शिक्षा सेवा प्राविधिक सहायक अन्तरवार्ता

विभिन्न प्रकारका जागिरका लागि अन्तरवार्ता लिने प्रचलन रहेको छ । यो आलेख खासगरी लोक सेवा आयोगले हालैमात्र नतिजा प्रकाशन गरेको शिक्षा सेवाको प्राविधिक सहायक पदको अन्तरवार्ताका लागि तयार गरिएको छ । म आलेख अन्तर्वार्ता कसरी दिने भन्ने विज्ञ र जान्ने भन्दा पनि भन्दा पनि आफैले अन्तर्वार्ता दिदाका वखत गरेका अनुभव, अन्तरवार्तामा सहभागी भएका साथीहरूको अनुभव र आयोगको निर्देशिकामा उल्लेख भएका बुँदाका आधारमा तयार गर्दैछु । लोक सेवा आयोगको लिखित परीक्षामा नाम निस्किएका धेरै साथीहरुले  फोन र फेसबुक म्यासेन्जरबाट अन्तर्वार्ता तयारीमा के गर्ने भनेर सोधिरहनु भएको हुनाले वहाँहरुका लागि यो आलेख तयार पारिएको हो । यो आलेखमा अन्तर्वार्ताको तयारी कसरी गर्ने र अन्तर्वार्तामा कसरी प्रस्तुत हुने सम्बन्धमा केही सामान्य बुझाई र अनुभव प्रस्तुत गरिएको छ । यसमा प्रस्तुत कुराहरू सधै सबै सन्दर्भमा लागु नहुन पनि सक्छन् र यी नै सबै अन्तिम सत्य पनि होइनन् ।

धेरैजनाले त कुनै न कुनै अन्तर्वार्ता दिनुभएकै होला । नयाँ त केही हुदैँन, उस्तै हो । सहज र स्वभाविक हुन्छ ।

अन्तर्वार्ता भनेको खासगरी व्यक्तिको प्रस्तुति, अन्य व्यक्तिहरूसँग प्रस्तुत हुँदाको शैली र व्यक्तिमा भएको आत्मविश्वासीपन हेर्ने माध्यम हो ।

अन्तर्वार्तामा प्रस्तुत हुँदा सकेसम्म आफु प्राकृतिक रुपमा जे जस्तो हो, त्यही रुपमा प्रस्तुत हुनु आवश्यक हुन्छ । सधै जस्तो पोसाक लगाइन्छ, त्यस्तै लगाउने, सधैँ जस्तो बोलिन्छ त्यस्तै बोल्ने । कृत्रिमता र नक्कल गर्नु हुदैँन ।

अन्तर्वार्तामा जाने भनेर नयाँ कपडा किन्ने, सिलाउने नर्गनुस । त्यसो भनेर पुरानो झुत्रो लगाउने भन्ने पनि होइन । तपाईँ  सँधै अथवा प्रायजसो जस्तो कपडा लगाउनु हुन्छ त्यस्तै लगाउनुस । सेन्ट नर्छनुस । कपाल नछोट्याउनुस । अर्थात नयाँ कुरा नर्गनुस । तपाईँ सधै जस्तो हो त्यस्तै प्रस्तुत हुनु राम्रो हुन्छ । सधैँ नै सेन्ट छरेर नै हिड्ने गर्नुभएको छ भने आयोगको अन्तरवार्तामा जानैका लागि भनेर नछर्नु पनि पर्दैन तर सेन्टको गुणस्तरले प्रभाव पार्ला । कपाल मिलाउने वा मेहन्दी लगाउने नगरेको राम्रो । अङ्ग्रेजीमा एउटा भनाई छ : simple is effective.

कतिपयले अन्तर्वार्तामा बोल्दा कृत्रिमता ल्याउन खोज्ने र बोलि बङ्गाउने गरेको पनि पाइन्छ । यो एकदमै गलत हो । तपाईँ आफु जस्तो हो, त्यस्तै प्रस्तुत गर्नुस । सकेसम्म नम्र भएर बोल्नुस । विस्तारै तर सुनिने गरी बोल्नुस । प्रश्नकर्ताले जे जति प्रश्न गर्नुभएको छ, त्यसको उत्तर दिने प्रयास गर्नुस, जानेको छु भनेर धेरै भन्नु पर्दैन् । जानेको विषयमा धेरै बोल्दा अप्ठ्यारो भएको अनुभव धेरैजनाको रहेको छ ।

विषयवस्तु र समयसामयिक सन्दर्भहरु तयारी गर्नुस । धेरै आत्तिनु र डराउनु आवश्यक नै छैन । तपाईँले सधै भेटेका कुरा गरेका जस्तै मानिसहरूले नै तपाईँको अन्तरवार्ता लिने हो । कोही अनौठो मानिस नहुने भएकाले आत्तिनु पर्दैन् ।

अन्तर्वार्ता कक्षमा सामान्य शिष्टाचारसँगै सकेसम्म हँसिलो मुद्रामा प्रस्तुत भएको राम्रो । केहीगरी हँसिलो मुद्रा भएन, केही विग्रिदैन तर जर्वजस्ती हास्न पर्दैन ।

परिचय दिदा आफ्नो पूरा परिचय दिनुस । कतिपयले परिचयमै पनि केही कुरा ढाट्ने गर्न खोजेको पाइन्छ । यसले पनि समस्या हुन्छ । उदाहरणको लागि तपाईँ स्कुल पढाउनु हुन्छ । परिचयमा पढ्दै छु, जागिर छैन भन्नु भयो र पछि विषयको कुरा हुँदै जादा मैले पढाउँदा यसो गर्छु भन्न पुगिन्छ । किनकी परिचय ढाँटेको कुरा पछि सम्झिदैन, त्यसैले अन्तर्वार्तामा सकेसम्म ढाट्ने कामै नगर्नुस् । एउटा कुरा ढाट्नु भयो भने त्यसलाई पुष्टी गर्न अरु १० कुरा ढाट्नुपर्छ ।

मेरै आफ्नै अनुभव छ । पहिलो पटक अन्तर्वार्ता दिदा बि एड पढ्दै छु भने । प्रश्नकर्ताले मलाई माइक्रो टिचिङ्गको वारेमा सोध्नुभयो । त्यति राम्रोसँग भन्न सकिन । अनि दोस्रो अन्तर्वार्तामा बि एड पढ्दै गरेको नभन्ने योजना गरेर गए र भनिन् तर फेरी अहिले के गर्दै हुनुहुन्छ भनेर सोधियो, बि एड पढ्दै छु नभनि सुखै भएन ।

तपाईँ कुनै एउटा क्षेत्रमा जागिरे हुनुहोला । शिक्षण गर्नुहुन्छ होला । क्याम्पस पढाउनुहुन्छ होला । अथवा कुनै एउटा जाँगिर छोडेर अर्कोमा आउने होला । स्थानीयको छोडेर संघमा पनि आउने होला वा अरु पनि । तपाईँलाई किन त्यो जागिर छोडेर यता भन्ने प्रश्न  प्राय सोध्ने गरेको पाइन्छ । र ध्यान दिनुस एउटै प्रश्न सबैलाई सोधिन्न । वास्तविकता जे हो त्यही भन्नुस । आदर्शवान हुनु पर्दैन ।

म देशको शिक्षा सुधार गर्न, राष्ट्र सेवा गर्न भन्नेजस्ता आदर्शका कुरा नगर्नुस् । जे हो त्यही भन्नुस । अस्थायी, पेसागत सुरक्षाका लागि स्थायी जागिरका लागि यता जाँच दिए । म अहिले शिक्षण गर्छु तर मलाई निजामती सेवामा जागिर खाने रहर, चाहनाले गर्दा यता आए । माथिल्लो पदका लागि । अवसरका लागि । वृत्ति विकासका लागि । आदि ।

शिक्षण पेसा खतम छ पनि नभन्नुस र सरकारी  निजामती सेवा सारै उत्कृष्ट पनि नभन्नुस । विद्यालय घरपायक भएन, विद्यालयमा सरुवा अलिक कठिन, यता भए घरपायक होला भनेर हो । वृत्तिविकासका अवसर बढी छन् । जे हो त्यही भन्नुस । आदर्शबान नबन्नुस । गरिरहेको पेसाको नकारात्मक मात्र र आउन लागेको खुब राम्रो नभन्नुस । सबै पेसामा केही गुण दोष हुन्छन् । यो प्रश्न धेरैजसो सोधिएको हुदैँन के भन्ने होला भन्ने लागिरहेको हुन्छ ।

कहिलेकाँही परिचयबाटै पनि प्रश्न शुरु हुन सक्छ । तपाईँ अन्तरवार्ता दिन जादाको बाटो, दुरी जस्ता सामान्य विषय पनि सोधिन सक्छ । सामान्य जानकारी राख्नुस् । अन्तर्वार्ताको मिति, समय र स्थानको वारेमा पहिले नै निश्चित भएको हुनुपर्छ । अन्तर्वार्ता दिन जाँदा लैजाने सामाग्रीको तयारी गर्नुस् । समय छ भनेर भन्दा सङ्कलन गरेर राखेको राम्रो ।

अन्तर्वार्तामा बसेकाहरुले पालैपालो प्रश्न सोध्छन् तर तपाईँले उत्तर दिदा प्रश्न सोध्नेलाई मात्र नहेरी सबैलाई हेर्नु आवश्यक हुन्छ । तर प्रश्न सोध्नेलाई धेरै हेरिएला । आफ्ना व्यक्तिगत कुरा अनावश्यक रुपमा नभन्नुस । मलाई पास गराइदिनुस, मेरो समस्या छ भन्नेजस्ता कुरै नगर्नुस । सोधिएका प्रश्नको आवश्यकभन्दा बढी व्याख्या पनि नगर्नुस् ।

कुर्सीमा बसेर शरीर तन्काउने, हल्लीने नगर्नुस् । नाक कोट्याउने, कपाल कन्याउने, दातँ कोट्याउने काम पनि नर्गनुस् । हाउभाउ देखाउनु पर्दैन् । फेरी भने simple is effective.

अन्तर्वार्ता कक्षमा तपाइँका लागि बस्ने स्थान हुन्छ । सामान्यतया: बस्ने ठाँउ देखाएर बस्नुस भनिन्छ । यदि त्यसो भनिएन र परीक्षण गर्न खोजियो भने पनि नआतिएर तपाईँ आँफै म बसौँ भनेर अनुमति लिएर बस्नुपर्छ । बस्दा सजिलो हुने गरी, हात नबाधि, खुट्टा नखुम्च्याइ अथवा सहज हुने तरिकाले बस्नुपर्छ । अन्तर्वार्ता दिने बेला यसरी बस्छु भनेर तयारी गर्नुपर्दैन । त्यसरी जानु भयो भने, प्रश्नको उत्तर दिदा पनि तपाईँको ध्यान बसेको मिलेको छ छैन भन्नेतर्फ जाने हुँदा सकेसम्म प्राकृतिक बन्नुस । कृत्रिम भन्ने केही पनि नर्गनुस । नडराउनुस, नहडबडाउनुस । केही गरी तपाई तनावमा आउनुभयो, डराउनुभयो भने पनि अन्तरवार्ताकारहरूले सहज वातावरण तयार गर्छन् ।

आँफुभन्दा अगाडिकालाई के सोध्यो भनेर आत्तिनु पर्दैन । त्यही प्रश्न दोहोरिने संभावना एकदमै कम हुन्छ । एउटा निकै प्रचलित जोक पनि छ, हेर्नुहोस् बक्समा ।

अन्तरवार्तामा सामान्यतया पहिले सोधेको प्रश्नहरु दोहोरिदैनन । दोहोरिए पनि आफुले जे जानेको छ, त्यही भन्ने हो । नजान्दा ठूलो गल्ती हुँदेन तर गल्ति उत्तर भन्दा नकारात्मक नतिजा आउन सक्ने हुन्छ ।

अन्तर्वार्तामा कुनै पनि कुरा ढाट्ने चेष्टा नगर्नुहोस् । कुनै एउटा झुट कुरालाई प्रमाणित गर्न अन्य धेरै थप झुटो बोल्नु पर्छ । विषयवस्तुमा पनि नजानेको कुरा आयो भने गल्ती उत्तर नभन्नुहोस् । गल्ती भन्नुभन्दा, मलाई सम्झना भएन, अहिले याद भएन, भनेर सरल तरिकाले आँफुलाई थाहा नभएको कुरा बताउनुहोस् । इमान्दार बन्नुहोस् ।

आफूले विश्वविद्यालयमा पढेको विषयवस्तुमा पनि सामान्य तयारी गर्नुहोस् । कुनै विषयमा तपाईँको धारणा के छ भनेर सोधियो भने एकदमै नकारात्मक वा अन्धभक्त जस्तो सकारात्मक धारणा नराख्नुहोस् । जस्तै नेपालका सामुदायिक विद्यालयको सिकाइस्तर कमजोर छ, यसका लागि को जिम्मेवार भनेर सोधिएला । कतिपय शिक्षण गरिरहेका तपाईँहरूले राज्य, सरकार र अभिभावक भन्नुहोला । शिक्षण नगरेकाले शिक्षक भन्नुहोला । यस्तो सवालमा सन्तुलित भएर सबै पक्षको भूमिका छ, कसैको बढी होला कसैको कमि तर मेरो विचारमा अथवा मलाई यसको अलि बढी हो कि भन्ने जस्तो लाग्छ भनेर प्रस्तुत हुन सकिन्छ । तर आफूले कुनै विचार राखिदैछ भने त्यसलाई सहयोग पुग्ने तर्कहरु पनि राख्नु पर्छ । जस्तै माध्यमिक तहसम्मको शिक्षा स्थानीयमा दिइयो, तपाईँलाई कस्तो लाग्छ भनेर सोधियो भने संविधानकै आलोचना गरेर नकारात्मक नबन्नुस । ठिकै लाग्छ, वा ठिक छैन मात्र भनेर नपुग्ला किन ठिक लागेको छ वा किन लागेको छैन, २।३ वटा पुष्ट्याइ पनि दिनु आवश्यक हुन्छ ।

लोकसेवा आयोग सञ्चालन निर्देशिकाले अन्तरवार्ता सम्बन्धमा निम्न कुराहरु उल्लेख गरेको छ ।

कुनै समस्या सोधिएला त्यस्तो समस्यामा पनि यो त हुनै सक्दैन अथवा भइहाल्छ भन्ने पूर्ण उत्तर नदिँदा राम्रो । उदाहरणको लागि निरन्तर विद्यार्थी मूल्याङ्कन प्रभावकारी कार्यान्वयन भएको छैन । धेरै शिक्षकहरू यसलाई समस्या भयो भन्नुहुन्छ । यो समस्या हो ? भनेर प्रश्न सोधिएला । यस्तो बेला हो यो समस्या हो यो त कार्यान्वयन गर्नै सकिदैन वा होइन यो त एकदम ठिक छ, सजिलै गर्न सकिन्छ भन्ने जस्तो नभई व्यवहारिक भएर तर्कसंगत कुराहरु राख्दा राम्रो हुन्छ । किन गर्न सकिदैन वा सकिन्छ । तपाई आफू के गर्नुहुन्छ ? अँ ठिक छ भन्नुहोला, तपाईँ पढाइरहेको हुनुहुन्छ भने तपाईँले वा तपाईँको विद्यालयमा के भइरहेको छ ? प्रश्न त्यतै मोडिन पनि सक्छ । अनि कसरी गर्नुहुन्छ भनि सोध्दा नगरेको भए कुरा मिल्दैन ।

अन्तर्वार्ता खासै महत्वपूर्ण होइन र यो निकै महत्वपूर्ण पनि हो । यसमा लिखित परीक्षाको अङ्क जोडिने भएकाले धेरै हदसम्म लिखितको नम्बरले तपाईँको नतिजा निर्धारण गर्छ, तर पनि अन्तर्वार्ता निर्णायक हुन्छ । यदि धेरैजनाको बराबर नम्बर आएको छ भने अन्तर्वार्ता निर्णायक पनि हुन्छ ।

प्राविधिक सहायक भनेकै सहायक स्तरको जागिर हो । अर्थात कार्यालयको काममा सहायक भूमिका हुन्छ भन्ने हो । त्यसैले कार्यालयमा के काम गर्नुपर्छ थाहा छ भनियो भने शिक्षा शाखामा सहायक कर्मचारीको काम हो, त्यो अर्थमा अभिलेख राख्ने, पत्र पठाउने, दर्ता गर्ने । सञ्चारका कामहरु, कुनै कार्यक्रम सञ्चालनमा सहयोगी भूमिका हो ।

प्रश्न खासगरी विश्लेषणात्मक भन्दा पनि fact (तथ्य) र बुझाइसँग सम्बन्धित सोधिन्छ । कहिलेकाँही तपाईँको योग्यता र अनुभव अनुसार विश्लेषणात्मक प्रश्न पनि सोधिन सक्छ । जाने बुझेको भए भन्नुस, नत्र जबर्जस्त गर्नुपर्दैन ।

तयारी के गर्ने :

  • तोकिएको पाठ्यक्रम अर्थात प्राविधिक सहायकको पाठयक्रम
  • शिक्षाको इतिहास, संविधान, सामान्य ज्ञान, पाठ्यक्रम र मूल्याङ्कन, निरीक्षण, शिक्षा प्रशासन, स्थानीय सरकार सञ्चालन ऐन जस्ता विषयहरु ।
  • निजामती सेवा ऐन र नियमावली (विदा र सेवा सुविधा र आचरण खण्ड), शिक्षा ऐन र नियमावली ।
  • संविधान र स्थानीय सरकार सञ्चालन ऐन
  • राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६
  • विद्यालय संरचना र सामान्य शैक्षिक तथ्याङ्क
  • अनिवार्य तथा निशुल्क शिक्षा ऐन र नियमावली सामान्य जानकारी
  • शिक्षा नीति ३०७६ सामान्य जानकारी
  • विद्यार्थी मूल्याङ्कन (CAS, summative, formative, achievement test, standardized test)
  • फाइलिङ, अभिलेख, पत्रव्यवहार, टिप्पणी आदि ।

पाठ्यक्रममा भएका विषयमा बढि जोड दिनुस । अन्य विषयका सवालमा जानेको भए जानेको भन्ने, पढेको सुनेको हो, अहिले भन्न सकिन भन्ने, त्यो पनि नभए, पढेको सुनेको छैन भन्ने । अनुमान नलगाउने । झुटो भन्नुभन्दा जान्दिन भन्नु नै श्रेयस्कर हुन्छ । विश्वविद्यालयमा आफुले पढेको विषयको आधारभूत ज्ञान पनि चाहिएला ।

शिक्षा ऐन नियमावली तथा आफ्नो विषयवस्तुसँग सम्बन्धित कुराहरूमा राम्रो तयारी आवश्यक छ । शिक्षा र समसामयिक विषयको ज्ञान पनि राख्नु राम्रो । तपाईँ आफु जे जस्तो हुनुहुन्छ, त्यही रूपमा अन्तर्वार्तामा प्रस्तुत हुनु भयो भने तपाईँका लागि सजिलो हुन्छ । अन्तर्वार्ताले तपाईँको Naturalist & Confidence मात्र हेर्छ । Communication skill को परीक्षण हुन्छ । तपाईँले कस्तो पोशाक लगाएर जानुभयो र कसरी बोल्नुभयो भन्दा पनि के बोल्नुभयो र कसरी प्रस्तुत हुनुभयो भन्ने महत्वपूर्ण हुन्छ । सामान्यतया अन्तर्वार्तामा ३५ प्रतिशतभन्दा कम र ७० प्रतिशतभन्दा माथि नम्बर दिने प्रचलन हुँदैन् र दिनै परे कारण लेख्ने भनेको छ । कारण दिएर नम्बर दिने अवस्था सामान्यतया हुँदेन्  र यस्तो झण्झट पनि कसैले गर्दैन् ।

अन्तर्वार्ता आफूँ जस्तो हो, त्यस्तै देखाउने कला हो । धन्यबाद । deviramac@outlook.com मा इमेल लेख्न, ट्वीटरमा फलो गर्न @achdevi वा फेसबुक पेज Educationplus मा लाइक गर्न सक्नुहुन्छ ।