About
शिक्षालाई आफ्नो कर्मक्षेत्रको बनाएका आचार्यले सामुदायिक विद्यालयको सुधार, समग्र शैक्षिक प्रणालीमा चिन्तन, सामुदायिक शिक्षा सुधारमा स्थानीय तहको भूमिका, शैक्षिक योजना र नीति तथा कक्षाकोठाको शिक्षण सिकाइ, शिक्षण विधि र मूल्याङ्कनका विविध पक्षमा सुधारका लागि वहस र पैरवी गरिरहेका छन् ।
समग्र शैक्षिक प्रणालीमै फरक विचार प्रस्तुत गरिरहेका देवीराम आचार्यका दैनिक पत्रपत्रिका तथा अनलाइनमा दर्जनौं लेखहरू प्रकाशित छन् । औपचारिक शिक्षा प्रदान गर्ने थलो विद्यालय हो, त्यसैले विद्यालयको पहिलो र प्राथमिक दायित्व औपचारिक सिकाइ हो र अन्य दोस्रो हुन भन्ने तर्क गर्छन उनी ।
सामुदायिक शिक्षा सुधारको इन्जिन विद्यालय हो र त्यो इन्जिनलाई बलियो नबनाई गरिने सामुदायिक शिक्षा सुधारका क्रियाकलाप प्रभावकारी हुन नसक्ने मत राख्दै शिक्षक र प्रअले चाहेमा मात्रै त्यो इन्जिन सफा हुन सक्छ भन्ने दरिलो विश्वास बोकेका आचार्यले काठमाण्डौ विश्वविद्यालयबाट पाठ्यक्रम तथा शिक्षणमा एमफिल र त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।
कोभिड महामारीमा वैकल्पिक सिकाइका विभिन्न मोडेल (क्लिनिक मोडेल, पेनड्राइभ/मेमोरी कार्ड, अडियो सर्भिस, फोनबाटै सिकाइ) को वारेमा वकालत पनि निरन्तर वहस र पैरवी गरेका छन् । शिक्षण सिकाइको रुपान्तरण, रणनीतिक विद्यालय सुधार योजना र सामुदायिक शिक्षाको सुधारका विषय उनका रुचीका क्षेत्रमा पर्छन् ।
– Education Plus