समस्या त छ ? तर कहाँ छ ? कक्षामा ! होइन ? मनोवृत्तीमा !!!
शिक्षालाई औपचारीक ढाँचाबाट हेर्दा पाठ्यक्रम विद्यालय, विद्यार्थी, कक्षाकोठा, शिक्षक र शिक्षण सिकाइका विषयहरु अन्तरसम्बन्धित भएर आउँछन् । पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनबाट निर्धारित सिकाइ उपलब्धिहरू हासिल गराउने सन्दर्भमा कक्षाकोठामा शिक्षकको भूमिकालाई निकै महत्वकासाथ हेर्ने गरिन्छ । कक्षाकोठा, सिकाइ सामग्री, पाठ्यक्रम सबैलाई जीवन्त बनाई विद्यार्थीहरूमा ज्ञान, सिप र व्यवहारजन्य कुराहरू सिकाउने सवालमा शिक्षकले आफ्नो भूमिकालाई जति बढी प्रभावकारी बनाउन सक्यो त्यति नै शैक्षिक प्रणालीको प्रभावकारीता बढ्छ । शिक्षाको गुणस्तर शिक्षकको गुणस्तरभन्दा बढी हुन सक्दैन भन्ने भनाइहरू यसैबाट निर्देशित छन् ।
विद्यार्थीको सिकाइमा केले कति प्रभाव पार्छ भन्ने सम्बन्धमा संसारभर हजारौँ अनुसन्धान गरिएका छन् । सम्बन्धित विषय क्षेत्रमा सबैभन्दा बढी उद्धृत गरिएको र आलोचना पनि गरिएको पचास वर्ष पुरानो कोलम्यानको शैक्षिक अवसरको समानता (Equality of Educational Opportunity) भन्ने अनुसन्धानात्मक प्रतिवेदन प्रकाशन भएपश्चात शिक्षण सिकाइमा विद्यालय, शिक्षक र विद्यार्थी तथा उसको पारिवारिक, आर्थिक सामाजिक तत्वहरूको प्रभावमा फरक बहस सिर्जना हुन पुग्यो । परिमाणात्मक (Quantitative) रुपमा गरिएका थुप्रै अनुसन्धानहरुका तथ्याङ्कशास्त्रीय विधिहरूले सन्दर्भ र परिवेशअनुसार सिकाइमा प्रभाव पार्ने तत्त्वहरूलाई फरक फरक व्याख्या विश्लेषण गरेका छन् । विकसित र प्रभावकारी शैक्षिक प्रणाली भएका देशहरूमा विद्यालयमा उपलब्ध स्रोत साधन र शिक्षकको दक्षता र शिक्षण सिकाइ प्रक्रियामा धेरै ठूलो भिन्नता नहुने भएकाले विद्यार्थीको व्यक्तिगत र पारिवारिक कारणहरु जिम्मेवार देखिन्छन् भने विकासोन्मुख तथा अल्पविकसित मुलुकहरुमा विद्यालयमा उपलब्ध भौतिक सुविधा, साधन स्रोतको परिचालन, शिक्षकको दक्षता र शिक्षण सिकाइ प्रक्रियाको प्रभाव बढी देखिएको छ ।
कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने मुख्य कर्ता शिक्षक भएकाले शिक्षण सिकाइ र शिक्षक आपसमा अन्तरसम्बन्धित त हुन्छन् नै तर शिक्षकको सक्षमताले मुख्य रुपमा शिक्षण सिकाइ क्रियाकलापलाई प्रभाव पार्दछ ।
शिक्षण सिकाइलाई प्रभाव पार्ने तत्त्वहरु केके हुन भनियो भने शिक्षक, कक्षाकोठा, विद्यार्थी, विद्यालय वातावरण सबै पक्ष जोडिएलान तर यदि शिक्षक सक्षम र साच्चिकै शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सक्ने भयो भने कक्षाकोठाको व्यवस्थापन पनि मिलाउँला, विद्यार्थीलाई प्रेरीत गर्ला, विद्यालयको वातावरणलाई सिकाइमैत्री बनाउला । शिक्षकले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अन्य सबै पक्षमा परिवर्तन गर्न, सुधार गर्न र परिमार्जन गर्न सक्छ । पाठ्यक्रमका विषयवस्तु परिवर्तन हुन नसक्लान तर विषयवस्तुको प्रस्तुति वुझाउने शैली र सिकाउने पद्धति फरक अपनाउन सक्छ । यसरी हेर्दा शिक्षक प्राथमिक पक्ष हो भने शिक्षण सिकाइ द्धितीय पक्ष हो ।
नेपालको सन्दर्भमा हेर्दा मिश्रित अभ्यासहरु पाइन्छन् । देशभरका विभिन्न विद्यालयमा भौतिक सुविधा, शिक्षकको उपलब्धता, शैक्षिक सामग्री तथा अन्य पक्षमा धेरै विविधता छन् । देशभरि करिब १० प्रतिशत विद्यालयको भौतिक सुविधा पर्याप्त र आकर्षक पनि छ तर भौतिक सुविधा सम्पन्न धेरै विद्यालयको शिक्षण सिकाइको अवस्था कमजोर देखिन्छ । भौतिक सुविधाको अवस्था ज्यादै कमजोर भएका विद्यालयहरुले राम्रो गरेका उदाहरणहरू पनि प्रशस्त छन् । शिक्षकको उपलब्धताबाट हेर्ने हो भने पर्याप्त विषयगत दरबन्दी भएका, लामो समय शिक्षण अनुभव भएका, उच्चस्तरको शैक्षिक योग्यता भएका तालिम प्राप्त शिक्षकहरुले शिक्षण सिकाइ गर्ने विद्यालयको अवस्था कमजोर देखिन्छ, जबकि निजी स्रोतमा व्यवस्थापन गरिएका, न्यूनतम पारिश्रमिकमा शिक्षण गरिरहेका, पेसागत सुरक्षा स्थायीत्व नभएका शिक्षकले पढाउने विद्यालयहरु पनि राम्रा देखिएका छन् ।
शहरी क्षेत्रमा राम्रो भनिएका धेरै सामुदायिक विद्यालयले ठूलो सङ्ख्यामा निजी स्रोतको शिक्षकहरू राखेका छन्, न्यूनतम पारिश्रमिकमा ती शिक्षकले मेहनत गरेका छन् र केही सामुदायिक विद्यालय अब्बल विद्यालयको रुपमा स्थापित हुन सकेका छन् । शिक्षकको योग्यता, पेसागत सुरक्षा, तलबले मात्र पनि शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सकेको देखिएन । प्रधानाध्यापकको नेतृत्व पक्ष हेर्दा पनि सामान्यीकरण गर्न सकिदैन । माध्यमिक तहका प्रथम श्रेणीका प्रधानाध्यापक भएका विद्यालयभन्दा माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षकले नेतृत्व गरेर राम्रो भएका उदाहरणहरू पनि प्रशस्तै छन ।
समुदायको सन्दर्भबाट हेर्दा पनि परिदृश्य खासै फरक देखिएन । व्यवस्थापन समितिको पक्षबाट हेर्दा पनि अवस्था यही हो भन्न सकिदैन । कतै राम्रा व्यवस्थापन समिति छन्, राम्रो भएको छ । कतै व्यवस्थापन समितिका पक्ष कमजोर छन् तर पनि राम्रो भएको छ । कतै राम्रा व्यवस्थापन समिति हुँदा पनि राम्रो हुन सकेको छैन । सामान्यीकरण गर्न मिल्ने कुनै अवस्था नै उपलब्ध छैन हामीसँग । प्रश्न स्वभाविक रुपमा उठ्न सक्छ खास तत्व के हो त ? मुख्य समस्या कहाँ हो त ?
मुख्य समस्या हाम्रो (हामी सबैको) मनोवृत्तीमा छ । गरौँ भन्ने चाहना भए केले रोक्ला र भन्ने इच्छाशक्तिमा छ ।
केही भएन भने त मेरो जिम्मेवारी हो, मैले जवाफ दिनुपर्छ भन्ने बोध नहुने जिम्मेवारीबोधमा छ । राम्रो हुँदा पनि नराम्रो हुँदा पनि कही कसैले प्रश्न नगर्ने र उत्तर दिन नपर्ने जवाफदेहिताको पद्धतिमा छ । राम्रो गर्नेलाई पुरस्कृत गर्ने (उत्साह) र नराम्रो गर्नेलाई त्यसो नगर्न हतोत्साहित बनाउने व्यवस्थापनका पक्षमा पनि समस्या छ । यी सबै समस्या मानवीय समस्या हुन् । मानवीय समस्या भनेका शिक्षणका समस्या होइनन्, यी त शिक्षकका समस्या हुन् । शिक्षकलाई यस्तो कसले बनायो भन्ने पनि प्रश्न उठ्छ । यसको जवाफ दुईवटा हुन सक्छन्, एउटा पद्धतिले बनायो र अर्को व्यक्ति आफै पनि बन्यो ।
पद्धति कसले बनाउँछ ? पद्धति त मानिसले बनाउँछ । त्यो मानिस को हो ? त्यो मानिस मुख्यतया शिक्षक हो र केही अंश अरूहरू । शिक्षक व्यक्ति हो, समूह हो, समाज हो र समग्रमा प्रणाली पनि हो । व्यक्ति आफैले किन यस्तो पद्धति बनायो त भन्ने पनि प्रश्न होला । यसमा व्यक्तिगत भिन्नताका कुरा पनि होलान् । नगर्दा के हुन्छ र गर्दा के हुन्छ भन्ने देख्यो, अथवा नर्गदा केही नभएको अवस्था अनुभव गर्यो । राम्रो गर्दा उत्साह पाइएन भनेर पछि हट्यो, नराम्रो गर्दा केही भएन भनेर त्यतैको बाटो लाग्यो । जवाफ दिनु पर्दैन भन्ने बुझ्यो र जवाफदेहिता गुमायो । जिम्मेवारी लिन परेन र जिम्मेवारीबोध पनि गरेन ।
शिक्षक व्यक्ति हुँदा उसका भूमिका के हुने ? शिक्षक समूह हुँदा के हुने ? समाज र प्रणाली हुँदा के हुने ? यसको भिन्नता नै खोजिएन । एउटा विद्यालयको एउटा कक्षामा पढाउन गएको शिक्षक विद्यार्थीका सिकाइका लागि जिम्मेवार र जवाफदेही बन्दा त्यो व्यक्ति हो तर त्यही विद्यालयका सबै शिक्षक सामूहिक रुपमा सबै विद्यार्थीको सिकाइका लागि जवाफदेही हुने हो भने त्यो समूह हो । त्यसैगरी धेरै विद्यालयको दृष्टिबाट हेर्दा समाज बन्ला र समग्रतामा हेर्दा त्यो प्रणाली बन्ला । यसो हुँदा सुधार पनि त्यही प्रणालीको एउटा सानो अंश शिक्षकबाटै र कमजोरी पनि एउटा शिक्षकबाटै सुरु हुने देखिन्छ । त्यसलाई समग्र प्रणालीकै रुपमा लिइन्छ र व्यक्ति, समूह, समाज हुँदै प्रणाली नै जवाफदेही र जिम्मेवार हुन्छ ।
शिक्षकको समस्या शिक्षणमा गएर देखापरिरहेको परिप्रेक्ष्यमा शिक्षकले एउटा प्रणालीको रुपमा के गरेन त भनेर हेरियो भने यसका केही सन्दर्भ भेट्न सकिएला ।
हरेक शिक्षकलाई मेरो भूमिका प्रणालीको रुपमा विकसित हुन्छ भन्ने बुझाउन सकिएको छैन र शिक्षक स्वयंले पनि यसलाई बुझ्न चाहेको छैन् ।
- शिक्षा प्रणालीले विद्यालयमा भौतिक सुविधा नभई हुँदैन भनेन एउटा व्यक्ति वा समूहले भन्यो, सक्नेले पायो बनायो नसक्नेले आस मात्र गरिरह्यो । कतै विद्यार्थी भए भौतिक सुविधा भएन, कतै भौतिक सुविधा भयो विद्यार्थी भएनन् ।
- विद्यालयमा पुस्तकालय चाहियो भनेर भनेन । दुई चार थान पुस्तकालयका कोटा आएको थाहा पाएपछि ल्याउने पहल गरियो ल्याइयो । पुस्तकालय छ ? छ । कता छ, कस्तो छ ? उत्तर त्यति सजिलो छैन ।
- तालिम चाहियो भन्ने माग बनेन । आऊ तालिम लैजाऊ भनिरहनु पर्ने भयो । दिनेले दिन नछोड्ने, लिनेले लिइरहने । किन दिइरहेको, किन लिइरहेको ? प्रभाव के परेको छ ? सुधार के भएको छ ? कुनै पनि प्रणालीले हेरेन ? हेर्ने अवस्था पनि देखिएन ।
- कसैले यसो गर भन्यो, भने अनुसार पनि गरिएन, यो गर्दिन र यो भन्दा राम्रो त्यो गर्छु भन्ने अवस्था पनि बनेन । किन भएन ? एक प्रश्नका लागि सय उत्तरहरू तयार गरियो ।
- विद्यार्थी आएन, समस्या त नआउनेको हो ? फेल भयो, उही फेल भयो ? गृहकार्य गरेन ? उसैले गरेन । अभिभावकले चासो दिएनन्, उनीहरूकै कुरा भयो ? यसको दोस्रो पक्ष म हो र यसमा मेरो भूमिका के भन्ने कहिल्यै खोजी भएन ।
- कक्षामा पढाइयो सकियो । नबुझ्नु, नजान्नु त उसैको समस्या हो । मैले त पढाएकै हो । बुझ्यौ भनेर सोध्दा अगाडि बस्नेहरूले त बुझ्यौँ भनेकै थिए । यस अर्थमा बुझ्नेलाई पढाउने भइयो । नबुझ्ने त उनीहरूकै समस्या हो भन्ने गरियो ।
भूमिका सबैको हुन्छ, जिम्मेवारी धेरैको हुन्छ, तर जवाफदेहिता थोरैमा हुन्छ । त्यो जवाफदेहिताको जिम्मेवारी कहाँ छ र कहाँ रहनुपर्छ भन्ने पक्षबाट प्रश्न गर्नु र त्यसको जवाफ खोज्नु पर्ने देखिन्छ । यस्तो खोजले जवाफदेहिताको केन्द्रविन्दु पहिचान गर्नेछ र त्यस्तो केन्द्रविन्दु अन्तत: मानवीय पक्षमा आएर समाहित हुनेछ ।
सिकाइ मासिकमा २०७५ मा प्रकाशित आलेख ।