभावकको विश्वास जित्न सकेका छन् र विद्यार्थीले सिकाउने कुरामा सफल देखिन्छन् । तर प्रशस्त सेवा सुविधा, शिक्षा विषयमात्र पढेको (जसलाई तालिम समेत मानिन्छ ।), सरकारी निकायका थुपै्र तालिम लिएको र अध्यापन अनुमति पत्र समेत भएको शिक्षकबाट सामुदायिक शिक्षाको सिकाइ सुधार हुन सकेको छैन । यसका लागि एसइइको नतिजा, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेका सिकाइ उपलब्धि परीक्षणको नतिजा तथा प्रारम्भिक पठन सिप परीक्षणका न्यून उपलब्धी देखिएका प्रमाणहरु पर्याप्त छन् ।

गुणस्तरीय शिक्षक विना सामुदायिक शिक्षा सुधार हुन सक्दैन । विद्यालय राम्रा हुन विद्यालयमा राम्रा शिक्षक हुनैपर्छ । पेसागत प्रतिवद्धता, उच्च व्यवसायिकता र विषयगत सक्षमता नभई कक्षाकोठाको सिकाइ प्रभावकारी हुन सक्दैन् । शिक्षक बन्नका लागि शिक्षा विषयमात्र पढेको हुनुपर्ने व्यवस्था खारेज गरी अध्यापन अनुमति पत्रको व्यवस्थामा आमूल परिवर्तन नगर्दासम्म सामुदायिक शिक्षा सुधार कठिनमात्र होइन, असंभवप्राय नै छ ।