कक्षाकोठामा आधारित द्रुत परीक्षण (Rapid Classroom Assessment) के किन र कसरी
Rapid Classroom Assessment to know Student Learning Status Better
कोभिड महामारी कम हुँदै गएपछि विद्यालयको पठनपाठन नियमित भयो, तर विद्यार्थीको सिकाइ के कस्तो अवस्थामा छ, कोभिडको समयमा कसको सिकाइ क्षति कति भयो र कसले कति सिके भन्नेमा पर्याप्त ध्यान पुग्न सकेन । पाठ्यपुस्तकको पाठ शुरु भयो । पाठ सकियो । जान्ने २।४ जनाले राम्रै गरे । बाँकी आधा जतिले ठिकै सिके अरुले जान्दैनन भन्ने त थाहा थियो, तर के जान्दैनन वा के जान्दछन भन्ने थाहा थिएन र भएन । शैक्षिक सत्र सकियो । परीक्षा भयो । कापीमा जे जस्तो अङ्क आए पनि ग्रेड सिटमा माथिल्लो कक्षाको लागि योग्यता पूरा भयो ।
अघिल्ला हप्ता एसइइको नतिजा प्रकाशन भएपछी एकहप्ता मात्र सिकाइका कुरा भए । कोभिडले सिकाइमा क्षति पुगेका चर्चा भए । ती सेलाइसके र अब बन्द भए । ती वहस अर्को वर्ष मात्र फेरी हुनेछन् र गतिविधि उसैगरी चल्नेछ, किताबका पाठ सकाउने । पाठ सकाउनु र विद्यार्थीलाई सिकाउनुमा ठूलो भिन्नता छ तर हामीलाई पाठ सकाउनुमा मजा छ । स्कुलमा पुस माघ तिरै मेरो त पाठ सकियो भन्न पाउँदाको मजा बेग्लै छ । अब हामी पाठ सकाउने अभियानबाट मुक्त हुनैपर्छ ।
हरेक विद्यालयले आफ्ना बालबालिकाहरुको सिकाइस्तर कुन तहमा छ ? त्यसको लेखाजोखा प्रभावकारी ढङ्गले गर्नुपर्छ । फेरी पनि कोभिडको बहाना बनाउनु हुँदैन । विद्यार्थी अनुसार सिकाइको प्रोफाइल बनाउनु पर्छ । कुन विद्यार्थीले के के सिके, सिकाउनु पर्ने विषय के के छुटे ? अघिल्लो कक्षाकै सिकाइ बाँकी छ कि ? सिकाइ क्षति कति भएको छ, त्यसको परिपूरण कसरी गर्ने ? यी विषयमा रणनीतिहरु तय गर्नु पर्छ र त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।
पालिकाहरुले विद्यालयहरुलाई यो विषयमा सहजीकरण गर्नुपर्छ । विदाहरु कटौती गर्न सकिन्छ कि ? विदा कटौती गर्दा शिक्षकहरूलाई कसरी प्रेरीत गर्ने ? अतिरिक्त समय शिक्षण सिकाइको व्यवस्थापन गर्न सकिन्छ कि ? अतिरिक्त समयको व्यवस्थापन कस्ता विद्यार्थीका लागि गर्ने ? अभिभावक परिचालन कसरी गर्ने ? शिक्षकहरुलाई परिचालन र प्रेरणाका लागि के गर्ने ? शिक्षकका लागि थोरै सुविधा थप गर्न सकिन्छ कि ? यी विषयमा पालिकाहरुले विशेष ध्यान दिनु आवश्यक छ । अन्यथा विद्यालय खुलेका छन् । नियमानुसार पठनपाठन भइरहेको छ, नियमानुसार परीक्षा हुनेछ तर कोभिडले पारेको शैक्षिक क्षति पूर्ति हुनेछैन र अर्को वर्ष पनि हामीले भन्नेछौं कोभिडले गर्दा यस्तो भयो ।
विद्यालयहरुले लिएका वार्षिक परीक्षाका उत्तरपुस्तिकाहरुको विश्लेषण गर्न पनि सकिन्थ्यो, त्यो हुन सकेन । कक्षाकोठामा शिक्षकहरुले द्रुत परीक्षण गरेर पनि सिकाइ अवस्थाको यथार्थ जानकारी लिन सकिन्छ । शिक्षकले विद्यार्थीको सिकाइ अवस्थाको वास्तविक स्तर पत्ता लगाउन अनौपचारिक तवरले कक्षाकोठामा गर्ने किफायती, छोटो र छरितो परीक्षण विधि कक्षाकोठामा आधारित द्रुत परीक्षण हो ।
What is Rapid Classroom Assessment ?
RCA यस्तो परीक्षण हो, जुन परीक्षण सम्बन्धित कक्षामा विद्यार्थीले न्यूनतम सिकेको हुनुपर्ने विषयका छोटा र छरिता वस्तुगत प्रश्नमा आधारित हुन्छ । यसमा शिक्षकहरूले पूर्णत: अनौपचारिक तवरबाट हरेक विद्यार्थीको सिकाइ अवस्था पहिचान गर्नका लागि न्यूनतम सिकाइ सक्षमताको मात्र मापन गर्ने गरी छोटा, लिखित, मौखिक, गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, समूह कार्यहरूको प्रयोग गर्न सक्छन् । एकदिनमा एउटा शिक्षकले आफूले अध्यापन गर्ने चार विषय सम्मको परीक्षण गर्न सक्छन् । शिक्षकले छरितो खालको परीक्षण साधन बनाउने र कक्षामा सबैलाई परीक्षा लिने । कक्षामा बसेर कुन प्रश्न कुन विद्यार्थीले मिलायो र कुन मिलाएर विश्लेषण गर्ने । त्यो खास प्रश्न मिलाउनेले सिकेको कुरा के हो ? र नमिलाउनेले सिक्न बाँकी के हो ? पहिचान गर्ने ? सो आधारमा समूह बनाउने ।
यो विधि आधारभूत तहको कक्षा ५ सम्मको foundational learning मापन गर्नका लागि धेरै नै प्रभावकारी हुन्छ भने माथिल्ला कक्षामा शिक्षकले थप मेहनत गर्नुपर्छ ।
प्रश्नहरु ज्यादै सरलबाट जटिलताको क्रममा मिलाउनु पर्छ । उदाहरणको लागि कक्षा ५ मा गणितको परीक्षण गर्ने हो भने पहिलो प्रश्न सरल जोडसँग सम्बन्धित, दोस्रो जोडको जटील प्रश्न, तेस्रो सरल प्रकारको घटाउ, चौथो जटिल प्रकारको घटाउ, पाँचौ र छैठौं गुणन, सातौं र आठौं भाग, प्रश्न ९ र १० प्ततिशत १० र ११ मा भिन्न, १२ मा दशमलवसँग सम्बन्धित गर्दै क्रमश २० देखि २५ सम्म वस्तुगत प्रश्न र छोटो उत्तर आउने प्रश्न सोध्न सकिन्छ । विद्यार्थीले तलबाट क्रमश कति नम्बर प्रश्न सम्म सही उत्तर दिएको छ, सो आधारमा उसको सिकाइ अवस्था जानकारी हुन्छ । यस्तै अङ्ग्रेजीमा साधारण reading text, and describe own slef in 5 sentence भनेर २ वटा थोरै जटिल २ वटा सोध्न सकिन्छ । नेपालीको केही अनुच्छेद पढन दिएर पठन सिप र एउटा अनुच्छेद लेख्न दिएर लेखन सिप मापन गर्न सकिन्छ ।
हरेक विद्यालयले कक्षाकोठाको पठनपाठनलाई नियमित रुपमा सञ्चालन गर्दै कक्षाकोठामा आधारित द्रुत परीक्षण मार्फत बालबालिकाहरूको सिकाइ अवस्था पहिचान गर्ने र सोही अनुसार शिक्षण सिकाइका रणनीतिहरु तय गर्नुपर्छ । यस्ता सिकाइ रणनीतिमा सिकाइस्तर अनुसारका विद्यार्थीलाई समूहकृत गर्न सकिन्छ । वैयक्तिक शिक्षण वा अतिरिक्त शिक्षण आवश्यक पर्ने विद्यार्थी पहिचान गर्न सकिन्छ । अभिभावकसँग सहकार्य गर्ने विषयहरु पहिचान गर्न सकिन्छ । हाम्रो विद्यालय शिक्षाको सिकाइ अवस्था यसै पनि कमजोर नै हो, यसमा कोभिडले अझ कमजोर बनाएको छ । यस अर्थमा अबको केही समय सिकाइमा मात्र जोड दिनु बढी सान्दर्भिक हुन्छ ।
कक्षाकोठामा आधारित द्रुत परीक्षणमा हरेक विषय शिक्षकले आफूले शिक्षण गर्ने विषयको न्यूनतम सिकाइ सक्षमताहरू तय गर्नुपर्छ । अघिल्लो वर्षको र यो वर्षका कक्षागत र विषयगत न्यूनतम सिकाइ सक्षमताहरुको लागि छोटा र विशिष्ट सिकाइको मापन गर्ने प्रश्नहरु तयार गर्ने र हरेक बालबालिकाहरुलाई ती प्रश्नबाट शिक्षण सिकाइ सञ्चालन भइरहेकै समयमा परीक्षण गर्दै उनीहरुको सिकाइ अभिलेखीकरण गर्ने र सोहि अनुसार सिकाइ रणनीति तय गर्न सकिन्छ ।
कक्षाकोठामा आधारित द्रुत परीक्षण सञ्चालन शिक्षकले आफ्नो विषय अनुसार तयार गरेका न्यूनतम सिकाइ सक्षमताको मात्र आधारमा गर्नेछन् । यसमा कुनै तोकिएको वा संरचनामा प्रश्नहरु हुनुपर्दैन । विशिष्टीकरण तालिका अनुसरण गर्नुपर्दैन । परीक्षा तालिका निकाल्नु पर्दैन । प्रश्न छपाई गर्नु पर्दैन । शिक्षकले पाठ शुरु गर्नु पहिला त्यो पाठ सिक्न आवश्यक पर्ने विद्यार्थीको न्यूनतम सिकाइ सक्षमता के हो त्यसका आधारमा लिखित वा मौखिक रुपमै पनि परीक्षा सञ्चालन गर्न सक्छन तर सबैभन्दा महत्वपूर्ण पक्ष हरेक विद्यार्थीको अवस्थालाई अभिलेखीकरण गरेको हुनुपर्छ । धेरै विद्यार्थी भएको कक्षामा यो केही जटील हुन सक्छ, त्यसका लागि २ जना शिक्षकले सहकार्य गरेर गर्दा सजिलो हुन्छ ।
साना बालबालिकाका लागि कक्षाकोठामा आधारित द्रुत परीक्षणमा गणित र भाषाका न्यूनतम सिक्नुपर्ने विषयहरुलाई छोटो तालिका वा कालो वा सेतो पार्टीमा लेखेर एक एक जनालाई ती प्रश्नको उत्तर दिन लगाउँदै अभिलेखीकरण गर्न सकिन्छ । अक्षर, मात्रा, शब्द र वाक्य पठन क्षमता, पठनबोध, श्रुतीबोध जस्त भाषिक सिप र सङ्ख्याको ज्ञान, जोड, घटाउ, गुणन भाग लगायतका आधारभूत सिपहरूको परीक्षण गर्न सकिन्छ ।
कक्षा अनुसार माथिल्ला कक्षामा अलि औपचारिक हुन सक्छ तर यसका लागि शिक्षकहरू आफैले योजना बनाउनुपर्छ । यस्तो परीक्षाबाट प्राप्त सूचनाहरुलाई एकदमै मसिनो गरी विश्लेषण गरेर हरेक विद्यार्थीको अवस्था पहिचान गरी सोही अनुसार शिक्षणको रणनीति तय गर्नुपर्छ । बालबालिकाकाको सिकाइका लागि स्थानीय सरकार, विद्यालय अभिभावक सबैको जिम्मेवारी रहेको हुन्छ । शिक्षक तथा विद्यालयले अभिभावकसँग सहकार्य गर्नुपर्छ भने विद्यालयले पालिकासँग आवश्यक सहयोग माग गर्नुपर्छ । पालिकाहरु पनि विद्यालय सञ्चालन गर्ने र भौतिक विस्तारका देखावटी कार्यक्रमबाट माथि उठी कक्षाकोठाको शिक्षण सिकाइलाई सुधार गर्नेतर्फ जोड दिनु आवश्यक छ । विद्यालयहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने र शिक्षकहरूको क्षमता विकास तथा उत्प्रेरणाका कार्यक्रममा जोड दिनुपर्छ ।
कस कसले प्रयोग गर्न सक्छन् ?
शिक्षकले आफ्नो विषयका सिकाइ अवस्था पहिचान गर्न र विद्यालयले समग्र विद्यालयको वा अर्को विद्यालयबाट आएका नयाँ विद्यार्थीको, लामो विदापछि विद्यालय खुल्दाको सिकाइ अवस्था जानकारी लिन, अतिरिक्त शिक्षण गर्नुपर्ने विद्यार्थी पहिचान गर्न सकिन्छ । पालिकाले पनि यस्तै परीक्षणबाट पालिकाको अवस्था पहिचान गरी आवश्यक रणनीति तय गर्न सक्छन् । प्रदेश सरकारले गर्न सक्छन् र संघीय सरकाले पनि । पालिकाले कक्षा ८ को उत्तरपुस्तिकाको विश्लेषण गरेर सिकाइ अवस्थाको यथार्थ जानकारी लिन सक्छन् । यस्तै संघले कक्षा १० को उत्तरपुस्तिकाको विश्लेषणबाट पनि लिन सक्छ । कक्षा ३ को वा ५ को आधारभूत सिकाइ अवस्थाको जानकारी लिनका लागि सहजै तरिकाले कुनै एकजना व्यक्तिले एक दिनमा एउटा विद्यालयमा ३ विषय सम्मको परीक्षण गर्ने र तथ्याङ्क विकास गर्न पनि सक्छन् । यसका लागि तालिमप्राप्त परीक्षक, व्यवस्थित अङ्कन निर्देशिका र तथ्याङ्क व्यवस्थापनका लागि स्मार्ट फोन वा ट्यावलेटको प्रयोग गर्न सक्छन् । विषय विज्ञको सहभागितामा एक हप्तामा प्रश्नहरु, गुणस्तरीय अङ्कन निर्देशिका, १ दिन पूर्व परीक्षण, पुन प्रश्न परिमार्जन र ५ दिन परीक्षकलाई तालिम दिएर यस्ता परीक्षण सहजै रुपमा सञ्चालन गर्न सकिन्छ । सबै विद्यालयमा यस्ता परीक्षण गर्न परीक्षणका साधन र कार्यविधि बनाएर पालिकामार्फत विद्यालयहरुलाई नै दिन पनि सकिन्छ ।
यदि १०० जना परीक्षकहरुलाई परिचालन गरियो भने १ दिनमा देशभरका १०० विद्यालयको तथ्याङ्क अनलाइनबाटै एकैठाउँमा सङ्कलन गर्न सकिन्छ र १० दिनमा १ हजार विद्यालयमा परीक्षण गर्न सकिन्छ । चार पाँच जनाको प्रतिवद्ध समूह र काममा अवरोध नहुने अवस्था भने आवश्यक हुन्छ । सिकाइ क्षति न्यूनीकरण हाम्रो प्राथमिकता हो होइन भन्नेमा स्पष्ट हुनु आवश्यक छ ।