Latest Book

शिक्षक सेवा आयोग : परीक्षा प्रणाली र प्रश्नको गुणस्तर

शिक्षक सेवा अायोग, सामुदायिक विद्यालयका शिक्षकको छनौट र बढुवा गर्ने निकाय । स्थापना भएको १२ वर्षमा पहिलो पटक खुला विज्ञापन गर्‍यो । त्यसपछिका वर्षहरुमा क्रमश: खुला विज्ञापन गर्दै गरेको थियो । शिक्षा ऐन २०२८ को आठौँ संशोधनले लामो समयदेखि समस्याको रुपमा रहेको अस्थायी शिक्षकहरुको परीक्षा र त्यसबाट स्थायी गर्ने व्यवस्था गर्‍यो । यसलाई राम्रै मानिएको थियो । परीक्षासँग जुध्नेहरुले तयारी गरे, परीक्षा नदिउ भन्नेहरु २, ४ पैसा जे जति सुविधा अाउला लिएर केही गरौला भन्नेमा थिए, नवौँ संशोधन भयो ।

यसले अस्थायी शिक्षकहरुका हातमा चीची पापा दुइटै परेको छ । याे अवसर नगुमाअाैँ हैँ ।

शिक्षा ऐनलाई सार्वभौम स‌ंसदले संशाेधन गरेरै छोड्याे । अस्थायी शिक्षकको तोकिएको परीक्षाका अनिश्चयकाे गर्भमा पुग्यो । शिक्षक सेवा आयोगबाट उम्दा शिक्षक छनौट गर्ने प्रश्नका पोका बोकेर केन्द्रमा पुगेका कर्मचारी फिर्ता भए । कसैल अनुमान गरिहाल्न नसक्ने अवस्थामा पुगेको अस्थायी शिक्षकहरुको परीक्षाका लागि शिक्षक सेवा आयोगले सूचना प्रकाशन गरेको छ । अब फेरी यो परीक्षा नसरोस भनेर पशुपतिनाथसँग प्राथना नै गरौँ कि जस्तो लाग्दैछ । हेरौँ सूचना ।

उम्मेदवारहरुले स्वीकृत नामावली यहाँबाट हेर्नुहोस् । 

गतिला शिक्षक छान्न गतिला प्रश्न चाहिन्छ । विगतको तयारी अनुसार आयोगले त्यस्ता गतिला प्रश्न बनाइसकेको थियो । परीक्षा हुन पाएन । अहिले हुने परीक्षालाई तिनै गतिला प्रश्न प्रयोग हुने हुन कि फेरी झनै गतिला प्रश्न बन्ने हुन पङ्तिकारले कुनै अनुमान लगाउन सक्दैन् ।

विगतमा आयाेगले साेधेका प्रश्न, ती प्रश्नको गुणस्तर र ती प्रश्नले छनौट गर्ने गतिला शिक्षक कस्ता होलान भन्ने जिज्ञासाले यो आलेख तयार गरिएको छ । शिक्षक सेवा आयोगले २०७२ मा सोधेका प्रश्नको गुणस्तरभन्दा धेरै भिन्न नहोला कि भनेर अनुमान लगाउन सकिएला, किनकी शिक्षक सेवा आयोगका प्रबुद्ध विद्धानहरु त फेरिनु भएको छैन क्यारे ।

यसो विचार गर्छु, मूल्याङ्कनका विभिन्न तरिकाको (विषयगत- लामो छोटो, विश्लेषणात्मक आदि आदि/वस्तुगत- बहुवैकल्पिक, खाली ठाँउ भर्ने, ठिक वेठिक, जोडा मिलाउने आदि आदि) प्रतिपादन किन भयो होला ? संसारमा धेरै थरिको ज्ञान/विषयवस्तु छ, कुनै पनि व्यक्तिले सबै ज्ञान/विषयवस्तु जानेको छ छैन भन्ने बुझ्न एकै प्रकारका अथवा एउटामात्र मूल्याङ्कनको विधिले हुँदैन । धेरै थरिको ज्ञान मापन गर्नका लागि धेरै थरिका मूल्याङ्कनका साधन विकास भए होलान । इतिहासका तिथिमिति खाली ठाँउ भर्ने प्रश्नले मापन गर्ला, तर इतिहासमा भएको कुनै घटनाले अहिले पारेको प्रभावलाई मापन गर्न विश्लेषणात्मक प्रश्न चाहिन्छ होला । कुनै विषयवस्तुको सैद्धान्तिक ज्ञान उपयोगी होला त कुनै विषयवस्तुको लागि प्रयोगात्मक ज्ञान चाहिएला ।

राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ देखि ३२ को योजनाको वारेमा सैद्धान्तिक ज्ञानले पुग्ला तर बाल अधिकारसँग सम्बन्धि सैद्धान्तिक ज्ञान भन्दा पनि विद्यालयमा बाल अधिकारको संरक्षण, प्रयोग र प्रत्याभूत गर्न सक्ने हुनु पर्छ होला । अनि व्यक्तिको विषयवस्तुको ज्ञानको गहिराइ बुझ्नका लागि पनि विभिन्न प्रश्न चाहिन्छ होला । हामी ब्लुम्सको ट्याक्सोनोमीबाट दीक्षित भएकाहरुका लागि संज्ञानात्मक तहका ६ वटै क्षेत्रको मापन गर्नका लागि पनि एकै प्रकारका प्रश्नले मापन गर्न सक्दैनन होला । तर म सोचिरहन्छु, घोरिरहन्छु र आफ्नै ज्ञानमाथि प्रश्न गर्न मन लाग्छ, यी सबै सिद्धान्तहरु शिक्षक सेवा आयोगका लागि किन लागु नहुने रहेछन् । त्यसैले त प्रयोग गर्नुपर्ने बालअधिकारका कुरा पनि वहुबैकल्पिक प्रश्नबाट मापन गरिदैछ, विद्यालयमा बनाउनु पर्ने विद्याल सुधार योजना र वार्षिक कार्यतालिका पनि बहु वैकल्पिक प्रश्नमै सोधिदैँछ । कक्षाकोठाको शिक्षण सिकाइसँग कुनै नाता सम्बन्ध राख्नु नपर्ने दक्षिण कोरीयाको शिक्षाको संरचना पनि बहु वैकल्पिक प्रश्नमै सोधिने भएको छ ।

प्रतिस्पर्धात्मक सोधिने परीक्षाको प्रश्नका सन्दर्भमा विश्व वैङ्कका लागि लेखकद्वव Anderson, and Morgan, 2008 ले कुनै पनि प्रतिस्प्रधात्मक परीक्षाका लागि तयार गरिएका साधनहरु कमजोर भए भने त्यसले समय र पैसाको मात्र खर्च नगरी प्रतिस्पर्धा नै झुटो बन्न पुग्छ भनेका छन् . The quality of any competitive examination depends on the quality of the test items (questions). In fact, if the test items (questions) are poorly designed, the competitive exam cannot be able to select the best candidate. Hence, it is a fallacy of the competition.

दुई वर्ष पहिले शिक्षक सेवा आयोगले माध्यमिक तहमा झण्डै १ हजार दरबन्दिका लागि परीक्षा लिएको थियो । ९० वटा विभिन्न शीर्षकबाट २० वटा बहुबैकल्पिक प्रश्नहरु सोधियो । परीक्षा भवनबाट बाहिरिदै गर्दा एकजना परिक्षार्थीले वस्तुगत प्रश्नप्रति गरेको यो प्रतिक्रिया नै मेरा लागि यो आलेख तयार गर्ने आधार बन्यो ।

“शिक्षक सेवा आयोगले यी २० वटा प्रश्न बनाउन २,४ लाख खर्च गर्‍यो होला र २०, ४० जना विद्धान पनि सहभागि भए होलान तर २० वटा प्रश्नमध्ये ३ वटा प्रश्नमा (शिक्षक दरबन्दि, समावेशी र प्र अ छनौट) समस्या छ ।” सबै सतही ज्ञान मात्र मापन गर्ने, प्रश्न बनाउन सजिलो हुने तिथि मिति र तथ्य तथ्याङ्क मात्र सोधिएको छ । कुनै पनि प्रश्नले उच्चतहको ज्ञानको मापन गर्दैनन्, सबै प्रश्नहरु ब्लुम्सको ट्याक्सोनोमिको सबैभन्दा तल्लो तहको ज्ञान (knowledge-vomiting answer type) मा आधारित छन् ।

बहुवैकल्पिक प्रश्नका पनि विभिन्न प्रकार हुन्छन क्यारे तर शिक्षक सेवा आयोगकले विज्ञहरूले Best Answer type भन्दा अरु बनाएको देखिएन । यसै पनि सबै विषयवस्तु बहु वैकल्पिक प्रश्नबाट मापन गर्न नसकिने त छदैछ, त्यसमा पनि यसको एउटा प्रकारको मात्र प्रयोग भएको छ । वस्तुगत प्रश्नकै अन्य प्रकारको पनि प्रयोग गर्न सकिने अवस्था छदैछ । पाठ्यक्रमका विषयवस्तुले औचित्य पुष्टी गर्न सकेका छैनन । एउटा विद्यालयको शिक्षक जसको प्रमुख दायित्व शिक्षण सिकाइ हो, उसका लागि संसारभर भएको शिक्षाको ज्ञान किन आवश्यक छ ? उक्त कुरा जान्ने शिक्षकले के कुरा गर्न सक्छ र नजान्नेले के सक्दैन भन्ने स्पष्ट पार्नु आवश्यक छ । लहडका भरमा कुनै व्यक्ति विशेषलाई जुन जुन विषयवस्तु राख्न मन लाग्यो त्यो सबै पाठ्यक्रममा राखेर बोझिलो मात्र गराँउदैमा त्यसले कुशल र सक्षम व्यक्ति छनौट हुन सक्दैन होला ।

परीक्षामा सहभागी भएका ३० हजारभन्दा बढि परीक्षार्थीले शिक्षा शास्त्र संकायको मूल्याङ्कन भन्ने विषयमा असल प्रश्नमा हुनुपर्ने विभिन्न गुणहरुको वारेमा पढे, परीक्षा दिए र पास पनि गरे तर जब उनीहरु अत्यन्त प्रतिस्पर्धात्मक भनिएको स्थायी शिक्षक बन्ने परीक्षामा सहभागी हुँदै थिए उनीहरुले भेटे अस्पष्ट, द्विविधा उत्पन्न गराउने खालका प्रश्नहरु । उनीहरुले पढेका थिए विशिष्टीकरण तालिकाको वारेमा । आयोगले पनि कुन इकाइबाट कति प्रश्न सोध्ने भनेर विशिष्टीकरण तालिका बनाएको थियो, तर जब परीक्षामा सहभागी भएर बाहिर आए तबमात्र थाहा पाए, शिक्षक सेवा आयोगले विशिष्टीकरण तालिका बनाएको देखाउन मात्र रहेछ, प्रयोग गर्न होइन । त्यसैले इकाइ ४ बाट सोध्ने भनेको १ प्रश्न उक्त इकाइबाट नसोधि शिक्षा नियमावलीबाट सोधियो ।

विषयगत प्रश्नहरु पनि अत्यन्त सतही किसिमका देखिए । जब प्रश्नहरुमा जान्ने र नजान्ने विद्यार्थी छुट्याउने क्षमता हुँदैन भने प्रश्न विश्वसनीय नहुन सक्छ । प्रश्नले मापन गर्न खोजेको कुरा मापन गर्न सकेन भने प्रश्न बैध पनि हुँदैन । अस्पष्ट, दोहोरो अर्थ लाग्ने, विकल्पहरु नमिलेका, हुनु हुँदैन भन्ने प्रश्नको सामान्यभन्दा सामान्य नियम पनि पालन नभएको परीक्षाले के साच्चिकै क्षमता भएका व्यक्ति छनौट गर्ला, धेरैले सन्देह मानिरहेका थिए । ठूलो सङ्ख्यामा उत्तरपूस्तिका परीक्षण भयो, कस्ता मानिसले कसरी परीक्षण गरे आयोगलाई मात्र थाहा हुन्छ ।

किसानले साँझ पर्न थाल्यो काम त सकाउनै पर्छ भनेर गरेको हतारजस्तै हतारमा कापी परीक्षण र नतिजा निकाल्ने आयोगको कार्यशैली, परीक्षामा सोधिएका प्रश्न र संस्थागत कार्यप्रणाली तथा संस्थागत क्षमता र परिपक्वताप्रति विश्वस्त हुने आधार छैनन ।

आसा गरौँ अब हुने अस्थायी शिक्षकको प्रश्नमा समस्या देखिने छैन र सबै विषयवस्तुका लागि वहु वैकल्पिक प्रश्न सोध्ने आयोगको ढाँचा परिवर्तन हुनेछ ।  कार्यमूलक अनुसन्धान लेख्ने प्रश्न पनि नअाउने जस्तो छ । गाइडका लेखक र आयोगका विज्ञ एउटै हुने अनि तिनै विज्ञको किताबबाट हुबहु प्रश्न पर्ने अवस्था पनि नहोस भनेर प्राथना गरौँ । उत्तरपुस्तिका परीक्षण किसानको मेलो सकाउने शैलीमा हुनेछैन् । विषयगत प्रश्नको परीक्षण गर्ने दुई परीक्षकको अङ्कमा ३० नम्बर फरक पर्‍यो रे भन्ने हल्ला सुन्न नपरोस् । आयोगमा उत्तरपुस्तका परीक्षणको मेला लागेको भन्ने खवरले परीक्षा दिएकाहरु चिन्ता नबढोस ।

आसा गरौँ आयोगका प्रश्नहरु प्रश्नमा हुनुपर्ने सबै गुणयुक्त हुनेछन् । क्षमता भएका र कमजोरलाई छुट्टाउने विभेदीकरण क्षमता भएका प्रश्न हुनेछन् । उत्तरपुस्तिका परीक्षण राम्रोसँग हुनेछ । जानेको कुरा राम्रोसँग लेख्नुहोला । सबैलाई शुभकामना ।