सन्धिखर्क नगरपालिकाकाको विकास र जनप्रतिनिधि

सन्धिखर्क नगरपालिकाको मेयर, उपमेयर विभिन्न वडाका वडाध्यक्ष र सदस्यहरूलाई विजयी हुनुभएकोमा हार्दिक बधाइ अनि शुभकामना । सन्धिखर्क नगरपालिकाको मतदाता (मत हाल्न नपाएपनि) भएको र जिल्ला बाहिर बसेर आफ्नो जिल्ला, सदरमुकाम र गाउँका विकास गतिविधि हेर्दा उत्पन्न विचारहरूलाई यो पत्रमार्फत तपाईँहरू समक्ष प्रस्तुत गर्दैछु । शपथ लिएर कार्यभार सम्हाल्न नपाउँदै सल्लाह दिने हतार गरेको पनि हुन सक्छु मैले । हजुरहरूले चुनावी घोषणापत्रमा गरेका स्वैरकल्पनाहरू पनि पढ्न पाएको छैन ।
तथापि मैले यहाँ उठान गर्न खोजेका कुराहरू हजुरहरूका लागि ज्यादै साना र झिनामसिना पनि हुन सक्छन् । हजुरहरू आफैँ पनि यी विषयमा पक्कै जानकार हुनुहुन्छ होला साथै हजुरहरूका थुप्रै लब्धप्रतिष्ठित बुद्धिजीवि, विकासप्रेमी, समाजसेवी सल्लाहकारहरू पनि हुनुहुन्छ होला । यी सबैका अगाडि म नाथेका यी कुरा तपाईँहरूलाई खल्लो लाग्न पनि सक्छन् । तैपनि मैले मेरो तर्फबाट दिने सल्लाह र निरन्तर गर्ने खवरदारी एक नागरिक दायित्वको रूपमा निर्वाह गरिरहने छु । आगे हजुँहरूकै मर्जी ।
हजुरहरूसँग निर्वाचनको सन्दर्भमा गरिएका भाषण, प्रतिबद्धता र बाडिएका सपनाको पनि थुप्रो होला । नगरपालिकाका १२ वटा वडामा मिश्रित रूपमा दलीय प्रतिनिधित्व भएको छ । नगरपालिकामा चुनाव जित्ने सबैका दलीय आस्था त छन् नै तर चुनाव जितेर जनप्रतिनिधि भएकै दिनदेखि तपाईँहरू सम्पूर्ण नगरपालिकावासीको प्रतिनिधि हो । नगरपालिकाका सबैले तपाईँ जित्नेहरूका लागि भोट दिएनन् तर पनि तपाईँहरू अब सबैको हो र सबै तपाईँहरूका हुन् । अर्थात् तपाईँहरू कसैले पनि जनतालाई अब दलका आधारमा हेर्न पाउनुहुन्न । हजुरहरू दलीय स्वार्थबाट माथि उठेर काम गर्नुहुनेछ । यो मेरो अपेक्षा र आग्रह दुवै हो ।
नगरपालिकाका विकासका प्राथमिकताहरू र जनअपेक्षा त मलाई भन्दा हजुरहरूलाई धेरै थाहा छ । मैले देखेको एउटा समृद्ध नगरपालिका र हजुरहरूले देखेको समृद्ध नगरपालिकाको कल्पना पनि फरक हुन सक्छ । नगरपालिका सहर हो वा होइन भन्नेमा खास विवाद छैन, हाम्रो परम्परागत मान्यता नै नगरपालिका सहर र गाविस (हालका गाउँपालिका) गाउँ भन्ने नै हो । हामीलाई सहर चाहिएको हो अथवा सहरमा हुने विकास र आर्थिक सामाजिक पूर्वाधार पनि चाहिएको हो म स्पष्ट हुन सकेको छैन । नगरपालिकामा समाहित हुन विभिन्न गाविसहरूले गरेको अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक तरङ्ग र नगरपालिका भएपछिका केही तथ्यहरूले सन्धिखर्कलाई नामको सहर बनाउन प्रेरित गरेको देखियो । सन्धिखर्कलाई वरिपरिका गाविस मिलाएर नगरपालिका बनाउँदा सहर हुन आवश्यक पर्ने जनसङ्ख्याबाहेकका अन्य पूर्वाधार पूरा भएका थिए वा थिएनन् ? मलाई लाग्छ पक्कै थिएनन् र अहिले पनि छैनन् । यस अर्थमा अबको पहिलो प्राथमिकता भनेकै नगरपालिकामा आवश्यक र न्यूनतम पूर्वाधार विकास हुनुपर्छ होला ।
कुनै पनि निश्चित ठाउँमा सहर हुन चाहिने पूर्वाधार के के हुन् ? पूर्वाधार पूरा गरेर सहर बनाउने हो वा सहर बनाएर पूर्वाधार बनाउने भन्ने कुनै सिद्धान्त त हुँदैन तर जब कुनै पनि स्थानलाई सहरको रूपमा विकास गरिँदैछ भने त्यो विकासमा केही आधारभूत पक्षमा ध्यान दिनै पर्छ । सन्धिखर्क सदरमुकाम वरिपरिका (तोकिएको जनसङ्ख्या पुर्‍याउन र चित्त बुझाउन) नगरपालिका घोषणा गरिएको छ । अबको सन्धिखर्क नगरपालिकामा सञ्चालन हुने विकासका क्रियाकलापले पनि सहर बनाउने कि गाउँमै रहन दिने भन्ने कुराको निर्धारण गर्दछ । सन्धिखर्क नगरपालिकाका केही क्षेत्रमा हाल भैरहेको विभिन्न विकाससँग सम्बन्धित क्रियाकलाप हेर्दा सन्धिखर्कलाई पनि हामी ठूलो गाउँ नै बनाउँदैछौ कि भन्ने आभास भइरहेको छ ।
बाँगीखोलाको किनारमा रहेको समथर खेत (फुदवाङ् देखि माटेसम्म) केही वर्षमै कङ्क्रिटको जङ्गलमा परिणत हुँदैछ । तीव्र गतीमा भैरहेको प्लटिङले यो कुरा स्पष्ट पार्छ । फुदवाङदेखि तलका उर्वर खेतहरू बाँझै बसेका छन् । नगरपालिका घोषणा नहुँदै निर्माण भएका अग्ला घरहरूको नक्सा पास भएको छैन । व्यवस्थित सहरीकरणको कुनै अभ्यास भएकै छैन ।

सहर विकासको कुनै योजना र दीर्घकालीन सोच देखिदैन । खेतीयोग्य जमिनको खण्डीकरण तीव्र छ । खेतीयोग्य जमिनमा कङ्क्रिटको जङ्गल बनाएर त्यहाँभित्रको चुल्होमा पकाउने चीज कहाँबाट ल्याउने हो, कहाँबाट आउने हो हामीमध्ये कमैलाई त्यसको चिन्ता छ । यस्तै चिन्तामा यही नगरपालिका निवासी उत्तरकुमार पराजुली लेख्नुहुन्छ, कहाँबाट कसले श्राद्ध गरेर पिण्ड पठाइदिने हुन् र त्यो खाएर ती घडेरीमा बस्ने हुन् यस लोकका पितृहरू ।

बाँगीखोलालाई खुम्चाएर खोल्सो बनाइदिएका छौँ । गतवर्षमात्रै चुत्राबेसी बजार डुबानमा परेको कुरा यहाँहरूले बिर्सनु भएको छैन होला । प्राकृतिक प्रकोप खबर गरेर आउने चीज होइन र यो रोक्न सकिने विषय पनि होइन । यसमा सावधानी मात्र अपनाउन सकिन्छ । चुत्राबेँसी बजारमा पन्ध्र बीस वर्ष पहिलेको बाँगी खोलो र अहिलेको खोल्सो रूप प्रति हामी बेखबर छौँ । सिन्धुपाल्चोकको जुरेको पहिरो, त्यसले थुनेको भोटेकोशी र सो पश्चात् भएको क्षतिलाई चुत्राबेँसीवासी, सन्धिखर्क नगरपालिका र सिंगो अर्घाखाँचीवासीले आँखा चिम्लने हो वा ध्यान दिने हो । कुनै दिन भीषण वर्षा भएर पहिरो गई विहारभन्दा माथि माटेमा बाँगीखोला थुनियो भने रतहलेमा बनाएको खोल्सोमा बाँगी खोला अट्छ कि अट्दैन, भद्री खोलो र घोँचे खोलोमा आउने ठूलो भेल र बाँगी खोला मिलेपछि पानीको सतह बढ्दै जान्छ भन्ने चुत्राबेँसी बजारले थाहा पाउनु पर्ला कि नपर्ला ! थाहा पाउने कसले हो थाहा पाउने कहिले हो ?

हयुम पाइपमा कैद गरिएको बाँगीखोला ।

दुई वर्ष पहिले भित्री मधेस भनिने सुर्खेतमा बाढीले त्यति ठूलो क्षति गर्ला भन्ने सायदै सोचेका थिए कसैले । राति थुनिएको भेरीले बिहानपख मानिस बिस्तारामै भएको बखत घर डुबायो । विस्थापित तथा पीडितहरू अहिले पनि बाटोको किनारमा पालमा बसिरहेका छन् । के सन्धिखर्कमा खोलोलाई खोल्सो बनाएर घर बनाउदै गर्दा यो विषयमा ध्यान दिनु जरुरी देखेका छाैँ त हामीले ? महल ठड्याउन प्रयोग भैरहेको गिटी बालुवाले खोलाको प्राकृतिक स्वरूप कस्तो बनाइरहेको छ । पन्ध्र बीस वर्ष अगाडिको खोलाको क्षेत्र अहिले कहाँ गयो । के त्यो बगरमा पुरानै जग्गाको लालपुर्जा थियो त ?
सहर सबैको रहर पनि हो तर रहरअनुसार सहर बनाउन जानिएन भने त्यही रहर आफ्नो मृत्युको कारण बन्न पुग्छ भन्ने कुरा दुई वर्ष अगाडिको भूकम्प र काठमाडौँबाट हामीले पाठ सिक्नु जरुरी छ । हामीले सन्धिखर्कमा भएका ती ठूला ठूला खोल्सामा माटो पुरेर घर बनाएका छौँ । खोल्सा र खोलामा माटो पुरेर बनाएका ठूला ठूला घर जमिनमा भासिन ठूलो भूकम्प नै आउनु नपर्ने रहेछ । हामीले यस्तो अवस्था देखेका छौं तर बेबास्ता गरिरहेका छौं । अहिले हामी भएको एक इन्च जमिन पनि खाली नछोडेर घर बनाउने प्रतिस्पर्धामा लागेका छौं तर हामीले बिर्सिरहेका छौं । भूकम्पपछि काठमाडौंका सबैले अनुभूत गरेको कुरा । काठमाडौंको मैतीदेवीमा बस्ने मानिस खुला ठाउँ खोज्दै एयरपोर्ट पुग्नुप¥यो भने शङ्खमूलका मानिस टुँडिखेल पुगे । सन्धिखर्क नगरपालिकामा घर बनाउँदै गर्दा यो पक्षलाई ध्यान दिने वा नदिने घर बनाउनेहरूकै जिम्मा । यस्ता धेरै पक्षहरू रहेका छन् हामीले सहर बनाउँदै गरेको सन्धिखर्क नगरपालिकामा ध्यान दिनु पर्ने कुराहरू ।

सहरका लागि आवश्यक पर्ने पूर्वाधार विकास गर्नेतर्फ भन्दा भएका केही संरचना र पूर्वाधार भत्काउने प्रतिस्पर्धामा लागेका छौं । सदरमुकामभित्रै भएका हरियाली दिने जङ्गललाई कङ्क्रिट बनाइसकेका छौं । प्रकृतिले आफै निर्माण गरेका ढल निकासका पूर्वाधारलाई एउटा ह्युम पाइपमा खुम्चाएका छौं । अनि कुनै दिन ठूलो वर्षा हुँदा आएको भेल ह्युम पाइपमा नअटेर घरभित्रै पसोस् र राज्य अथवा सरकारले नहेरको अलापमा बस्नु परोस् । अनि के होला ? हामीले विचार गरेका छौँ त ?

समृद्ध सहरमा हरियाली आवश्यक पर्ला ? बगैँचाहरू चाहिएलान् । पार्कहरू चाहिएलान् ? पूर्वाधारविद् सूर्यराज आचार्यले नगरपालिकाका हरेक वडामा फुटबल मैदान, मर्निङ वाक गर्ने पार्क, किनमेल गर्ने व्यवस्थित ठाउँ, साइकल चलाउने खुला ठाउँ चाहिन्छ भन्नुहुन्छ । पहाडी नगरपालिकामा फुटबल मैदान बनाउन नसकिएला तर खेल मैदान त बनाउन सकिएला । गाउँबाट सहरमा बसाइ सरेसँगै गाउँका पाखापखेरा बाँझो छोड्ने अभियानलाई कसरी निरुत्साहित गर्ने होला ? रेमिटेन्सले कहिलेसम्म धान्ने हो ? नगरपालिकाको अर्थतन्त्र कसरी चलाउने ? रोजगारी, उद्योग र उद्यमशीलता कसरी बढाउने होला ? सन्धिखर्क नगरपालिकाको मात्र होइन जिल्लाकै अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । जिल्लामा रोजगारी भन्ने केही पनि छैन । अब संघीय सरकारले अर्घाखाँची र सन्धिखर्क नगरवासीको रोजगारीको चिन्ता गरिदिनेवाला छैन । शिक्षा र सिपको विकाससँगै उद्योग कलकारखानाको स्थापना, उद्यमशिलता, आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका रणनीतिहरू अवलम्बन गर्नु आवश्यक छ ।
एउटा भनाई छ, सुधारका लागि कहिल्यै ढिला हुँदैन । अबको सन्धिखर्कको विकासका लागि पनि धेरै बिग्रिसकेको छैन । सन्धिखर्क नगरपालिकामा हुन सक्ने प्राकृतिक विपत्ति, आगलागी, बाढी पहिरो र भूकम्पका लागि गर्ने तयारी, त्यस अनुकूल पूर्वाधार विकास एउटा पक्ष हो भने, अर्को पक्ष व्यवस्थित सहरीकरण र सहरको विकास । सन्धिखर्क नगरपालिका क्षेत्रको कुरा नगरी बजारकै मात्र कुरा गरौँ । अहिले पनि त्यहाँ सफा पिउने पानीको समस्या छ । वरिपरिको हरियालीलाई मास्दै, मूल सुकाउँदै जाँदा त्यसको प्रभाव नजरअन्दाज गरिरहेका छौँ । सिङ्गो अर्घाखाँची जिल्ला खाद्य असुरक्षित जिल्ला हो । खाद्यान्न उत्पादन हुने उवर्र भूमि मासेर कङ्क्रिटका जङ्गल विकास नगरौँ । खेती योग्य जमिन र आवास क्षेत्र छुट्याएर विकासका गतिवधि सञ्चालन गरौँ । फुदवाङदेखि माटेसम्म नै सहरीकरण गर्ने हाम्रो रहर हो कि बाध्यता ? के अब ती उर्वर र सिँचाइ सुविधा भएका सबै खेतमा घर उमार्ने हो ?
धेरै टाढा नजाऊ, २० वर्ष अगाडिको, अहिलेकोलाई आधार मानि ५० वर्ष पछिको सन्धिखर्कको कल्पना गरौं । जति सहरी विकास भएपनि खानु पर्ने अन्न र पानी नै हो, त्यसको उत्पादन र संरक्षणतर्फ ध्यान नदिई सहरी विकासमा मात्र ध्यान केन्द्रित नगरौं । अहिले गाउँबाट सहर आएको मानिसलाई सार्वजनिक शौचालयको व्यवस्था छैन । होटलमा नमागी पानी खान पाइँदैन । सडक पेटी भन्ने त सन्धिखर्कमा विकास भएका बाटोमा पर्दैपर्दैनन् । सडक पेटी बिनाको सडकको विकास गरिरहेका छौं सहरमा । सुरक्षित विद्यालयहरू, रोजगारीका अवसरहरू, उद्योग कलकारखानाहरू, अस्पताल, डिपार्टमेन्टल स्टोरको विकासमा योजनाको खाँचो छ । जुनसुकै राजनीतिक वाद वा सिद्धान्त भए तापनि मानिसका लागि आवश्यक भनेको समृद्धि हो । समृद्धि प्राप्त गर्न रोजगारी, आयआर्जन, बचत, शिक्षा, स्वास्थ्य आदिको आवश्यकता हुन्छ । पूर्वाधारविद् सूर्यराज आचार्य हालका हाम्रा सहरलाई पैसा भएको सुकुम्बासी बस्ती हुन् भन्नुहुन्छ । हामीले हाम्रो सहर पैसा भएको सुकुम्बासी बस्ती बन्नबाट जोगाउनु आवश्यक छ ।
सन्धिखर्क बजारको ढल निकास बाँगीखोलालाई बनाइरहेका छौं । समयक्रममा यो नबग्ने बाग्मती जस्तै बनेर बस्दा सन्धिखर्कको नाम गन्धिखर्क पनि त हुन सक्छ, हामीले सोचेका छौँ ? सहरी विकासमा ढल निकास प्राकृतिक खोला नदीमा होइन त्यसको आफ्नै प्रणाली हुनुपर्छ । फोहर फाल्ने ठाँउ, त्यसको पुनर्चव्रmीय पद्धति, सार्वजनिक शौचालय, खेल मैदान, पार्क, केटाकेटी खेल्ने ठाँउ, सिनेमा घर, गेष्ट हाउस, बस पार्कजस्ता क्षेत्रको विकासमा अहिले ध्यान नदिने हो भने कुनै दिन हामीले अहिलेको काठमाडौंको नियति भोग्नुपर्छ । हाम्रा पुस्ताले हामीलाई धिक्कार्ने छन् । काठमाडौंमा भूकम्पपश्चात् अग्ला घरका तला काट्ने व्रmम चलेको थियो तर अहिले फेरि तला थप्ने काम भैरहेको छ । सँगै हेरौ सन्धिखर्कमा अग्ला घर बनाउने होडबाजी । सहरमा रोजगारी सृजना हुनु जरूरी छ, गाउँको उत्पादनले सहरमा बजार पाउनुपर्छ । सहरी गरिबीले सहरमा अपराध वृद्धि गर्छ । भनिरहनु पर्दैन, चोरी, डकैति, गुण्डागर्दिजस्ता अपराध ९० प्रतिशत सहरमै हुने गर्दछन् । यदि सहर सुरक्षित बनाउने हो भने, सडक बत्ति, खुला स्थान, सामुदायिक संघसस्था र रोजगारी तथा आय आर्जन आवश्यक हुन्छ । प्रहरीको उपस्थितिले अपराध घट्दैन, सहरका संरचना, सहरको रोजगारी र सहरका व्यवस्थाले मात्र सहरी अपराध न्यूनीकरण हुन्छ ।
जनगणना २०६८ अनुसार तत्कालीन सन्धिखर्क गाविसको कूल जनसङ्ख्या १३,८२५ रहेको थियो । स्थानीय निकायको पुनर्संरचना हुँदा ४१०७९ पुगेको छ । यसलाई आधार मान्दा हाल सन्धिखर्कको बजार क्षेत्रमा करिब दश हजार जनसङ्ख्या बस्छ, यसमध्ये बजारबाट तरकारी खरिद गरेर खाने सात आठ हजार होलान् । यो सानो सङ्ख्यालाई बन्दागोभि र खुर्सानी उत्पादन गरेर खुवाउन नसकेको हाम्रो अवस्था छ । के अबको सन्धिखर्कले पनि बन्दागोभी, टमाटर, खुर्सानी र धनियाँको पातको लागि पनि बुटवल कपिलवस्ुतकै भर पर्ने हो वा अझ पञ्जावको ?
समग्र जिल्लामै प्राकृति स्रोतबाट आम्दानी छैन । सन्धिखर्क नगरपालिकामा त यो झनै छैन । यस्तो अवस्थामा मानवीय पूँजी निर्माण महत्वपूर्ण हुन्छ । मानवीय पूँजी भनेको शिक्षा हो । समग्र जिल्लाको शिक्षाको अवस्था कमजोर नै छ । सन्धिखर्क नगरपालिकामा निजी विद्यालयले कक्षा १० सम्म भरथेग गरेका छन् । तैपनि अभिभावकले विश्वास गर्न सक्ने गुणस्तरीय शिक्षा दिन नसकेर जिल्लाका ३० प्रतिशतभन्दा बढी विद्यार्थी १२ कक्षासम्मको शिक्षाका लागि बुटबल, काठमाडौं, पोखरा पुग्छन् । यसै वर्ष एसइइ उत्तीर्ण भएकामध्ये १५ देखि २० प्रतिशत मेधावी विद्यार्थी जिल्लाबाहिर गए, र उनीहरू जिल्ला फर्कने संभावना कमै छ । सहरी विकासले यो पक्षमा ध्यान दिनु पर्ला कि नपर्ला ? स्वास्थ्यको कुरा गर्दा बुटबलका थुप्रै नीजि क्लिनिक अर्घाखाँचीका विरामीले चलाएका छन् भन्ने कुरा भनिरहनु पर्दैन ।

हाम्रा प्राथमिकता के हुन्, घर र बाटो मात्र हो कि, सुरक्षित र स्वस्थ पनि हो । दिगो विकास यसमा जोडिएला । डोजर लगाएर बाटो खनेर मात्र विकास हुँदेन । गासलाई प्राथमिकता दिने हो कि बासलाई । हाम्रो सहरी विकासले हामीलाई सम्पन्नतातर्फ लैजाँदै छ कि विपन्नतातर्फ ।

विकास भनेको कसैले गरिदिएर हुने चीज होइन, यो त जसलाई चाहिएको छ, त्यसले गर्ने हो । इतिहास हेरौँ, २०४० र ४२ सालमा हाम्रा बुबा बाजेहरूलाई बाटो चाहिएर ३,४ वर्षको अवधिमा गल र गैँटी, कोदालाले गोरूसिंगे सन्धिखर्क बाटो खनिएको थियो तर त्यही बाटो अर्कैले गरिदिनु परेकाले कालोपत्रे हुन २० वर्ष लाग्यो । सडक खन्दा डोजरमा भएको खर्चको एउटा उदाहरण हेराँै । विहारदेखि डिभर्नाको कबिरासम्मको बाटो २०५४ सालमा खनिएको हो । बीस वर्ष भयो उक्त बाटो खनेको र हरेक वर्ष त्यस खण्डमा बजेट विनियोजन हुन्छ, डोजर लगाइन्छ, माटोले खाल्डा पुरिन्छ, हिउँदभरि धूलो उडाइन्छ, बर्खामा भलले सबै बगाएर खाल्डा बनाउँछ, अनि फेरि सुरु हुन्छ डोजरको पुर्ने काम । यो चव्रm चर्खाजस्तै चलेको छ, अभैm कति चल्ला । दुई पटक कालोपत्र गर्न पुग्ने बजेट माटोले खाल्डो पुरेरै सकिएको छ । यदि दिगोपनाको हिसाबले हेरिएको भए बाटो खन्दा नै भल तर्काउने नाली खन्ने, कल्वर्ट हाल्ने र दुई तीन वर्षमै ग्राभेल गरी अगाडि बढाएको भए यसले यो नियति भोग्नु पर्दैन थियो ।
जनताको ठूलो अपेक्षा लिएर जनप्रतिनिधि हुनु भएको छ । गर्न सक्ने र हुने कुराको मात्र सपना देख्नुस् । कुनै कुरा बोल्नुभन्दा पहिला त्यो गर्न सकिएला नसकिएला विचार गर्नुस् । दलीय आस्थाभन्दा माथि उठेर दिगो विकास, समृद्धि र रोजगारीका लागि अगाडि बढ्नुस् । समग्र जिल्ला र सन्धिखर्क नगरपालिकाको विकासका लागि सहयोगी हातको अभाव छैन, तपाईँहरूको इच्छाशक्तिले यसलाई सफल बनाउने छ ।
जनताको गुनासा सुन्ने हेलो सरकारजस्तै हेलो सन्धिखर्क नगरपालिका स्थापना होस् । सबै जनप्रतिनिधिलाई सामाजिक सञ्जालमा भेटन सकियोस् । जनताले दुख, सुख बाँड्न दुई घण्टा हिँडेर नगरपालिका आउन नपरोस् । विद्यूतीय शासनको प्रवर्धन गरियोस् । चकलेटी र चर्चा कमाउने होइन दिगो विकास र समृद्धिको नमूना सहर बनाउने तपाईँहरूको सपना पूरा होस शुभकामना । धन्यबाद ।

बुटबलबाट प्रकाशित हुने पत्रिका दैनिक पत्रमा २०७४।३।२३ मा प्रकाशित ।
deviramac@outlook.com