Latest Book

अन्तर्वार्ता : के गर्ने, के नगर्ने ।

शिक्षक सेवा आयोग लगायत लोक सेवा आयोगमा प्रतिस्पर्धात्मक परीक्षाका अन्तर्वार्ता हुने गर्छन् । म आलेख अन्तर्वार्ता कसरी दिने भन्ने विज्ञको दृष्टिले भन्दा पनि आफैले अन्तर्वार्ता दिदाका वखत गरेका अनुभवका आधारमा तयार गर्दैछु । खासगरी शिक्षक सेवा आयोग र लोक सेवा आयोगको शिक्षा सेवामा नाम निकाल्ने धेरै साथीहरुले  फोन र  म्यासेन्जरबाट अन्तर्वार्ता तयारीमा के गर्ने भनेर सोधिरहने हुनाले वहाँहरुका लागि यो आलेख तयार पारिएको हो । यो आलेखमा अन्तर्वार्ताको तयारी कसरी गर्ने र अन्तर्वार्तामा कसरी प्रस्तुत हुने सम्बन्धमा केही सामान्य बुझाई र अनुभव प्रस्तुत गरिएको छ । यसमा प्रस्तुत कुराहरू सधै सबै सन्दर्भमा लागु नहुन पनि सक्छन् र यी नै सबै अन्तिम सत्य पनि होइनन् ।

अन्तर्वार्ता भनेको खासगरी व्यक्तिको प्रस्तुति, अन्य व्यक्तिहरूसँग प्रस्तुत हुँदाको शैली र व्यक्तिमा भएको आत्मविश्वासीपन हेर्ने माध्यम हो ।

अन्तर्वार्तामा प्रस्तुत हुँदा सकेसम्म आफु प्राकृतिक रुपमा जे जस्तो हो, त्यही रुपमा प्रस्तुत हुनु आवश्यक हुन्छ । सधै जस्तो पोसाक लगाइन्छ, त्यस्तै लगाउने, सधैँ जस्तो बोलिन्छ त्यस्तै बोल्ने । कृत्रिमता र नक्कल नगर्ने ।

अन्तर्वार्तामा जाने भनेर नयाँ कपडा किन्ने, सिलाउने नर्गनुस । त्यसो भनेर पुरानो झुत्रो लगाउने भन्ने पनि होइन । तपाईँ सँधै अथवा प्रायजसो जस्तो कपडा लगाउनु हुन्छ त्यस्तै लगाउनुस । सेन्ट नर्छनुस । कपाल नछोट्याउनुस । अर्थात नयाँ कुरा नर्गनुस । तपाईँ सधै जस्तो हो त्यस्तै प्रस्तुत हुनु राम्रो हुन्छ ।

कतिपयले अन्तर्वार्तामा बोल्दा कृत्रिमता ल्याउन खोज्ने र बोलि बङ्गाउने गरेको पनि पाइन्छ । यो एकदमै गलत हो । तपाईँ आफु जस्तो हो, त्यस्तै प्रस्तुत गर्नुस । सकेसम्म नम्र भएर बोल्नुस । विस्तारै तर सुनिने गरी बोल्नुस ।

विषयवस्तु र समयसामयिक सन्दर्भहरु तयारी गर्नुस । धेरै आत्तिनु र डराउनु आवश्यक नै छैन ।

अन्तर्वार्ता कक्षमा सामान्य शिष्टाचारसँगै सकेसम्म हँसिलो मुद्रामा प्रस्तुत भएको राम्रो । केहीगरी हँसिलो मुद्रा भएन, केही विग्रिदैन तर जर्वजस्ती नर्गनुस ।

परिचय दिदा आफ्नो पूरा परिचय दिनुस । कतिपयले परिचयमै पनि केही कुरा ढाट्ने गर्न खोजेको पाइन्छ । यसले पनि समस्या हुन्छ । उदाहरणको लागि तपाईँ स्कुल पढाउनु हुन्छ । परिचयमा पढ्दै छु, जागिर छैन भन्नु भयो र पछि विषयको कुरा हुँदै जादा मैले पढाउँदा यसो गर्छु भन्न पुगिन्छ । किनकी परिचय ढाँटेको कुरा पछि सम्झिदैन, त्यसैले अन्तर्वार्तामा सकेसम्म ढाट्ने कामै नगर्नुस् ।

कहिलेकाँही परिचयबाटै पनि प्रश्न शुरु हुन सक्छ । तपाईँ अन्तरवार्ता दिन जादाको बाटो, दुरी जस्ता विषय पनि सोधिन सक्छ । सामान्य जानकारी राख्नुस् । अन्तर्वार्ताको मिति, समय र स्थानको वारेमा पहिले नै निश्चित भएको हुनुपर्छ । अन्तर्वार्ता दिन जाँदा लैजाने सामानको तयारी गर्नुस् । समय छ भनेर भन्दा सङ्कलन गरेर राखेको राम्रो ।

अन्तर्वार्तामा बसेकाहरुले पालैपालो प्रश्न सोध्छन् तर तपाईँले उत्तर दिदा प्रश्न सोध्नेलाई मात्र नहेरी सबैलाई हेर्नु आवश्यक हुन्छ । तर प्रश्न सोध्नेलाई धेरै हेरिएला । आफ्ना व्यक्तिगत कुरा अनावश्यक रुपमा नभन्नुस । मलाई पास गराइदिनुस, मेरो समस्या छ भन्नेजस्ता कुरा नगर्नुस । सोधिएका प्रश्नको आवश्यकभन्दा बढी व्याख्या पनि नगर्नुस् ।

कुर्सीमा बसेर शरीर तन्काउने, हल्लीने नगर्नुस् । नाक कोट्याउने, कपाल कन्याउने, दातँ कोट्याउने काम पनि नर्गनुस् । हाउभाउ देखाउनु पर्दैन् ।

अन्तर्वार्ता कक्षमा तपाइँका लागि बस्ने स्थान हुन्छ । सामान्यतया बस्ने ठाँउ देखाएर बस्नुस भनिन्छ । यदि त्यसो भनिएन र परीक्षण गर्न खोजियो भने पनि नआतिएर तपाईँ आँफै म बसौँ भनेर अनुमति लिएर बस्नु पर्छ । बस्दा सजिलो हुने गरी, हात नबाधि, खुट्टा नखुम्च्याइ अथवा सहज हुने तरिकाले बस्नुपर्छ । अन्तर्वार्ता दिने बेला यसरी बस्छु भनेर जानु भयो भने, प्रश्नको उत्तर दिदा पनि तपाईँको ध्यान बसेको मिलेको छ छैन भन्नेतर्फ जाने हुँदा सकेसम्म प्राकृतिक बन्नुस । कृत्रिम भन्ने केही पनि नर्गनुस । नडराउनुस, नहडबडाउनुस ।

आँफुभन्दा अगाडिकालाई के सोध्यो भनेर आत्तिनु पर्दैन । त्यही प्रश्न दोहोरिने संभावना एकदमै कम हुन्छ । एउटा निकै प्रचलित जोक पनि छ, हेर्नुहोस् बक्समा ।

सामान्यतया पहिले सोधेको प्रश्नहरु दोहोरिदैनन । दोहोरिए पनि आफुले जे जानेको छ, त्यही भन्ने हो । नजान्दा ठूलो गल्ती हुँदेन तर गल्ति उत्तर भन्दा नकारात्मक नतिजा आउन सक्ने हुन्छ ।

अन्तर्वार्तामा पनि हामीले सधै देखेका भेटेका वा सुनेका साधारण मानिसहरू नै बस्ने हुनाले धेरै डराउनु पनि आवश्यक छैन ।

अन्तर्वार्तामा कुनै पनि कुरा ढाट्ने चेष्टा नगर्नुहोस् । कुनै एउटा झुट कुरालाई प्रमाणित गर्न अन्य धेरै थप झुटो बोल्नु पर्छ । विषयवस्तुमा पनि नजानेको कुरा आयो भने गल्ती उत्तर नभन्नुहोस् । गल्ती भन्नुभन्दा, मलाई सम्झना भएन, अहिले याद भएन, भनेर सरल तरिकाले आँफुलाई थाहा नभएको कुरा बताउनुहोस् । इमान्दार बन्नुहोस् ।

म एउटा अन्तर्वातामा बसेको थिए । वहाँले परीचय दिए अनुसार मेरै जिल्लाको हुनुहुँदोरहेछ । वहाँले १ वर्ष निजी स्कुलको शिक्षण अनुभव छ भन्नुभयो ? मैले कहाँ भनेर सोधे ? वहाँले गाउँमा भन्नुभयो । कुन जिल्लाको कुन गाउँ ? मैले सोधे ? अनि वहाँले मेरै नजिकको गाउँ भन्नुभयो । त्यहा निजी स्कुल छ र ? मैले सोधे । पहिला थियो अहिले छैन ? वहाँको झुट कुरा पत्ता लाग्यो मैले आफ्नो परिचय नदिई तपाईँ झुटो बोल्नुभयो  भने । त्यहा कहिले पनि निजी स्कुल थिएन भनेपछि पुरै आत्मविश्वास गुमाउनुभयो र असिनपसिन हुनुभयो । अनि मैले नै सहजीकरण गरेर अन्य अन्तर्वार्ताकारलाई प्रश्न सोध्न सङ्केत गरे । यस्तो कदापि नगर्नुहोला किनकी अन्तर्वाताकारहरुले तपाईँको गाउँ ठाउ थाहा पाएका हुन सक्छन् र अन्तर्वार्ताकारलाई तपाईँले चिन्नु भएको पनि हुँदैन् ।

शिक्षकहरुले आफ्नो विषयवस्तुमा पर्याप्त तयारी गर्नुहोस् । अन्य सामान्य कुरा विग्रदा खास फरक पर्दैन तर तपाईँले जुन विषयमा नाम निकाल्नु भएको छ, त्यो विषयसँग सम्बन्धित कुरा विग्रनु राम्रो हुँदैन । तपाईँ जुन तहको शिक्षकको अन्तर्वार्ता दिदैँ हुनुहुन्छ त्यो तहको  सबै कक्षााको पाठ्यक्रम, पाठ्यपुस्तक अध्ययन गर्नुहोस् । सँगै माथिल्लो तहकाले तल्लो तहको समान्य जानकारी र तल्लो तहकाले माथिल्लो तहको सामान्य जानकारी राख्नुहोस । तपाईँले विद्यालयमा आफ्नो तहमा मात्र पढाउने भन्ने हुँदैन ।

कुनै विषयमा तपाईँको धारणा के छ भनेर सोधियो भने एकदमै नकारात्मक वा अन्धभक्त जस्तो सकारात्मक धारणा नराख्नुहोस् । जस्तै नेपालका सामुदायिक विद्यालयको सिकाइस्तर कमजोर छ, यसका लागि को जिम्मेवार भनेर सोधिएला । कतिपय शिक्षण गरिरहेका तपाईँहरूले राज्य, सरकार र अभिभावक भन्नुहोला । शिक्षण नगरेकाले शिक्षक भन्नुहोला । यस्तो सवालमा सन्तुलित भएर सबै पक्षको भूमिका छ, कसैको बढी होला कसैको कमि तर मेरो विचारमा अथवा मलाई यसको अलि बढी हो कि भन्ने जस्तो लाग्छ भनेर प्रस्तुत हुन सकिन्छ । तर आफूले कुनै विचार राखिदैछ भने त्यसलाई सहयोग पुग्ने तर्कहरु पनि राख्नु पर्छ । जस्तै माध्यमिक तहसम्मको शिक्षा स्थानीयमा दिइयो, तपाईँलाई कस्तो लाग्छ भनेर सोधियो भने संविधानकै आलोचना गरेर नकारात्मक नबन्नुस । ठिकै लाग्छ, वा ठिक छैन मात्र भनेर नपुग्ला किन ठिक लागेको छ वा किन लागेको छैन, २।३ वटा पुष्ट्याइ पनि दिनु आवश्यक हुन्छ ।

कुनै समस्या सोधिएला त्यस्तो समस्यामा पनि यो त हुनै सक्दैन अथवा भइहाल्छ भन्ने पूर्ण उत्तर नदिँदा राम्रो । उदाहरणको लागि निरन्तर विद्यार्थी मूल्याङ्कन प्रभावकारी कार्यान्वयन भएको छैन । धेरै शिक्षकहरू यसलाई समस्या भयो भन्नुहुन्छ । यो समस्या हो ? भनेर प्रश्न सोधिएला । यस्तो बेला हो यो समस्या हो यो त कार्यान्वयन गर्नै सकिदैन वा होइन यो त एकदम ठिक छ, सजिलै गर्न सकिन्छ भन्ने जस्तो नभई व्यवहारिक भएर तर्कसंगत कुराहरु राख्दा राम्रो हुन्छ । किन गर्न सकिदैन वा सकिन्छ । तपाई आफू के गर्नुहुन्छ ? अँ ठिक छ भन्नुहोला, तपाईँ पढाइरहेको हुनुहुन्छ भने तपाईँले वा तपाईँको विद्यालयमा के भइरहेको छ ? प्रश्न त्यतै मोडिन पनि सक्छ । अनि कसरी गर्नुहुन्छ भनि सोध्दा नगरेको भए कुरा मिल्दैन ।

कुनै पनि विषयलाई हेर्ने र त्यसलाई बुझ्ने दृष्टिकोण केही फराकिलो बनाउनुस् । तपाईँ जुन पेसा अपनाउका लागि अन्तर्वार्ता दिदै हुनुहुन्छ त्यो पेसाप्रति सम्मानभाव प्रस्तुत गर्नुस । शिक्षण पेसामा आउदै हुनुहुन्छ भने धेरै सकारात्मक र १।२ वा थोरै मात्र नकारात्मक कुरा गर्नुस ।

अन्तर्वार्ता खासै महत्वपूर्ण होइन र यो निकै महत्वपूर्ण पनि हो । यसमा लिखित परीक्षाको अङ्क जोडिने भएकाले धेरै हदसम्म लिखितको नम्बरले तपाईँको नतिजा निर्धारण गर्छ, तर पनि अन्तर्वार्ता निर्णायक हुन्छ । यदि धेरैजनाको बराबर नम्बर आएको छ भने अन्तर्वार्ता निर्णायक पनि हुन्छ ।

शिक्षा ऐन नियमावली तथा आफ्नो विषयवस्तुसँग सम्बन्धित कुराहरूमा राम्रो तयारी आवश्यक छ । शिक्षा र समसामयिक विषयको ज्ञान पनि राख्नु राम्रो । तपाईँ आफु जे जस्तो हुनुहुन्छ, त्यही रूपमा अन्तर्वार्तामा प्रस्तुत हुनु भयो भने तपाईँका लागि सजिलो हुन्छ । अन्तर्वार्ताले तपाईँको Naturalist & Confidence मात्र हेर्छ । Communication skill को परीक्षण हुन्छ । तपाईँले कस्तो पोशाक लगाएर जानुभयो र कसरी बोल्नुभयो भन्दा पनि के बोल्नुभयो र कसरी प्रस्तुत हुनुभयो भन्ने महत्वपूर्ण हुन्छ । सामान्यतया अन्तर्वार्तामा ३५ प्रतिशतभन्दा कम र ७० प्रतिशतभन्दा माथि नम्बर दिने प्रचलन हुँदैन् र दिनै परे कारण लेख्ने भनेको छ । कारण दिएर नम्बर दिने अवस्था सामान्यतया हुँदेन्  र यस्तो झण्झट पनि कसैले गर्दैन् ।

अन्तर्वार्ता आफूँ जस्तो हो, त्यस्तै देखाउने कला हो ।

धन्यबाद ।