एसइइ नतिजामा अर्घाखाँची : संक्षिप्त विश्लेषण

विद्यालय तह कक्षा १२ सम्म भएसँगै कक्षा १० को परीक्षाको नाम फेरिएर एसइइ भएको छ । नाम फेरिए पनि अरु व्यवस्थामा धेरै परिवर्तन आएको छैन्  । समग्र शैक्षिक प्रणाली र विद्यालयको शैक्षिक स्तर मूल्याङ्कनका लागि एसइइ परीक्षाको नतिजालाई आधार मान्ने गरिन्छ । हुन त परीक्षाको नतिजाले मात्र मूल्याङ्कन गरिनु हुँदैन भन्ने पनि छ तर हाम्रो वर्तमान सन्दर्भमा मूल्याङ्कन गर्ने अन्य कुनै भरपर्दा आधारहरु नभएको अवस्था र दश वर्षसम्मको शैक्षिक अवस्थाको मूल्याङ्कन गर्ने उपलब्ध भएका विधिमध्ये यो नै बढी विश्वसनीय रहेको छ ।

            अर्घाखाँची जिल्लाको शैक्षिक अवस्था विश्लेषण गर्ने र सुधारका लागि जागरुक बनाउने उद्देश्यले २०७५ सालको एसइइ परीक्षाको नतिजा विश्लेषण गरिएको छ । यो विश्लेषणले खासगरी शैक्षिक योजना र निती निर्धारण गर्ने अधिकार प्राप्त निकायहरु स्थानीय तह र प्रदेश सरकारलाई सहयोग पुग्ला भन्ने अपेक्षा गरिएको छ । हुन त हरेक स्थानीय तहका आ आफ्नै प्राथमिकता छन्, हरेक तहले आफै पनि नतिजा विश्लेषण गर्न सक्छन् तथापि जिल्लाको समग्र अवस्था र स्थानीय निकाय अनुसारको तुलनात्मक विश्लेषणले पनि सहयोग पुग्ला भन्ने विश्वास लिइएको छ ।

            अर्घाखाँची जिल्लाबाट २०७५ को एसइइमा सहभागी भएका साधारणतर्फका ३३८४ जना (सामुदायिक ३१८४ र संस्थागत २००) विद्यार्थीको नतिजा विश्लेषण गरिएको छ । जिल्लाको समग्र अवस्था विश्लेषण गर्न सामुदायिक र संस्थागतको विश्लेषण गरिएको छ भने स्थानीय तह अनुसारको विश्लेषणमा संस्थागत विद्यालय समावेश गरिएको छैन् । त्यसैगरी प्राविधिकतर्फबाट सहभागी भएका दुई विद्यालयको नतिजालाई अलग्गै विश्लेषण गरिएको छ । जिल्लाबाट २०७५ को एसइइ परीक्षामा सहभागी भएका विद्यालय एक खुला सहित ८० (७१ सामुदायिक र ९ संस्थागत) रहेका थिए ।

ग्राफ १ ले जिल्लाका ३३८४ विद्यार्थी कुन जिपिए समूहमा पर्छन् भन्ने अवस्था देखाउँछ । हरेक विद्यार्थीले प्राप्त गरेको जिपिएलाई नौ समूहमा समूहकृत गरी विद्यालयको प्रकार अनुसार छुट्टा प्रस्तुत गरिएको छ । सामुदायिकबाट सहभागी भएका ३१८४ विद्यार्थीमध्ये सबैभन्दा धेरै ३१.८ प्रतिशत विद्यार्थीको जिपिए २ देखि २.४ को समूहमा पर्छन् । सिकाइको दृष्टीले यो समूहको सिकाइलाई सन्तोषजनक मात्र मान्न सकिन्छ भने २२.८ प्रतिशतको जिपिए १.६ देखि २.० को बिचमा छ जुन स्वीकारयोग्य मात्र हो । सिकाइमा अपर्याप्त सिकाइ, आंशिक स्वीकारयोग्य र स्वीकारयोग्यको सिकाइ स्तरमा ६१.६ प्रतिशत विद्यार्थीहरु रहेका छन् । त्यसपछिको २३.५ प्रतिशत २.४ देखि २.८ को समूहमा रहेका छन् जसलाई सिकाइस्तरको व्याख्यामा राम्रो भनिएको छ । संस्थागत विद्यालयतर्फ हेर्दा ३२.५ प्रतिशत विद्यार्थी धेरै राम्रो, ३१.५ प्रतिशत विशिष्ट र १४.५ प्रतिशत विद्यार्थी अति विशिष्टको स्तरमा रहेका छन् । विद्यार्थी सङ्ख्यामा भिन्नता भए पनि यसको प्रवृतिगत हिसाबले सामुदायिक विद्यालयको अवस्था कमजोर छ भन्नेतर्फ सङ्केत गर्छ ।

            एसइइमा प्राप्त गरेको जिपिए र विषयगत ग्रेडले माथिल्ला कक्षाहरुमा के विषय पढ्ने र उनीहरू भोलिका दिनमा के भन्ने जिल्लाको कस्तो मानवीय पूँजी उत्पादन हुने भन्नेसम्मको निर्धारण हुन्छ । विज्ञान र गणित दुवै विषयमा न्यूनतम ‘सि प्लस’ ग्रेड ल्याउने विद्यार्थीहरुले मात्र कक्षा ११ मा विज्ञान विषय पढ्न पाउने भएकाले सो अनुसारको विश्लेषण पनि विद्यालयको सिकाइस्तर सुधारको क्षेत्र बन्न सक्छ । प्राप्त नतिजाका आधारमा जिल्लाका ७१ सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भएका ३१८४ जना विद्यार्थीमध्ये जम्मा २९६ (९.३ प्रतिशत) विद्यार्थीहरूले विज्ञान पढ्न पाउने देखिन्छ भने नौओटा संस्थागत विद्यालयबाट सहभागी भएका २०० जना विद्यार्थीमध्ये १२९ (६५ प्रतिशतले) विज्ञान विषय पढ्न पाउनेछन् । यसले जिल्लाको शैक्षिकस्तरको भिन्नता, शैक्षिक असमानता र भविष्यको मानव पूँजी कस्तो बन्ने भन्ने निर्धारण गर्छ । जिल्लाको समग्र विकासका लागि राजनीतिक नेतृत्वले यही विषयबाट चिन्तन र सुधारको सुरुवात गर्न सक्नेछ ।

स्थानीय तह अनुसारको नतिजा

            मुलुकको राजनीतिक तथा प्रशासनिक पुर्नसंरचनासँगै जिल्लामा ३ नगरपालिका र ३ गाँउपालिका भएका छन् । नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले माध्यमिक तहसम्मकै शैक्षिक व्यवस्थापन र विद्यालयको सिकाइस्तर सुधार गर्ने अधिकार जिम्मेवारी हस्तान्तरण गरेको छ । स्थानीय सरकारहरु विद्यालयमा शैक्षिक स्तर सुधारका कुनै पनि क्रियाकलाप गर्न स्वायत्त छन् र शैक्षिक स्तर सुधारका लागि जिम्मेवार पनि छन् । स्थानीय सरकार गठन दुई वर्ष पुगिसकेको छ । स्थानीय सरकारहरुले शैक्षिक सुधारमा विभिन्न प्रयासहरु गरेका भएपनि ती प्रयासहरुको नतिजा आएको छैन् । कक्षाकोठाभित्रको पठनपाठन सुधारमा स्थानीय सरकारहरूको ध्यान पुगेको देखिदैँन् । भौतिक सुविधा विस्तारमा जोड दिइएको छ, तर त्यसले मात्र कक्षाकोठाको सिकाइमा सुधार ल्याउँदैन् । एसइइ २०७५ को नतिजालाई स्थानीय तह अनुसार तलको तालिका र ग्राफमा प्रस्तुत गरिएको छ ।

तालिकामा विभिन्न स्थानीय तह अनुसारको जिपिएको समूह र सो समूहमा पर्ने विद्यार्थीहरूको सङ्ख्या प्रस्तुत गरिएको छ । स्थानीय तह अनुसार एसइइ परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये जिपिएको माथिल्लो (राम्रो देखि अति विशिष्ट) र तल्लो पाँच समूह (अति अपर्याप्त देखि सन्तोषजनकसम्म) का आधारमा क्रमश: मालारानी, पाणिनी, सन्धिखर्क, छत्रदेव, भूमेकास्थान र शितगंगा रहेको देखिन्छ ।

सबैभन्दा माथिल्लो जिपिए ३.६ देखि ४ प्राप्त गर्ने विद्यार्थी सङ्ख्या सन्धिखर्कमा बढि देखिन्छ भने तल्लो समूहमा पर्ने विद्यार्थीमा छत्रदेव र भूमेकास्थान रहेका छन् । समग्रमा सिकाइ स्तर कमजोर छ । शहरी र ग्रामीण क्षेत्रमा मात्र होइन शहरी क्षेत्रकै विभिन्न विद्यालयबिचको नतिजामा धेरै समस्याहरु रहेको देखिन्छ । भौतिक सुविधा राम्रै भएका, शिक्षकको स्थायी दरबन्दी र अनुभवि शिक्षक भएका पुराना विद्यालयको तुलनामा केही नयाँ विद्यालयमा जहाँ भौतिक सुविधा धेरै राम्रो छैन, शिक्षक दरबन्दी अपर्याप्त छ, ती विद्यालयको नतिजा राम्रो देखिन्छ ।

विषयगत नतिजाहरु

एसइइको नतिजा प्रकाशनमा अक्षराङ्कन प्रणालीको अबलम्बन गरियो । कूल जिपिए र कुनै खास विषयमा ‘डि प्लस’ ग्रेड आउँदा कक्षा ११ मा विभिन्न विषयहरु पढ्न पाइने भएको छ । गणित बाहेक अनिवार्य ४ विषयमा प्रयोगात्मक अङ्क दिने गरिन्छ र जुन अङ्क विद्यार्थीलाई उसले जानेको वा सिकेको आधारमा होइन, यसो नाम र अनुहार सम्झेर अधिकांशले २५ मा २५ र केही थोरैले मात्र २४ वा २३ सम्म अङ्क दिने गरेको पाइन्छ । प्रयोगात्मकतर्फ ल्याएको ग्रेड र सैद्धान्तिकमा ल्याएको ग्रेडको कुनै तालमेल देखिदैँन् । अङ्ग्रेजीमा सुनाइ र बोलाइको परीक्षामा २५ मा २५ ल्याएर ‘ए प्लस’ ग्रेड ल्याउनेमध्ये सैद्धान्तिकमा २० भन्दा कम ल्याउनेहरु धेरै छन् । भाषाको सुनाइ र बोलाइसँग लेखाइ र पढाइको सम्बन्ध जिरो जस्तो छ । नेपालीमा त्यस्तै छ, सामाजिक पनि उस्तै देखिन्छ । प्रयोगात्मक अङ्क नभएको एउटा विषय गणितमा सबैभन्दा धेरै विद्यार्थीको कम ग्रेड आएको देखिन्छ ।

तालिका २: विषय अनुसारको ग्रेड प्राप्त गर्ने विद्यार्थी सङ्ख्या (सामुदायिक मात्र)

            विषयगत ग्रेडहरुको अवस्था हेर्दा खासगरी प्रयोगात्मक र सैद्धान्तिकमा कुनै तालमेल देखिदैन् । प्रयोगात्मकमा सबै विद्यार्थीको ‘बी’ भन्दा माथिको ग्रेड छ । अङ्ग्रेजीको सैद्धान्तिकमा २० अङ्कभन्दा कम ल्याउएर ‘इ’ ग्रेडमा ३९९ जना विद्यार्थी छन् भने प्रयोगात्मकमा सबैभन्दा कम ५६ जनाको मात्र ‘बी’ ग्रेड रहेको छ । नेपालीमा ‘ए प्लस’ कसैको पनि छैन भने ‘ए’ ल्याउनेहरु ९८ जना मात्र छन् जबकी प्रयोगात्मककमा ९५ प्रतिशतको ‘ए’ र ‘ए’ प्लस रहेको छ । ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थी सबैभन्दा गणितमै छन् । ‘इ’ ग्रेड ल्याउने ६० प्रतिशत र ‘डि’ ल्याउने ११ प्रतिशत रहेका छन् । विज्ञानमा ‘इ’ ग्रेड ल्याउने विद्यार्थीहरु पनि ३५ प्रतिशत रहेका छन् ।

प्राविधिक

शिक्षालाई प्राविधिक र व्यावसायिक बनाउने भन्नेमा जोड दिदै कक्षा ९ देखि नै प्राविधिक विषयको पठनपाठन शुरु गरिएको छ । जिल्लामा हाल २ विद्यालयमा प्राविधिक विषयको पठनपाठन हुने गर्छ । व्यावसायिक सिप सिकाउने हो वा प्राविधिक विषयको सैद्धान्तिक ज्ञानको भारी बोकाउने भन्नेमै प्राविधिक शिक्षा बढी अलमलमा छ । संज्ञानात्मक क्षमतामा कमजोर मानिने विद्यार्थीलाई प्राविधिकतर्फ आकर्षित गरिएको छ, तर उनीहरुलाई गणित, विज्ञान अङ्ग्रेजीका साथै प्राविधिक विषयको भार थपेर अझ जटिल पनि बनाइएको छ । विद्यालय तहको प्राविधिक विषय व्यवसायिक सिपका लागि हो प्राविधिक विषयकै उच्च प्राज्ञ विकास हुने हो ? व्यक्ति आफैले स्वरोजगारका सिर्जना गर्न सक्छ भनेर प्राविधिक शिक्षा भनिएको छ तर त्यसका अवसर र त्यसको वातावरण के कस्तो छ भन्नेतर्फ ध्यान पुगेको छैन् । जिल्लामा सिटीइभिटीको निजी शिक्षालयमा २० वर्षदेखि प्राविधिक शिक्षाको रुपमा भेटेरीनरी जेटीए पढाइ हुन्छ । तर त्यहाबाट उत्पादित जेटिएले कतिले स्वरोजगार भए, कतिले बाख्रा कुखुरा पालेका छन् ? कतिले त्यो ज्ञान सिपको प्रयोग गरेका छन् भन्ने लेखाजोखा गरिएकै छैन ।

            जिल्लमा २ विद्यालयमा इन्जिनियरिङ र कृषि तथा वन विषयको पढाइ हुन्छ तर त्यो जनशक्ति जिल्लाभित्रै रोजगारी पाउँछ अथवा त्यसले स्वरोजगारीतर्फ लाग्ला ? आवश्यकता हो वा रहर हो ? त्यो फरक वहसको विषय बन्ला तर प्राविधिक विषयतर्फको एसइइको नतिजा साधारणतर्फको भन्दा अझ कमजोर रहेका देखिन्छ ।

            इन्जिनियरिङ् पढ्ने २० जना विद्यार्थीमध्ये १७ जनाको गणितमा इ ग्रेड आएको छ । उनीहरूले पढ्ने विषयहरूमा इन्जिनियरिङ् ड्रइङ, बिल्डिङ कन्सट्रक्सन, इन्जिनियरिङ सर्भे, हाइवे इन्जिनियरिङ् पर्छन् । विल्डिङ कन्सट्रक्सनमा १३ जनाको ‘इ’ ग्रेड रहेको छ । इस्टिमेटीङ कस्ट एण्ड सुपरभिजनमा १० जनाको इ ग्रेड रहेको छ । यो अवस्थामा उत्पादन हुने इन्जिनियरिङको विद्यार्थीले कामको संसारमा कसरी आफुलाई अब्बल सावित गर्ला ? फरक वहसको विषय बन्ला । कृषि र वन विज्ञान विषय पढ्नेहरुको विज्ञानमा ‘सि प्लस’ भन्दा माथिको ग्रेड आएकै छैन् । जिपिएको माथिल्लो समूहमा सबै प्रयोगात्मकको ‘ए प्लस’ ले तानेको छ ।

सुधार संभव छ ?

सुधारका लागि जवाफदेहिता र जिम्मेवारीबोध नै महत्वपूर्ण हो । एउटै आर्थिक सामाजिक अवस्था भएका, एउटै परिवेशका एउटै वडाका दुई विद्यालयमा देखिने सिकाइ स्तरको ठूलो भिन्नताले समस्या विद्यालयमा, शिक्षकमा र कक्षाकोठामा छ भन्न सकिन्छ । समस्याहरू खोज्ने कि समाधानका उपायहरु खोज्ने, अरुको दोष खोज्ने कि आ आफ्नो जिम्मेवारी पूरा गर्ने भन्ने महत्वपूर्ण विषय हो । कतिपय विद्यालयले कक्षामा विद्यार्थी धेरै भए भन्ने गर्छन, तर विद्यार्थी थोरै भएका विद्यालयको पनि सिकाइस्तर राम्रो छैन् । अभिभावकलाई दोष लगाइन्छ, तर तुलनात्मक रुपमा नगरपालिका र सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रका विद्यालयले राम्रो गरेका छन् । यस अर्थमा अभिभावकको जिम्मेवारी धेरै देख्ने हाम्रा दृष्टीकोणमा समस्या छ । भौतिक सुविधा पुगेन भनिरहनेहरुका लागि कमजोर भौतिक सुविधा भएका विद्यालयले पनि राम्रो गरेको देखिएको छ । शिक्षक समस्याको पक्षबाट हेर्ने हो, स्थायी दरबन्दी भएका अनुभवि र विषयगत शिक्षकभन्दा शिक्षक दरबन्दी नभएका, निजी स्रोत र राहतका शिक्षकबाट माध्यमिक तह चलाइएका विद्यालयको राम्रो देखिन्छ । यसरी हेर्दा बाहिरी पक्षहरुभन्दा पनि विद्यालय भित्रका, प्रधानाध्यापकका नेतृत्व, आन्तरिक व्यवस्थापन, व्यवस्थापन समितिका भूमिकाहरू महत्वपूर्ण देखिन्छन् । भवन र कक्षाकोठा बनाउन दौडधुप गरिरहने व्यवस्थापन समितिका अध्यक्षहरुले नतिजा के भयो ? किन कमजोर भयो ? के भए सुधार हुन्छ ? के चाहियो ? भनेर प्रश्न गर्ने आँट गर्नु आवश्यक छ ।

            स्थानीय सरकार मार्फत भएका प्रयासहरू सिकाइ सुधारमा देखिएन । कक्षा ८ मा ५० नम्बरसम्म कृपयाङ्क (ग्रेस मार्क) दिएर कक्षा ९ मा पठाइएको छ । विद्यार्थीलाई मेरो अवस्था कस्तो थियो भन्ने जानकारी दिइएकै छैन । दुई वर्ष पछी आउने एसइइको नतिजा त्यही विद्यार्थीबाट हो । विद्यालयलाई ‌औपचारिक जानकारी छैन, यस्तै त हो, सधैँ यस्तै गरेकै हो भनेर चुप लागेको अवस्था छ । जिल्लाका राजनीतिक नेताहरुले शिक्षाको विषयमा ध्यान दिएको देखिदैँन । कतै भाषण गर्नुपर्दा हाम्रो शिक्षा राम्रो छ भन्ने काल्पनिक भाषण दिनुहुन्छ, तर के राम्रो छ भन्ने न कुनै तथ्य छ, न कुनै आधार छ ? रहरमा खोलिएका कक्षा ११ र १२ पढाइ हुने विद्यालयको अवस्था अझ कमजोर छ । एउटै परिवेश र अवस्था भएका दुई विद्यालयको नतिजामा देखिएको ठूलो भिन्नताले नै यदि इमान्दार भएर गर्न चाहने हो भने संभव छ भन्ने प्रष्ट पार्छ । सहरकेन्द्रित निजी विद्यालयले मात्र होइन सहरका सामुदायिकले भन्दा ग्रामीण क्षेत्रका नीजि विद्यालयले राम्रो गरेका छन् । यी विभिन्न सन्दर्भबाट पनि सुधारका प्रयास गर्न सकिन्छ । सुधार गरौँ भन्ने दृढ इच्छाशक्तिबाटै आधा सुधार संभव छ । सँगसँगै स्थानीय सरकारहरू पनि सहयोगी हुनु आवश्यक छ ।

            सुधार गरे संभव छ भनेर लाग्ने, कक्षाकोठाभित्रको सुधारमा ध्यान दिने, शिक्षक व्यवस्थापन र न्यूनतम शिक्षकको उपलब्धता सुनिश्चित गर्नु आवश्यक छ । सुधार कुनै एउटा क्षेत्रमा, एउटा विषय र सन्दर्भमा समग्रतामा सुधारको खाँचो छ । तर समस्या सुधार कसले गरिदिने भन्ने नै हो । विद्यालयको शिक्षण सिकाइ सुधारका लागि प्रधानाध्यापक र शिक्षकको जति भूमिका अरुको हुन सक्दैन्  । शिक्षक र प्रअले चाहना गरे अरुले नचाहे पनि सुधार हुन्छ, उनीहरुले नचाहे अरुले मात्र चाहेर सुधार संभव देखिएन् । सुधारका लागि जिम्मेवार र जवाफदेही बनौँ, हातेमालो गरौँ । सुधार संभव छ । धन्यबाद । (अर्घाखाँची, डिभर्नाका विश्लेषक आचार्य शिक्षा क्षेत्रमा क्रियाशिल छन् । deviramac@outlook.com) (यो सामग्री शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीको सहयोगमा तयार गरिएको हो ।)