परीक्षाका नाथे प्रश्न : जे गरे पनि हुन्छ र ?
जब विद्यालय शिक्षा र उच्च शिक्षामा पनि प्रयोग हुने परीक्षाका प्रश्नहरुको सामान्य विषय उठ्छ, करिब आठ वर्ष अगाडि एक शिक्षकका नेताले प्रश्न निर्माण सम्बन्धी कार्यशालामा “नाथे प्रश्न बनाउन थालेको तीस वर्ष भयो, हामीलाई सिकाउन खोज्ने ।” भन्नु भएको कुरा मेरो सम्झनामा आउँछ । र अहिले पनि प्रश्नका कुरा उठ्दा यसैले तर्साउँछ मलाई ।
त्यो बेला मसँग जवाफ केही थिएन र चुपचाप सुनिरहे । प्रश्न बनाउने सैद्धान्तिक ज्ञानको सानो पोको मात्र थियो मसँग । त्यो सैद्धान्तिक ज्ञानको पोको पनि त्यही बी.एड. एम.एड. मा पढेका कुरा थिए जुन कुरा कार्यशालामा सहभागी भएका शिक्षकहरूले पनि पढ्नु भएकै थियो । मैले अन्यत्रैको विद्यालयका केही थान प्रश्न लिएर गएको थिएँ, जहाँ प्रशस्त समस्याहरू थिए ।
शिक्षकको पेसागत सङ्गठनकै नेतृत्व गर्ने शिक्षकले कार्यशालाको शुरुवात गर्ने क्रममै भन्नु भएको माथिको वाक्यले मस्तिष्कमा करेन्ट हानिरहेको थियो । अचानक एउटा चुनौतिको पहाडले थिचे जस्तो महशुष भइरहेको थियो । के गर्ने के नगर्ने अलमल थपिएको थियो । कार्यशालाको उदघाट्न, उद्देश्य र परिचयको कार्यक्रम सकाएर, सिधै विषयगत रूपमा समूह विभाजन गरियो ।
शिक्षकहरूलाई विद्यालयमा प्रयोग भएका प्रश्नपत्र र पाठ्यपुस्तक लिएर आउनु होला भनिएको थियो र धेरै सहभागीले ल्याउनु पनि भएको थियो ।
सहजता के भयो भने प्रश्न बनाउने कामलाई नाथे देख्ने शिक्षकका नेता वैङ्क तिर केही काम छ भनेर कार्यशालाबाट निस्कनु भयो । यसले अलिकति आनन्दको श्वास फेर्न पाएको महशुष भयो र त्यही प्रश्न बनाउने सैद्धान्तिक ज्ञान बाड्ने धृष्टता गरियो । अधिकांश सहभागीहरूले आफुहरूले कुनै बेला विश्वविद्यालयमा ती कुरा पढे पनि अहिले सम्झना नभएको र विद्यालयमा प्रश्न बनाउने क्रममा प्रयोगमा नआएको अनुभूति गर्नुभयो ।
सहभागी शिक्षकहरूले नै बनाएका प्रश्नपत्रहरूको समिक्षा गरियो । कुनै पनि प्रश्नपत्रहरू दोष रहित थिएनन् । भाषा, शुद्धा शुद्धिका विषय मात्र होइन, एउटै पाठबाट तीन वटा प्रश्न, तीन विशेषता लेख भनेर चार अङ्क दिने, सबै प्रश्न भनेको के हो भन्ने मात्र सोधिएका, छोटो उत्तर आउने र लामो उत्तर आउनेमा एउटै प्रश्न, अङ्ग्रेजी, नेपाली जस्ता विषयको व्याकरणमा उत्तरका सङ्केतहरू, बहु वैकल्पिक प्रश्नमा विकल्पको वेमेल, खाली ठाउँ भर्ने प्रश्नमा धेरै थरि उत्तर आउने सक्ने अस्पष्ट र शिक्षक आफैँ अलमलमा पर्ने सम्मका प्रश्नहरू थिए ।
अब विस्तारै नयाँ प्रश्न लेख्ने काम शुरु गर्यौ । प्रश्न बनाउँदा ध्यान दिनुपर्ने कुराहरूको छलफल भैसकेको थियो । प्रश्न स्पष्ट हुनुपर्ने । एउटै प्रश्नमा दुइ फरक फरक कुरा नसोध्ने जस्तै: नाप भनेको के हो ? कार्यको परिभाषा लेख्नु होस् । अङ्क विभाजन स्पष्ट गर्ने जस्तै : साधारण यन्त्रका तीन काम लेख्नुहोस् भनेर पाँच अङ्क नदिने । यस्ता केही सामान्य पक्षहरूमा ध्यान दिने कुरा सामान्य नै थियो ।
उत्तर कुञ्जिका सहित प्रश्न बनाउने र प्रश्नमा ज्ञानको तह (ज्ञान, बोध, प्रयोग र उच्च दक्षता) मिलाएर प्रश्न बनाउने भन्ने अभ्यास सहभागीहरूका लागि निकै जटिल बन्यो । तीन दिनको कार्यशालाको करिब ७० प्रतिशत समय प्रश्नको यही ज्ञानको तह मिलाउने खेलमै सकियो । प्रश्न बनाउने कामलाई नाथे कामको संज्ञा दिनु भएका शिक्षक नेता कार्यशालामा पुरै समय बस्नु भएन । पहिलो दिन वैङ्कमा काम थियो, दोस्रो दिन जिविसमा काम थियो र तेस्रो दिन जिशिकामा । बस्नु भएको केही आशिंक समय पनि ध्यान दिनु भएन । तथापि कार्यशालाको अन्तिममा अन्य शिक्षकहरूका भनाई सुनेपछि आफूले पहिलो दिन गरेको कुरा गलत पो थियो कि भन्ने थोरै मात्र वोध गर्नुभएको हो कि जस्तो मात्र अनुभूति भयो ।
२०७४ मा अन्नपूर्ण पोष्ट राट्रिय दैनिकमा काठमाण्डौं पूर्व क्षेत्र परीक्षा समितिले बनाएको प्रश्न समाचारको रुपमा बाहिर आयो ।
सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मसला बन्यो । त्यसको दुई तिन दिनपछि नागरिक दैनिकमा चितवनको प्रश्न पनि समाचार बनेर आयो ।
हेलो सरकारमा उजुरी पनि पुग्यो । हेलो सरकारले शिक्षा मन्त्रालय मार्फत जिशिका काठमाण्डौंमा पत्राचार गरेको सम्म जानकारी सामाजिक सञ्जाल मार्फत् नै आयो । करिब तीन वर्ष अगाडि काठमाण्डौँमै नीजि विद्यालयहरूले नेपाली विषयको प्रश्नमा पोइल गएको सन्दर्भ जोडेर बनाएको प्रश्नले निकै चर्चा पाएको थियो । पत्रिकामा आएका यी समाचार काठमाण्डौं र चितवनका हुन । अन्य जिल्लाको अवस्था पनि फरक छैन भन्दा हुन्छ । प्रश्न कसले बनाउँछ, कसरी बनाइन्छ ? भन्ने व्याख्याहरू यो छोटो आलेखमा वर्णन गरेर सकिदैँन् । आज (२०७५।११।२) मात्र भोजपुरका एक मित्रले कक्षा १० को अङ्ग्रेजी विषयको परीक्षामा १४ अङ्कको ठीक वेठीक प्रश्न कुन Grid का आधारमा सोधियो भनेर फेसबुकमा लेख्नुभयो ।
अहिले प्रश्न बनाउने काम अधिकांश जिल्लाहरूमा ठेकेदारीमा चलेको थियो र छ पनि । यो एउटा व्यापारको रुपमा विकास भएको छ । प्रश्न बनाउन कुनै विशेष ज्ञान सीपको खाँचो पर्दैन । कम्प्युटरमा टाइप गर्न जाने हुन्छ । बजारमा प्रश्नका सेटका ठेली पाइन्छन् । पाठ्य पुस्तक लेखकले पनि पाठ्य पुस्तकमा प्रशस्त प्रश्न बनाइदिएका छन् । बजारका प्रेसहरूमा प्रश्न पाइन्छन् । गल्ती, कमि कमजोरी हेर्ने त्यसलाई सच्चाउने जाँगर र फुर्सद कसैसँग पनि छैन । विगतका वर्षहरूमा विभिन्न जिल्लाबाट प्रश्न लिन काठमाण्डौं, विराटनगर, पोखरा, बुटबल नेपालगञ्जमा आउने चलन थियो । अबका दिनमा के हुन्छ खैँ ।
यो पनि पढ्नहोस् : औचित्य छैन परीक्षाको – १
माथि उल्लेख गरिएका समाचारमा प्रश्नको गुणस्तरको भन्दा पनि नेपाली र अङ्ग्रेजी अनुवादन मिलेको मात्र तथ्य छ । प्रश्नमा हुनुपर्ने विश्वसनीयता र बैधताका पक्ष भनेका के हुन् भनेर बुझ्ने फुर्सद हामी कमैलाई मात्र छ । प्रश्नमा हुने त्रुटिलाई गम्भीरता पूर्वक हेर्ने हाम्रो प्रचलन छैन । प्रश्नमा भएको त्रुटिले परीक्षाहलमा बसेको विद्यार्थीको मानसकितामा के असर गर्छ त्यो सोच्ने फुर्सद छैन । विगतको एसएलसी हाल एसइइ को परीक्षामा पनि प्रश्नमा त्रुटि हुने गरेका उदाहरण छन्, राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को प्रश्नमा पनि प्रशस्त त्रुटि हुन्छन् । के सोध्ने, के नसोध्ने, कसरी सोध्ने कुनै नियम परिधि छैन । पाँच वटा प्रश्न शिक्षकले बनाएर दियो सकियो । प्रश्न दोहोरिने समस्या उत्तिकै छ । गणित विषयमा अङ्क मात्र परिवर्तन गर्ने, भाषा विषयमा सन्दर्भ मात्र परिवर्तन गर्ने, पाठ्य पुस्तकबाटै हुबहु प्रश्न सोध्ने यस्ता थुप्रै पक्षहरू प्रश्न निर्माणमा जोडिएका छन् ।
प्रश्न निर्माण गर्ने सीप र ज्ञान सिकाउने विश्वविद्यालयको हालत पनि उस्तै छ । समाज शास्त्रको सिद्धान्त भनेको के हो ? भनेर २० अङ्कको लामो प्रश्न सोध्ने बुद्धि छ । कोर्ष बाहिरबाट प्रश्न आयो भनेर परिक्षार्थीले उत्तरपुस्तिका च्यातेर परीक्षा वहिष्कार गर्छन् । स्नातकोत्तर तहको प्रश्न ज्ञान नाप्ने मात्र हुन्छ । २०७३ मा राजनीति शास्त्रको अनुसन्धान विषयमा छोटो उत्तर आउने भन्ने १५ नम्बरको प्रश्नमा अनुसन्धान प्रस्तावना भनेको के हो ? भनेर सोधिएको थियो भने लामो उत्तर आउने भन्ने २५ नम्बरको प्रश्नमा अनुसन्धान प्रस्तावनाको वारेमा लेख्नुहोस भन्ने थियो । विश्वविद्यालयका प्रश्नको प्रश्नभारमा प्रश्न उठाउने कोही छैन् । २५ नम्बरको एउटा प्रश्न सोध्दा विषयगत वैधता कसरी मापन हुन्छ ? उत्तर दिने कोही छैन ।
शिक्षाशाास्त्र संकायको कक्षा ११ र १२ देखि स्नातकोत्तर तहसम्मै मूल्याङ्क भन्ने विषय पढाइन्छ । प्रश्नका प्रकार, प्रश्नमा हुनुपर्ने गुण, प्रश्न बनाउने तरिका सबैकुरा सिद्धान्त सिकाइन्छ तर त्यही सिद्धान्तको रटान लगाएर परीक्षा पास गरेका विद्यार्थी विद्यालयमा गएर प्रश्न बनाउँदा समस्याको थुप्रो लाग्छ । त्यही सिद्धान्त पढाउने प्राध्यापकले बनाउने प्रश्नमा समस्या देखिन्छ ।
यी त भए विद्यालय र विश्वविद्यालयका प्रश्नमा भएका समस्याका कुरा । लोक सेवा आयोग जसले आफु एकमात्र योग्यता प्रणालीको संरक्षक भएको दाबी गर्छ । उसका प्रश्नका गाइजात्रा हेरीनसक्नु हुन्छ । पङ्तिकारले सङ्कलन गरेका विद्यालयका निरीक्षकका दुई हजार बस्तुगत प्रश्नमा १० प्रतिशत भन्दा बढी समस्या पाइएको छ । गलत प्रश्नबाट योग्य उम्मेदवार कसरी छनौट भयो होला भन्ने पनि प्रश्न उठन सक्छ ।
उता अर्को शिक्षक सेवा आयोग छ । जहाँ प्रश्न बनाउने सीप पढाइ हुने शिक्षा शास्त्रका विद्धानहरूले प्रश्न बनाउँछन् । बीस वटा वस्तुगत प्रश्न बनाउँदा दुई वटा प्रश्न गलत बनाउँछन् र प्रतिस्पर्धाको परीक्षा लिएर योग्य उम्मेदवार सिफारिस गरी विद्यालयमा प्रश्न बनाउन पठाउँछन् ।
प्रश्न बनाउने काम शिक्षकले आफ्नो कामको रुपमा लिन सकेको अवस्था छैन । विद्यालयहरूले विभिन्न समितिहरूबाट प्रश्न खरिद गरेर परीक्षा लिने प्रणाली विकसित भएको छ । प्रश्न तयार उत्तर कुञ्जिका तयार गर्ने प्रचलन छैन । शिक्षकहरूमा नाथे प्रश्न बनाउने काम भन्ने दम्भ छ । प्रश्न बनाउने सीप सिकाउने विश्वविद्यालयको हालत उस्तै छ । उच्च प्रकारका सार्वजनिक परीक्षाका .प्रश्न मात्र होइन योग्यता मापन गर्ने प्रतिस्पर्धात्मक परीक्षामा पनि सोधिने प्रश्नहरू उस्तै छन् । बजारका प्रेस र गाउँमा कम्प्युटर केन्द्रहरू प्रश्न पाइने ठाउँ बनेका छन् ।
संविधानले शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ । कक्षा ८ को परीक्षा स्थानीय सरकारहरुले चलाउँदै छन् । धेरै प्राविधिक कुराहरुमा ध्यान दिन नसके पनि स्थानीय सरकारहरुले कम्तीमा निम्न विषयमा ध्यान दिएर प्रश्न निर्माणका कार्य गराउनु हुनेछ ।
क) प्रश्नको भाषा सरल र स्पष्ट हुनेछ । जे सोध्न खोजेको हो सिधै सोधिएको हुनेछ ।
ख) प्रश्नका पछाडि प्रकाश पार्नुहोस, चित्रण गर्नुहोस्, चर्चा गर्नुहोस, तिम्रो विचार लेख जस्ता अनावश्यक प्रसङ्गहरु प्रयोग हुने छैनन् ।
ग) कति लेख्दा कति नम्बर आउने हो ? प्रश्न निर्माण गर्नेले के आसयले बनाएको हो ? प्रश्न र उत्तरकुञ्जिका सँगै बन्नेछन् ।
घ) प्रश्न विभिन्न प्रकारका, पाठ्यक्रमका उद्देश्य मापन गर्न सक्ने, कठिनाइस्तर र ज्ञानको तहको पनि ध्यान दिइएको हुनेछ ।
ङ) परीक्षामा प्रयोग भएका प्रश्न सामाजिक सञ्जालमा पोष्ट गर्ने विषय नबनुन ।
शुभकामना ।