Latest Book

सरकारी जाँगिरका तिता मिठा

२०६० साल जतिखेर म बुटबल बहुमुखी क्याम्पसमा बि एड मा पढ्दै थिए त्यसैबेला सरकारी जागिरको प्रारम्भ भयो । लोक सेवा आयोगबाट अन्तवार्तामा सफल भएको खबर पाएपछी मामाघरको छिमेकि मामाले ठट्यौलि पारामा “ल भान्जा अब जहान परिवारलाइ वर्षमा एकजोर नयाँ लुगा किन्न सकिने भइयो” भन्नु भएको अझै पनि सम्झना छ मलाई । रु ३९०० तलब स्केलबाट शुरु भएको मेरो जागिर ३० हजार पुगेको छ तर मामाले भनेजस्तै निजामती सेवा ऐनले परिभाषित गरे अनुसारको परिवारलाइ एकजोर नयाँ लुगा किन्न भने अझ सकिने अवस्था देखेको छैन र किनिदिएको पनि छैन ।
मान्छेले सोचेजस्तै हुने भए म आज जहाँ छु त्यहा पक्कै हुने थिइन ।
मेलै ३५ वर्ष मात्र भोगेको जिन्दगीको अनुभवमा भन्न सक्छु यो दुनियाँमा जो जे भएका छन अथवा जो जुन अवस्थामा छन ति कसैले पनि त्यो कल्पना गरेकै थिएनन एक समयमा । समय अन्तरालमा जिन्दगीका उर्तरार्धका समयका कल्पना सायदै मिल्लान तर युवाअवस्थाको समयका कल्पना र जिन्दगीका भोगाइ सायदै मान्छेका मिलेका होलान यो दुनियाँमा । पढाइमा अब्बल बाबुराम बोर्ड फस्ट हुँदा होस वा प्रचण्डले कृषि क्याम्पस पढ्दा होस आज जुन अवस्थामा छन त्यो सोचे होलान जस्तो लाग्दैन मलाइ । म समग्र पढाइमा राम्रो विद्यार्थी त थिइन नै अझ गणितमा त कमजोर नै थिए । यसैकारण मैले जेनतेन एसएलसी पास गरेपछी क्याम्पस पढ्ने रहर गरिन । त्यो समयको क्याम्पस पढ्दीन भन्ने मेरो तर्क निकै आर्दशको लाग्छ अहिले आफैलार्इ ।
मैले मेरै घर र वरपरका दाजुहरुको केस (३।४ वर्षसम्म पास गर्न नसकिने र रोजगारी नपाएको) देखाएर क्याम्पस पढ्दीन भनेर रटान लगाए । घरमा मेरो कुराको सुनुवाइ भयो र प्राविधिक विषय पढे तर अहिले म त्यही पढन मन नलागेको क्याम्पसको पढाइबाट हालको यो तहमा जागिरे भएको छु । त्यही पढ्दीन भनेको क्याम्पसको औपचारीक शिक्षा लिएर उच्च शिक्षा अध्ययन गर्न लालायित छु ।
जनयुद्ध भन्न मिल्ने नमिल्ने थाहा छैन तर २०६० सालतिर मध्यपश्चिमको रोल्पा रुकुम माओबादी जनयुद्धले चरमोत्कर्षमा पुगिसकेको अवस्था थियो । मेरो जागिरको सुरुवात रुकुमबाट भयो । सल्यानबाट लगातार २ दिन हिडेर मुसिकोट पुग्दाको थकाइ अझ विर्सेको छैन तर अहिले त रुकुममका काठमाण्डौबाट रात्री बस चल्छ ।
जनयुद्धकै प्रभाव जिल्ला सदरमुकामा ६० सालतिर सर्वसाधारणका लागि एउटामात्र फोन थियो । ४ घण्टा लाइनमा बसेर पालो आउने त्यो पनि एकपटकमा फोन नलागे पुन डायल नगरिने । अहिले त रुकुममा दुरसञ्चारले ४ मिनेटमा मोबाइलको सिमकार्ड उपलब्ध गराउँछ । डेरा गरेर बसेको घरको ढोकामा प्वालहरु थिए । कुनैबेला माओवादी र सेनाको दोहोरो फायरिङ हुँदा गोलिले ढोका छेडेर भित्र कमिजमा गोलि झुन्डिएको र त्यही कमिज लिएर काठमाण्डौ गएर साथिहरुको सरुवा भएको कथा सुनाउथे पुराना साथिहरुले । खच्चडले सामान ढुवानी गर्दथे त्यो बेला तर सदरमुकाममा माओवादीको कारण पर्याप्त चामल पाइदैन थियो । खाद्य संस्थान नामको अफिस मात्र थियो जहाँ कर्मचारीहरु दिनभर तास खेलेर विताउथे । 
खाद्य संस्थानका कार्यालय सहायकको डेरामा हामी ३।४ जनाले खाना खान्थ्यै । तर बिडम्बना उनकै भान्सामा चामल नभएर धेरै छाक सिस्नो तरकारीसँग मकैको ढीडो र रोटीमा छाक टार्‍यौ । अहिले त रुकुमको सदरमुकामका पसलमा बास्मतिका बोरा र चोकमा ब्रोइलर भेट्न सकिन्छ । दाङ्बाट जाँदा आफैले बोकेर लगेको पाठक दालमोठ र खच्चडले बोकेको चिउरा धेरै दिनका खाजा बने ।
१८ महिना रुकुम बस्दा धेरै रातहरु त्रासदीपूर्ण तरिकाले विते । रातीमा पड्कने ५।७ राउन्ड गोलि त सामान्य भएको थियो । ७ दिन १० दिनपछि पुग्ने पत्रिका पढ्न विमानस्थलबाट पत्रिकाको भारी बोक्ने भरियासँगै पत्रिका पसल पुगियो धेरै दिन । खाजा खान आधा घण्टाको बाटो हिडियो धेरै दिन । राष्ट्रिय पत्रिका त कति सुगम छ अहिले भन्न सक्दिन तर रुकुममा अहिले २ वटा एफ एम सञ्चालनमा छन् । स्थानीय पत्रिका पनि प्रकाशित हुन्छन् । त्यतिबेला २।४ पटक माओवादीहरुले सञ्चालन गरेको एफ एम सुनेका थियौ रेडियोमा तार जोडेर । कस्तो अवस्थालाई अपहरण भन्ने भनेर प्रष्ट हुन सकेको छैन तर कार्यालयको कामले फिल्डमा गएको बेला एकपटक ४ दिनसम्म फरक ठाँउमा लगेर राखेको अनुभव बटुलेको छु ।
प्रधानमन्त्री सुर्य बहादुर थापाको युनिफाइड कमाण्डका सिआइडी भएको नाममा । त्यति नै बेला त निकै तनावपूर्ण भएपनि सम्झदा अहिले रमाइलो लाग्छ । हामी ३ जना  थियौँ । हामीलाई राखेको घरमा एकजना कमरेडले झोला राखेका थिए । मैले राति त्यो झोला खोले । साथिहरुले बम हुन सक्छ नखोल भनेर धेरै कर गरेका थिए तर मैले मानिन । झोलाम एउटा खालि कागज र जनसरकार प्रमुख लेखिएको छाप भेटियो । त्यही सादा कागजमा तीन जना मानिसलाइ सदरमुकाम जान अनुमति दिइएको छ भन्ने व्यहोरा लेखेर जनसरकार प्रमुखको छाप लगाएर पाँचौ दिनको राति ३ बजे उठेर भागेर सदरमुकाम आयौँ । सरकारी नियम अनुसार काममा खटेपछि दैनिक भ्रमण भत्ता उपलब्ध हुन्छ तर त्यसबेला तत्कालीन हाकिमले काम नगरेको भनेर दैनिक भ्रमण भत्ता दिएनन त्यतिबेला असाध्यै पिडादायी भएको थियो मेरा लागि ।
कुनैबेला फिल्डमा काम भएन भनेर हाकिमले दैनिक भ्रमण भत्ता नदिदा दुख मानेको मैले काम नगरि दैनिक भ्रमण भत्ताको बिल भरेर मात्र भत्ता लिने अवसर पाँउदा त्यो भत्ताको माग गरीन कुनै बेला । १३ वर्षको अवधिमा यसो गरेको पनि छैन । यसो भनेर म साधु बन्न खोजेको होइन तर परिस्थिति कहिलेकाँही फरक फरक हुन्छ भन्ने सन्दर्भ मात्र हो यो ।
नेपालको सरकारी जागिरलाइ धेरै थरि उपमा दिने गरेको पनि पाइन्छ । १३ वर्षको जागिर अवधिमा धेरै तिता मिठा अनुभव भए । कति हाकिमसँग ठाकठुक भयो त कहिलेकाँही सेवाग्राहीसँग पनि । नियमले नमिल्ने काम गर्दिन भन्दा सभासदहरुलाइ फोनमा नमस्कार गर्न पाउने अवसर पनि मिलेको छ । ५ महिना अनुपस्थित भएका शिक्षकको हाँजिरीमा गयल जनाउँदा उनै शिक्षकबाट धम्कीको सामना पनि गर्नु परेको छ । नियम संगत मात्र काम गरौ र केही सुधार गरौ भन्दा कार्यालयमै आलोचनाको विषय बनिएको छ ।
म गलत पनि हुन सक्छु तर कर्मचारीतन्त्रमा वास्तविक साथी भन्ने नै हुदैन जसले अर्काका लागि केही त्याग गर्न सकोस । सरुवा बढुवा तालिम गोष्ठि सभा सेमिनार कुनै पनि काममा पाएसम्म अर्को व्यक्ति जाओस अर्काको होस मेरो पालो फेरी आउला भन्ने नै हुदैन । यो अवसरबाद अत्यन्त हावी हुने क्षेत्र हो । तथ्याङ्क व्यवस्थापनका लागि Software सम्बन्धी कार्यशाला गोष्ठीमा कम्प्युटर खोल्न पनि सिक्न नभ्याएका र वेभसाइट सम्बन्धी तालिममा माउस चलाउने सिप सिक्न नभ्याएका साथीहरु सहभागी भएको अवस्था देखेको छु । 
व्यवस्थापनका सिद्दान्तहरुमा मात्र Right man in Right place at right time भन्ने पढ्ने र परीक्षामा लेख्ने मात्र हो । एउटा मन्त्रालय अथवा विभागभित्र पनि तालिम गोष्ठि वैदशिक भ्रमण तथा अध्ययनका अवसर लुकाउने प्रचलन छ । आफु अनुकुल नहुँदा अर्काले अवसर नपाओस भन्ने प्रवृति त छदैछ कतिपय अवस्थामा माग गर्ने निकायसँग नै मिलेमतो गरि आफ्ना लागि मात्र अनुकुल हुने मापदण्ड समेत तयार गराउन सक्ने शक्ति पनि संचित हुन्छ।
नासु, अधिकृत स्तरका कर्मचारीका लागि भनेर तोकिएर आएका अन्तर्राष्ट्रिय स्तरका तालिम गोष्ठिमा अध्ययनमा भाग लिन सहसचिव र सचिव समेत पुगेका दृष्टान्त भेटन सकिन्छ । भूपि शेरचनले भनेजस्तो सबैलाइ हँजुर हँजुर भन्दा गधालार्इ पनि हँजुर भन्ने सम्म नियति भोग्ने गरि माथिल्ला पदका हाकिमहरुसँग हँजुर हँजुर गर्दैमा अधिकांशको उमेर हद पुगिसकेको हुन्छ निजामती सेवामा । निजामति सेवाको सबैभन्दा विकृत कुनै पक्ष छ भने त्यो सरुवा र बढुवा हो । यसका बहुआयामिक परिदृश्यहरुलाइ मैले लेख लेखेर पुरा गर्न सक्दिन ।
राजनीतिक दल आबद्ध ट्रेड युनियनहरु यति बलिया भएका छन कि कसैले सरुवा हुनु पर्यो भने सचिव मन्त्री महानिर्दशकलाइ भेटेर हुने अवस्था छैन । सदस्यताको रसिद र अलिकति सहयोग शुल्क सहित ट्रेड युनियनका पदाधिकारीलाइ भेट्नु पर्छ । साना कर्मचारीको के कुरा सहसचिवहरु सचिव बन्न र आर्कषक मन्त्रालयमा सरुवा मिलाउनका लागि पनि ट्रेड युनियन भरपर्दा माध्यम भएका छन पछिल्लो गणतान्त्रिक नेपालमा । कर्मचारीतन्त्रमा राजनीति हावि भएर समस्या भएको भन्ने निकै सुनिन्छ तर मेरो बुझाइले राजनीति हावि भएको होइन यसलार्इ कर्मचारी आफैँले आफ्नो अनुकूल बनाउनका लागि हावि बनाएको हो । प्रणालीको विकास गर्न सक्ने हैसियतमा हुँदा पनि प्रणाली विकास नगरेर अरुलाइ दोष दिने पद्दतिले ग्रसीत  छ । आफु सेवामा रहुन्जेल जे कुरा गर्न सकेनन त्यही कुरालाइ सुझाव बनाएर यसो र उसो गर्नु पर्छ भन्दै लामा लामा अखवारीय लेख लेख्ने सेवानिवृतको भीड देख्न सकिन्छ । हामी नाममा जनताका सेवाग्राही भनिरहेछौ तर व्यवहारमा देखाउन सकिएको छैन र यो भएको पनि छैन ।
एउटा निजामती कर्मचारी मालपोत कार्यालयमा आफैले अर्को आफ्नै साथीलाइ घुस दिन बाध्य छ । यातायात कार्यालयमा काम नभएर हैरानी खेप्नु पर्छ । राहदानी बनाउन ठूलो सास्ती झेल्नु पर्छ । एउटा कार्यालय सहयोगीले सरुवाका लागि मन्त्रीसम्म धाउनु पर्छ । वर्षमा तिनपटकसम्म मन्त्रीको इच्छा अनुसार सचिव फेर्ने र फेरिने सचिवहरुबाट मन्त्रालयस्तरबाट के ठूलो परिवर्तन हुन सक्ला र । जसरी मैले एक दशकसम्म कुनै एउटा उदाहरणीय काम नगरी राज्यबाट लाखौ सुविधा लिइसके त्यसरी नै मेरो अर्को दशक वित्ने छ अनि घुर्की लाउने छु छोडिन्छन् यस्ता जागिर पेन्सन भैसक्यो । राज्यले मलाइ सक्ने जति दिइरहने छ तर मैले राज्यलाइ मनलागे जति मात्र दिनेछु । कार्यालयका आधा समय राजनीतिका गफ गर्दै वित्ने छ । बाँकि समय कहिले ढिलो जानेछु त कहिले छिटो निस्कने छु अनि अरुको आलोचना गर्दै आफुमात्र नैतिकवान र इमान्दार छु भन्ने डम्फु बजाउदै वित्ने  छन मेरा दिनहरु । यसरी नै सकिने छ मेरो तलबडेराभाडादालचामलनुनतेलपानीबत्तिलत्ता कपडाऔषधी उपचारबोर्डिङको फि६० रुपैया केजि पर्ने बन्दागोभिभान्टाटमाटर र आलुमा ।