Latest Book

‌औचित्य छैन परीक्षाको २

अभिभावकका लागि विद्यार्थीको परीक्षाको नम्बरले कुनै अर्थ नराख्ने हुँदा कति नम्बर ल्यायो भन्दा पनि के जान्यो र के जानेन भनेर थाहा दिनुपर्छ । हरेक शिक्षकले प्रत्येक विद्यार्थीले के जान्दछ र के जान्दैन भन्ने थाहा पाएर विद्यार्थीलाई सहयोग गर्नुपर्छ ।

यदि त्रैमासिक तथा अन्य निर्माणात्मक परीक्षाहरुलाई यसरी उपयोग नगर्ने हो भने परीक्षा लिनु र नलिनुको खास अर्थ छैन र २–३ घण्टामात्र लिने यस्ता परीक्षा भन्दा ६ घण्टा पढाउनु बढी उपयोगी हुन्छ भन्ने सन्दर्भलाई पहिलो श्रृङ्खलामा प्रस्तुत गरिएको थियो ।

पढ्नुहोस् :  औचित्य छैन परीक्षाको – १

दोस्रो श्रृङ्खलामा विद्यालयहरुमा परीक्षा लिने पद्धति कस्तो छ ? त्यो कसरी सञ्चालन भैरहेको छ ? र के त्यो साच्चिकै कक्षाको सिकाइका लागि प्रभावकारी उपयोगी छ त ? यीनै सन्दर्भमा दोश्रो श्रृङ्खला केन्द्रित छ ।

सामान्यत पढाइसकेका पाठहरुमध्येबाट विद्यार्थीले के कति जाने वा बुझे भनेर उनिहरुको सिकाइ अवस्था थाहा पाउन परीक्षा लिने प्रचलन छ । यस्तो अवस्था थाहा पाउनका लागि लिइने परीक्षामा विभिन्न प्रकारका प्रश्नहरुको प्रयोग हुन्छ ।  कहिलेकाँही शिक्षा कायार्लयमा, कहिले स्रोत केन्द्रमा र  कहिलेकाँही विद्यार्थी मार्फत पनि परीक्षाका प्रश्नहरु हेर्न पाइन्छ ।

परीक्षाका प्रश्नहरु हेर्दा कहिलेकाँही यस्तो लाग्छ, हामीले तेल नाप्न केजीको र चामल जोख्न लिटरको प्रयोग गरिरहेका छौं । विषयवस्तु पनि एकै प्रकारको नभएको र फरक फरक विषयवस्तुका लागि फरक फरक प्रश्नहरुको विकास भएको छ तर परीक्षामा प्रयोग भएका प्रश्नहरुमा यस प्रकारको संवेदनशीलता देखिदैन ।

केही समय अघि एक विद्यालयमा पुग्दा दोस्रो त्रैमासिक परीक्षा चलिरहेको  थियो । विद्यालयमा म गएको दिन सामाजिक विषयको परीक्षा चल्दै रहेछ । कक्षा १ देखि कक्षा ८ सम्मका प्रश्नपत्र कार्यालय कक्षको टेबलमा छरिएका थिए ।

प्रश्नहरु सरसर्ति हेर्दा मलाई केही अनौठो लाग्यो । ती प्रश्नपत्रमा नमिलेको प्रश्न सोधाइ, अङ्क विभाजन, जोडा मिलाउने प्रश्नमा ध्यान नदिइएको पक्ष, बहुवैकल्पिक प्रश्नमा नमिलेका विकल्प र खाली ठाँउ भर्ने, छोटो तथा लामो उत्तरात्मक सबै प्रकारका प्रश्नमा केही न केही खोट लगाउन सकिने अवस्था थियो । कतै विकल्प नमिलेको, कतै विषयवस्तु अनुसार प्रश्नको प्रकार नमिलेको, भाषिक समस्याको त झन् कुरै नगरौँ । प्रश्नमा हुनुपर्ने अन्य विश्वसनीयता, वैधता, जस्ता पक्ष त झनै कसरी पाउनु र ? मैले विद्यालयको कार्यालय कोठामा बसेर प्रधानाध्यापकसँग केही अनौपचारिक कुरा गर्दै प्रश्नपत्रको विषयमा केही कुरा गरे ।

म : सर यी प्रश्न कसले बनाएको ?

प्रअ : यी त स्रोतकेन्द्रबाट ल्याएका प्रश्न हुन नि त ।

म : अनि त्यहाँ कसले बनाउँछ त ?

प्रअ :   सामाजिक विषयको समिति छ । सबै मावि तहमा सामाजिक पढाउने शिक्षकहरु हुनुहुन्छ त्यो समितिमा । वहाँहरुले नै बनाउनु हुन्छ ।

म : अनि माविका सामाजिक पढाउनेहरुले नै सबै तहको प्रश्न बनाउनु हुन्छ त ?

प्रअ : हो त । सामाजिक विषयको विज्ञ हो नि त,वहाँहरु ।

म : जुन तहमा जसले जे विषय पढाँउछ उसैले  प्रश्नहरु बनाउने पनि त हुन्थ्यो होला नि ? विज्ञ नै भएपनि नपढाउने कक्षाको प्रश्नपत्र बनाउनत कठिक पनि हुन्छ होला नि है ? अनि हरेक विद्यालयको कोर्ष पनि  त बराबर नै सकिएको हुन्छ भन्ने भएन,अनि कसरी गर्ने त ?

प्रअ : खै त, सधैँ यस्तै नै छ क्यारे । हुन त हुने हो । कसले बनाउने भन्ने समस्या । त्रैमासिक अनुसार मिलाएर बनाउनुहुन्छ । कोर्षको त खासै मतलब हुँदैन ।

म : अनि परीक्षा विद्यालय आँफैले लिने भएपछि, प्रश्न पनि त विद्यालयमा शिक्षक आँफैले बनाउने होइन र ! आँफै बनाउदा पनि हुदैन र ?

प्रअ : स्रोतकेन्द्र भरी त एउटै गर्नु पर्छ नि । अनि प्रश्न बनाउने पनि झण्झट नहुने ।

म : एउटै गर्नु पर्छ भन्ने कतै भए जस्तो त लाग्दैन मलाई त । अनि प्रश्न त विषय शिक्षकले बनाए भै हाल्छ नि, होइन र ?

प्रअ : खै कुन्नि । सधै स्रोतकेन्द्रबाट ल्याउने गरिन्छ । प्रश्न बनाउन पनि सरहरुले जागर गर्नुहुन्न । स्रोतकेन्द्रबाट कक्षाको विद्यार्थी सङ्ख्या अनुसार प्रश्नपत्र गनेरल्याए भैहाल्छ । यहाँ त कहिले कसले, कहिले कसले म भ्याउदिन भन्नुहुन्छ। अनि टाइप पनि गर्नु पर्छ । कसले गर्ने । उतै सजिलो ।

म : अरु विषयको पनि यस्तै हो कि फरक छ नि ?

प्रअ : सबै विषयको समिति छ, उसैले गर्छ । हामीले त पैसा तिरेर प्रश्न ल्याउने हो । अरु खासै वास्ता हुँदैन ।

म : मैले यसो हेरेको, प्रश्नमा त केही गल्ती पनि देखिन्छ त सर ।

प्रअ : प्रश्नमा केही न केही गल्ती त सधैँ हुन्छ । यस्तै हो । हाम्रो विद्यालयमा गणितको सरले प्रश्नमा धेरै गल्ती भयो, म आँफै बनाउछु भन्नुहुन्छ कहिलेकाँही त । एउटाले एउटा विषयको मात्र बनाएर नहुने । फेरी समूहमा सबैसँग मिल्नै पर्यो ।

म : अनि स्रोतकेन्द्रमा प्रश्नमा गल्ती भएको कुरा उठ्दैन त ।

प्रअ : उठ्न त उठँछ,तर कहिलेकाँहीमात्र । त्यसमा खासै ध्यान दिएको पाइँदैन । पहिले पहिले अलिक बढी उठ्थ्यो, अनि जसले गल्ती भयो भन्छ, उसैले बनाउने भन्न थाले । अचेल त कसैले कुरा पनि उठाउँदैन, उठाए पनि मतलब नै हुँदैन ।

म : अनि प्रश्न किनेर ल्याउने भन्नुभयो । प्रश्न किन्ने पैसा कहाँबाट ल्याउने त ? स्रोतकेन्द्रमा त्यो पैसा के मा खर्च हुन्छ त ?

प्रअ : प्रश्न किन्न त विद्यार्थीबाट परीक्षा शुल्क लिने गरिन्छ । स्रोतकेन्द्रमा कम्प्युटर टाइप गरेको, छपाँइ अनि प्रश्न बनाउनेलाई, परिमार्जन गर्ने कार्यशाला, खाजा खाना खर्च यस्तैमा त होला, खै सबै त थाहा भएन सर।

म : अनि तपाँइहरुले तिरेको पैसाको हिसाब थाहै हुँदैन त?

प्रअ : हैन, अब त्यो सबै खोज्ने कुरा हुँदैन । काम गर्नेहरुले २, ४ पैसा लिन्छन् । हामीले काम गर्दैनौ ।

म : भनेपछि, प्रश्न बनाउने, टाइप गर्ने सधै एउटै मान्छे हुन्छन् । एउटा स्रोतकेन्द्र भरीका विद्यार्थी सङ्ख्या र विषय अनुसारको प्रश्न भनेपछि ठूलै कारोबार हुने रहेछ त ।

प्रअ : हुन्छ होला । हामीलाई खासै चासो नै हुँदैन।

यति कुराकानी पछि कार्यालयमा ४,५ जना शिक्षकहरु पनि आइपुग्नु भयो । अनि मैले आफ्नो परिचय दिएर प्रअ सँग कुरा हुँदै गरेको विषय जोड्दै वहाँहरुसँग पनि सोही जिज्ञासा राखे ।

म : प्रश्नपत्र स्रोतकेन्द्रबाट आउदो रहेछ, यसमा त गल्ती पनि रहेछ । अनि हजुरहरुको कोर्षसँग चाहि कत्तीको मिल्ने गरेको छ ? खासै त मिल्दा पनि मिल्दैन होला ।

शिक्षक १ : सधै यस्तै गल्ती त हुन्छ । कोर्ष पनि मिल्दैन । तैपनि हाम्रोमा त स्रोतकेन्द्रबाटै प्रश्नपत्र ल्याउने चलन छ ।

म : स्रोतकेन्द्रबाटै ल्याउनु पर्ने भन्ने त कतै छैन होला । अनि प्रश्न त विद्यालयमा बनाउन पनि त मिल्छ नि, होइन र ?

शिक्षक २ : सबैले स्रोतकेन्द्रबाट लैजान्छन, हामीले नल्याउने भन्न पनि मिलेन ।

म : प्रश्नहरु नै गल्ती हुने कोर्ष नमिल्ने भएपछि त, खास अर्थ पनि त भएन ।

शिक्षक ३ : त्यो प्रश्न बनाउने झण्झटीलो काम के गर्नु । उतैबाट ल्यायो आनन्द ।

म : मैले त प्रश्नमा गल्ती पनि हुने, अनि कोर्ष पनि नमिल्ने हुनाले, आँफै बनाउँदा प्रभावकारी हुन्छ जस्तो लागेर मात्र यी कुरा गरेको । हुन त उताबाट ल्याउँदा सजिलो हुने भयो । काम त सजिलै गर्नु पर्योप नि हैँ । अनि साच्ची प्रश्नसँग उत्तर कुञ्जिका पनि आँउछ कि !

शिक्षक १ : उत्तर कुञ्जिका त किन पो चाहिन्छ र । चाँहिदैन । सधै पढाइरहेकै कुरा त हो नि ।

कार्यालय सहयोगीले चिया ल्याउनुभयो, चिया विस्कुट शुरु भयो । चिया खाएर म मेरो बाटो लागे ।

विद्यालयहरुमा प्रश्नपत्र खरिद गर्ने प्रचलन बढेको छ । यसले शिक्षकको व्यवसायिकतामा प्रश्न चिन्ह उठाउने गरेको  छ । प्रश्न पत्र बनाउने काम अब शिक्षकको नहुने अवस्था सिर्जना हुँदैछ । बजारमा प्रश्नका सेटहरु किन्न पनि पाइन्छ । स्रोतकेन्द्रमा सधै एउटै व्यक्तिले प्रश्न बनाउने खालको सिन्डिकेट चलेको छ । देशैभरी करिब ८० देखि ९० प्रतिशत विद्यालयहरुले आँफै प्रश्न बनाउँदैनन् । हामीले निशुल्क शिक्षाको रटान लगाँइरहदाँ कक्षा १ देखि नै परीक्षाका लागि शुल्क उठाइएको छ ।

हेर्नुहोस तस्वीर  :

विद्यालयको सूचनापाटीमा कक्षा अनुसार परीक्षा शुल्क विवरण

परीक्षा के का लागि र किन गर्ने भन्ने हो भने सिद्धान्तत १०, १५, २० वटा गहकिला र आहाँ भन्ने बुँदा तयार हुन सक्न् तर तिनीहरुको उपयोगिता शुन्य जस्तै छ । कतिपय जिल्लामा शिक्षकका सङ्घ र सङ्गठनहरुले विद्यालयको परीक्षाको जिम्मा लिएर परीक्षाको समय तालिका बनाउने, प्रश्न बनाउने, प्रश्न पठाउने सबै काम उनीहरुले नै गर्छन । विद्यालयहरु परिक्षा कहिले गर्ने भन्ने कुरामा पनि अरुले नै निर्णय गरिदिने भएका छन् ।

अवस्था कस्तो सम्म पाइएको छ भने, कसले धेरै विद्यालयमा आफ्नो सङ्गठनका प्रश्न प्रयोग गराउने भन्ने प्रतिस्पर्धा छ, अनि जसले धेरै विद्यालयमा आफ्ना प्रश्न पठाउन सक्यो उसले धेरै कमायो !

स्रोतकेन्द्रमा एकिकृत परीक्षा लिनु आँफैमा नराम्रो होइन, तर यो कसरी भै रहेको छ ? काम कुन हदसम्म गुणस्तरीय भएको छ ? र यसले सिकाइमा कसरी सघाएको छ भन्नेतर्फ ध्यान जानु पर्छ ।

शैक्षिक सुधारका ठूलाठूला मार्गचित्रमा र बहसहरुमा यी साना विषयले कहिले स्थान पाउलान् र सुधार होलान् हाम्रा मनोवृत्तिहरु, हाम्रा कार्यसंस्कृति र व्यवहारहरू । परीक्षालाई कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलापको एउटा अभिन्न अङ्गको रुपमा व्यवहारमा प्रयोग नर्गदासम्म र हरेक शिक्षकले आफैले प्रश्न बनाएर, उत्तर कुञ्जिकाको आधारमा उत्तर पुस्तिका परीक्षण गर्ने गरी विद्यालय स्तरबाटै परीक्षा लिने प्रणाली विकास नहुँदासम्म त हाल सञ्चालनमा रहेका त्रैमासिक परीक्षा फगत वहानाहरु हुन भन्छु म ।

तपाँइ सहमत नहुन पनि पाउनु हुन्छ मेरो विचारसँग । हाम्रो परीक्षा कतै ६ घण्टे पठनपाठनको समय छोट्याउने एउटा बहाना मात्र पो भएको छ कि भन्ने प्रश्नले मेरो मस्तिष्कमा २,४ वाटको करेन्ट लागिरहन्छ !!!

खै, कसरी स्वीकार गर्दै छौँ कुन्नि ! हामीले यो तितो वास्तविकतालाई ।

यो आलेख www.edukhabar.com मा पनि पढ्न सकिन्छ ।