उच्च शिक्षाको ढोका कक्षा १२ : अर्घाखाँची जिल्लाको नतिजा संक्षिप्त विश्लेषण
विद्यालय शिक्षाको अन्तिम कक्षा १२ भएपनि कक्षा १० को एसइइ नतिजाले जति चर्चा परिचर्चा पाउँछ कक्षा १२ ले पाउदैँन् । असार महिनामा मात्र प्रकाशित भएको कक्षा १० को नतिजाले जति महत्व पायो गत हप्ता प्रकाशित कक्षा १२ को नतिजाको चर्चा करिब सकिएको छ । हालको कक्षा १२ उच्च शिक्षा प्रवेशको आधार कक्षा हो । यो कक्षामा विद्यार्थीको उपलब्धिले कस्तो उच्च शिक्षा लिने भन्ने निर्धारण गर्छ । साथसाथै उच्च शिक्षा हासिल गर्न नसक्नेहरुका लागि पनि श्रम बजारमा प्रवेश गर्नका लागि अन्तिम शिक्षा पनि हो ।
शिक्षाको गुणस्तर केलाई मान्ने ? फरक फरक विचार छन् । गुणस्तरीय शिक्षा यही भन्ने सर्वमान्य परिभाषा वा मानक त विकास भइसकेको छैन् तर विद्यार्थीले विद्यालयमा गएर सिक्नु पर्नेमध्ये के कति सिक्न सके भन्ने विषय गुणस्तरीय शिक्षालाई मापन गर्ने धेरै सूचकमध्ये एउटा सूचक हो । विद्यार्थीको सिकाइ गुणस्तरको एउटा सूचक हो भन्नेमा धेरैको सहमति रहेको छ । नेपालको सन्दर्भमा समग्र शैक्षिक प्रणाली र विद्यालयको शैक्षिक स्तर मूल्याङ्कनका लागि एसइइ परीक्षाको नतिजालाई आधार मान्ने गरिन्छ । परीक्षाको नतिजाबाट मात्र मूल्याङ्कन विद्यालयको मूल्याङ्कन गरिनु हुँदैन भन्ने तर्क त पाइन्छ तर विद्यालयको मूल्याङ्कन गर्ने अर्को साधन वा विधि के हो त भन्ने पनि केही छैन् । यस अर्थमा हामीले वर्तमान अवस्थामा विद्यालय र समग्र विद्यालय शिक्षाको मूल्याङ्कन गर्ने भरपर्दो आधार भनेकै विद्यार्थीको सिकाइ हो र त्यो सिकाइ भनेको अन्तत परीक्षामा देखिने अङ्क नै हो । विद्यालयले मैले आचरण सिकाएको छु भन्ला, त्यो आचरण मापन गर्न पाँच सात वर्ष लाग्छ । सीप सिकाएको छु भन्ला, त्यो हेर्न श्रम बजारमा लैजानुपर्छ । कुरा जे गरेपनि परीक्षाको उपलब्धिले नै व्यक्तिको उच्च शिक्षाका ढोकाहरु खुला र बन्द हुन्छन्, जति धेरै ढोका खुला भए व्यक्ति त्यति नै सक्षम बन्न सक्छ ।
विकास, समृद्धि, रोजगारी, सुखी जेजे भनौँ मानवीय पूँजी भन्दा अर्को कुनै पनि कुरा महत्वपूर्ण हुनै सक्दैन् । हाल विद्यालयमा अध्ययन गरिरहेका र विद्यालय तह पूरा गरेर उच्च शिक्षामा प्रवेशका लागि तयार भएका विद्यार्थी नै हाम्रा लागि मानवीय पूँजी हुन् । भविष्यको विकास, समृद्धि, सामाजिक न्याय र समानताका कुरा गर्ने हामीले आजको हाम्रो मानवीय पूँजी उत्पादन कस्तो छ र भोलि त्यसले के गर्ला भन्ने ध्यान दिन सकिरहेका छैनौँ कि ।
प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँची देशको शैक्षिक इतिहासको रुपमा (हरिहर संस्कृत पाठशाला र पाणिनी) उल्लेख हुन्छ । तर हालको विद्यमान अवस्था के छ त ? यो पक्षबाट हेरियो भन्ने इतिहासबाट गर्व गर्न र सन्तोष मान्न सकिने अवस्था देखिदैन् । एसइइ नतिजाको कमजोर अवस्थाको वारेमा अघिल्लो महिना नै विश्लेषण गरिएको थियो । जिल्लाको शैक्षिक अवस्था विश्लेषण गर्दै, वर्तमान अवस्थालाई प्रस्तुत गरी कमजोर क्षेत्र खोतल्ने र त्यसमा सुधारका लागि जागरुक बनाउने उद्देश्यले २०७६ साल वैशाखमा सञ्चालित कक्षा १२ को नतिजा विश्लेषण गर्ने प्रयास गरिएको छ । यो विश्लेषणले खासगरी जिल्लाको शैक्षिक योजना र निती निर्धारण गर्ने अधिकार प्राप्त निकायहरु स्थानीय तह र प्रदेश सरकारलाई सहयोग पुग्ला कि भन्ने अपेक्षा गरिएको छ । हुन त हरेक स्थानीय तहका आ आफ्नै प्राथमिकता छन्, हरेक तहले आफै पनि नतिजा विश्लेषण गर्न सक्छन् । प्रदेश सरकारहरु पनि आफैमा सक्षम छन्, तथापि जिल्लाको समग्र अवस्था र स्थानीय निकाय अनुसारको तुलनात्मक विश्लेषणले पनि केही सहयोग पुग्ला भन्ने विश्वास लिइएको छ ।
अर्घाखाँची जिल्लाबाट २०७५ को कक्षा १२ को परीक्षामा ३९ विद्यालयबाट नियमित तर्फ सहभागी भएका १६५७ विद्यार्थीको नतिजा विश्लेषण गरिएको छ । नतिजा विश्लेषणको पहिलो आधार विद्यार्थीले हासिल गरेको जिपिएलाई बनाइएको छ । त्यसैगरी स्थानीय तह अनुसारको सिकाइ अवस्था, विषयगत रुपमा विद्यार्थीको सिकाइ अवस्था र गत वर्षको सिकाइ अवस्थालाई समेत प्रस्तुत गरिएको छ । जिपिएका ९ ओटा समूहमध्ये माथिल्ला चार समूहलाई राम्रो र तल्लो पाँच समूहलाई कमजोरको रुपमा विभाजन गरी सो आधारमा नतिजालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । परीक्षामा सहभागी भएका जम्मा १६५७ विद्यार्थीले हासिल गरेको जिपिए अनुसारको वितरण निम्नानुसार रहेको छ ।
प्रस्तुत गरिएको तालिका अनुसार ७४ प्रतिशत विद्यार्थी जिपिएको तल्लो समूहमा रहेका छन् । अक्षराङ्क पद्धति कार्यान्वयन निर्देशिका अनुसार यो समूहको सिकाइ अवस्था कमजोरदेखि स्वीकारयोग्य सम्म मात्र रहेको छ । प्राप्त जिपिएको आधारमा २६ प्रतिशत विद्यार्थीले मात्र माथिल्लो जिपिए प्राप्त गरेका छन्, तर यो माथिल्लो जिपिए आउने विद्यार्थी खासगरी प्रयोगात्मक अङ्क आउने विषयका बढी रहेका छन् । नतिजाको यो अवस्थाले सिकाइस्तर कमजोर भएको देखाउँछ । जिपिएको सबैभन्दा माथिल्लो समूहमा कुनै पनि विद्यार्थी छैनन् भने माथिल्लो दोस्रो समूहका १० मध्ये ८ जना व्यवस्थापन र २ जना शिक्षातर्फका छन् र ती दशैजनाको प्राक्टिकम विषयमा ए प्लस ग्रेड आएको छ जसले त्यो जिपिए प्राप्त गर्न सघाएको छ ।
स्थानीय तह अनुसारको नतिजा
जिल्लाका ३९ विद्यालयका १६५७ विद्यार्थीमध्ये ७४ प्रतिशत विद्यार्थीले शिक्षा विषय पढ्छन् भने १७ प्रतिशतले व्यवस्थापन र बाँकी ९ प्रतिशतले विज्ञान तथा प्राविधिक विषय विषय पढ्छन् । सिकाइस्तरका दृष्टिले सबैभन्दा धेरैले पढ्ने शिक्षामा सबैभन्दा कमजोर देखिन्छ भने व्यवस्थापनमा राम्रो देखिन्छ । स्थानीय तह अनुसार जिपिएका माथिल्ला चार समूह र तल्लो पाँच समूहको मात्र प्रस्तुत गरिएको छ ।
माथिको तालिका अनुसार सबैभन्दा धेरै विद्यार्थी तल्लो समूहमा भूमेकास्थान नपा र सबैभन्दा थोरै विद्यार्थी छत्रदेव गापाबाट रहेका छन् । सन्धिखर्क र शितगंगा नपाको विद्यार्थी करिब बराबर नै रहेको छ । सबैभन्दा कम विद्यार्थी शितगंगा नपा र बढी विद्यार्थी सन्धिखर्क नपामा रहेका छन् । जिल्लाको शैक्षिक अवस्था यी विवरणले नै प्रस्तुत गर्छन् । जसरी विद्यालय तहको साना कक्षाहरुमा समस्या छ, त्यो समस्या माथिसम्मै देखिन्छ । कक्षा ११ र १२ मा शिक्षण गर्न शिक्षक अभाव छैन, भवनको समस्या छैन, तथापी सिकाइमा उल्लेखनीय राम्रो देखिदैँन । विद्यालयले विद्यार्थीबाट शुल्क लिएर नै कक्षा ११ र १२ सञ्चालन गरिएको छ । स्थायी र दरबन्दीकै नभए पनि न्यूनतम योग्यता र विषयगत शिक्षकको व्यवस्था छ । सिकाइ अवस्थामा सुधार भएको छ वा छैन भन्नका लागि गत वर्ष २०७५ को १२ कक्षाको नतिजालाई पनि प्रस्तुत गरिएको छ ।
गत वर्ष २०७५ को तुलनामा नतिजामा केही सुधार भएको देखिन्छ । समग्र नतिजामाम सुधार भएको भएपनि त्यसको दिगोपना र सुधारको प्रवृतिमा ध्यान दिनु आवश्यक छ । गतवर्ष जिपिएको माथिल्लो समूहमा सबैभन्दा धेरै सन्धिखर्क नपाबाट र कम मालारानी गापाबाट थिए । जिपिएको सबैभन्दा माथिल्लो ३.६१ भन्दा माथि गत वर्ष पनि कोहि थिएन र यो वर्ष पनि छैन भने माथिल्लो दोस्रो समूह ३.२१ देखि ३.६० सम्ममा गतवर्ष एकजना मात्र भएकोमा यो वर्ष त्यसको सङ्ख्या बढेर १० पुगेको छ ।
यो वर्ष कक्षा १२ को परीक्षा दिएका विद्यार्थी गत वर्ष कक्षा ११ मा थिए । उनीहरुको गत वर्ष कक्षा ११ को नतिजाका आधारमा हेर्दा समग्रमा सुधार भएको देखिन्छ । माथिल्लो समूहमा गत वर्ष कक्षा ११ मा ७ प्रतिशत थिए । तर अझ महत्वपूर्ण पक्ष के छ भने कक्षा ११ बाट कक्षा १२ मा १३ प्रतिशत विद्यार्थीले विद्यालय छोडेका छन् ।
कक्षा १२ को नतिजाको कमजोर पक्षको चर्चा गरिरहँदा एउटा विसर्नै नहुने सत्य के हो भने अधिकांश कक्षा ११ र १२ सञ्चालन हुने विद्यालय आवश्यकताभन्दा रहरले खोलिएका छन् ।
माथिल्लो तह सञ्चालन गर्दा विहानमा सञ्चालन हुने र माथिल्लो योग्यता भएका शिक्षकहरुलाई अतिरिक्त समय अध्यापन गर्न पाइने अवसरका लागि खोलिएको छ । यो अर्घाखाँचीको मात्र नभई देशभरीकै यथार्थता पनि हो । भौगोलिक अवस्थाका आधारमा कतिपय ठाउँमा बाध्यता भएपनि अधिकांश रहरले खोलेको देखिन्छ ।
जिल्लाका ३९ विद्यालयमध्ये २३ वटा विद्यालयमा ४० भन्दा कम विद्यार्थी छन् । विषयगत दृष्टीबाट हेर्दा त यो सङ्ख्या अझ कम हुन आउँछ । एउटै विद्यालयमा शिक्षा, व्ययवस्थापनजस्ता विषयको पढाइ हुन्छ । जम्मा ५ जना विद्यार्थीमात्र पढाएर कक्षा १२ सम्म सञ्चालन गर्दा त्यो बाध्यता भन्दा बढी रहर नै देखिन्छ । विद्यालयमा उच्च तह सञ्चालन गर्ने पेसागत र सामाजिक प्रतिष्ठाको विषय बनेको छ ।
अबको दुई वर्ष पछिको कक्षा १२ को नतिजा भनेकै अहिलेको कक्षा १० को एसइइ नतिजा पनि हो । जब तल्लो कक्षाबाटै सिकाइ कमजोर हुँदै माथि पुग्छन् माथिल्ला कक्षामा मात्र राम्रो गर्न कठिन छ । यसै वर्षको एसइइ नतिजामा जिल्लाका सामुदायिक विद्यालयका करिब ७० प्रतिशतको नतिजा कमजोर छ । राम्रो नतिजा ल्याउनेहरु जिल्ला भन्दा बाहिर गएर पढ्छन् । अहिलेका कक्षा १२ सञ्चालन भएका विद्यालयको नतिजाले जिल्लामै पढ् भन्न सकिने अवस्था पनि देखिदैँन् । जिल्लामा १२ कक्षासम्म पढाइ हुने राम्रा विद्यालयको अभाव देखिन्छ । केही राम्रो गरेका भनेका विद्यालयको पनि समग्र नतिजा उत्कृष्ट छैन् ।
जिपिएले खास कमजोर अवस्था नै देखाउँदैन् । यसले सबै विषयको एकिकृत अङ्कलाई समूहमा प्रस्तुत गर्छ, त्यसैले जिपिएको समूहभन्दा खासगरी विषयगत रुपमा हेर्ने नतिजाले सिकाइको वास्तविक अवस्था प्रस्तुत गर्छ । अनिवार्य अङ्ग्रेजी कक्षा १ बाट नै पढाइ हुने विषय हो, तर पनि सबैभन्दा धेरै विद्यार्थी यसमा नै कमजोर रहेको देखिन्छ । विषयगत रुपमा आउने ग्रेड अनुसार हेर्दा अङ्ग्रेजीमा ए प्लस ग्रेड ल्याउने विद्यार्थी कोही छैन भने ए ल्याउने १२ जना मात्र छन् । विगतको उत्तीर्णाङ्क ४० को आधारमै हेर्दा पनि ग्रेड इ, डि र डि प्लस ल्याउने विद्यार्थी ६८ प्रतिशत रहेका छन् । शिक्षा विषय पढ्ने ८१ प्रतिशत विद्यार्थीको अभ्यास शिक्षणमा ए प्लस र ए ग्रेड आएको छ, तर तिनै विद्यार्थीको शैक्षणिक मूल्याङ्कन, बाल विकास र सिकाइजस्ता शिक्षाका मुख्य विषयमा ए प्लस नै छैन भने ए पनि ८।१० जनाको मात्र रहेको छ ।
सुधारका रणनीति
सुधारका लागि जवाफदेहिता र जिम्मेवारीबोध नै महत्वपूर्ण हो । एउटै आर्थिक सामाजिक अवस्था भएका, एउटै परिवेशका एउटै स्थानीय तहका दुई विद्यालयमा देखिने सिकाइ स्तरको ठूलो भिन्नताले समस्या विद्यालयमा, शिक्षकमा र कक्षाकोठामा छ भन्न सकिन्छ ।
समस्याहरू खोज्ने कि समाधानका उपायहरु खोज्ने, अरुको दोष खोज्ने कि आ आफ्नो जिम्मेवारी पूरा गर्ने भन्ने महत्वपूर्ण विषय हो । कक्षा १२ को सिकाइका लागि विद्यार्थीले ध्यान दिएनन्, अभिभावकले चासो दिएनन भन्ने जस्ता अरुका दोष खोज्नु पर्दैन होला ।
पाँच जना मात्र विद्यार्थीलाई पढाउँदा पनि २.८ भन्दा माथिल्लो जिपिए कुनै विद्यार्थीको आएको छैन् । ग्रेड वृद्धि दिन नपर्ने २ जना मात्र छन् । हरेक विद्यालय र स्थानीय तहले नतिजालाई मिहिन तरिकाले विश्लेषण गर्ने हो भने कमजोरी र सुधारका क्षेत्र पहिचान गर्न कठिन छैन । तर अवस्था कस्तो छ भने कमजोरी खोजी नगरी दोष खोजी गर्ने संस्कार विकास भएको छ ।
सुधार कसको एजेण्डा भन्ने पनि प्रष्ट छैन् । विद्यालयहरु कोर्ष सकाउनेमा केन्द्रित छन् । विद्यार्थीको सिकाइमा जिम्मेवार हुन सकेका छैनन् । विद्यालय भित्र कक्षाकोठाका क्रियाकलाप, शिक्षकका सक्षमता र जवाफदेहिता, प्रधानाध्यापकका नेतृत्व, आन्तरिक व्यवस्थापन, व्यवस्थापन समितिका भूमिकाहरू महत्वपूर्ण देखिन्छन् । भवन र कक्षाकोठा बनाउन दौडधुप गरिरहने व्यवस्थापन समितिका अध्यक्षहरुले नतिजा के भयो ? किन कमजोर भयो ? के भए सुधार हुन्छ ? के चाहियो ? भनेर प्रश्न गर्ने आँट गर्नु आवश्यक छ । विद्यालयहरुलाई लाखौँ रकम उपलब्ध गराउने स्थानीय सरकारहरुले नतिजाको वारेमा प्रश्न गर्नु आवश्यक छ ।
पङ्तिकारको बुझाइमा स्थानीय सरकार मार्फत भएका प्रयासहरू सिकाइ सुधारतर्फ लक्षित छैनन् । कक्षा ८ मा ५० नम्बरसम्म कृपयाङ्क (ग्रेस मार्क) दिएर कक्षा ९ मा पठाइएको छ । विद्यार्थीलाई मेरो अवस्था कस्तो थियो भन्ने जानकारी दिइएकै छैन । चार वर्ष पछी आउने कक्षा १२ को नतिजा २०७४ को कक्षा ८ मै हर्दा पुग्छ । जिल्लाका सबै स्थानीय तहका साथीहरुलाई कक्षा ८ को तथ्याङ्क उपलब्ध गराइदिन व्यक्तिगत रुपमा पङ्तिकारले आग्रह गरेको थियो तर वास्तविक तथ्याङ्क प्राप्त हुन सकेन । कमजोरी लुकाएर सुधार पक्कै हुदैँन् ।
विद्यालयलाई कसैले सिकाइ किन कमजोर भनेर प्रश्न गरेकै छैन, यस्तै त हो, सधैँ यस्तै गरेकै हो भनेर चुप लागेको अवस्था छ । जिल्लाका राजनीतिक नेताहरुले तथ्याङ्क र अवस्था केही विश्लेषण नगरी हाम्रो शिक्षा राम्रो छ भन्ने काल्पनिक भाषण दिनुहुन्छ, तर के राम्रो छ भन्ने न कुनै तथ्य छ, न कुनै आधार छ ? एसइइ पछिको शिक्षाका लागि ४० प्रतिशत विद्यार्थी जिल्ला बाहिर जान्छन् । उनीहरुलाई जिल्लामै राम्रो कक्षा १२ को शिक्षा पनि उपलब्ध हुन सकेको छैन् । सतहि आधारमा हाम्रो शिक्षा राम्रो छ भनेर भाषण नगर्न पङ्तिकार यसै आलेख मार्फत विनम्र अनुरोध गर्दछु । शिक्षाको सुधारमा के भएको छैन र अवस्था के छ भन्नेतर्फ ध्यान दिनु आवश्यक छ । एउटै परिवेश र अवस्था भएका दुई विद्यालयको नतिजामा देखिएको ठूलो भिन्नताले नै यदि इमान्दार भएर गर्न चाहने हो भने संभव छ भन्ने प्रष्ट पार्छ ।
सुधार संभव छ, सुधारको केन्द्रविन्दु कक्षाकोठा हुनुपर्छ, सुधारका लागि शिक्षक व्यवस्थापन र न्यूनतम शिक्षकको उपलब्धता सुनिश्चित गर्नु आवश्यक छ । सुधार कुनै एउटा क्षेत्रमा, एउटा विषय र सन्दर्भमा मात्र नभई समग्रतामा गर्नु आवश्यक छ । तर समस्या सुधार कसले गरिदिने भन्ने नै हो । विद्यालयको शिक्षण सिकाइ सुधारका लागि प्रधानाध्यापक र शिक्षकको जति भूमिका अरुको हुन सक्दैन् । शिक्षक र प्रअले चाहना गरे अरुले नचाहे पनि सुधार हुन्छ, उनीहरुले नचाहे अरुले मात्र चाहेर सुधार संभव देखिएन् । सुधारका लागि जिम्मेवार र जवाफदेही बनौँ, हातेमालो गरौँ । सुधार संभव छ । धन्यबाद । (अर्घाखाँची, डिभर्नाका विश्लेषक आचार्य शिक्षा क्षेत्रमा क्रियाशिल छन् । deviramac@outlook.com) (यो सामग्रीमा प्रस्तुत तथ्याङ्क राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको हो । )
२०७६ भदौ २ गते बुटबल टुडेमा प्रकाशित आलेख । बुटबल टुडेमा पढ्नुहोस् ।