Latest Book

जो जहाँ भेटिन्छ ! विद्यार्थी अनियमितताको कुरा गरौँ ।

अघिल्लो श्रृङ्खलामा हामीले विद्यालयको उद्देश्य सिकाइ हो भने कोही विद्यार्थी सिक्न तयार भएर जुन सुकै समयमा विद्यालय आए पनि उसलाई कक्षामा बसाउँ र केही सिकाउँ भन्ने विषयवस्तु प्रस्तुत गरेका थियौँ ।

विद्यार्थी अनियमितता । समस्या कसको ? को जिम्मेवार ?

उक्त आलेख सङ्ख्यात्मक दृष्टिले धेरैले पढे, अनौपचारिक प्रतिक्रिया ब्यक्त गरे पनि उक्त विषयले प्रत्यक्ष प्रभाव पार्ने शिक्षक र प्रधानाध्यापकहरूबाट कुनै औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेन ।

कोही पनि कसैको विचारमा सहमत हुनै पर्छ भन्ने त हुदैँन तर कम्तीमा स्वस्थ ढंगले बहस, छलफल र अन्तक्रिया गरेर सुधारका लागि केही पहल गर्न त सकिन्छ ।

हामी परिवर्तन चाहने तर आफू परिवर्तित नहुने र नगर्ने समस्यामा रुमलिएका छौँ । हामी सबै हाम्रा विद्यालयका विभिन्न समस्याको वारेमा परिचित छौँ । ती समस्याहरू आजका दिनका मात्र नभई वर्षौ देखि कै हुन् तर हामीले ती समस्या समाधानका लागि फरक ढंगले सोच्दैनौ र सधैँ एउटै समस्या रहिरहेको हुन्छ । विद्यार्थी नियमित आएनन्, पढाइमा ध्यान दिएनन्, अभिभावकले वास्ता गरेनन्, अभिभावकमा चेतना छैन, विद्यालयमा साधन स्रोत भएन, यस्तै यस्तै ।

मलाई सम्झना भए अनुसार विगत करिब १५ वर्ष देखि हामीले सधैँ यस्तै समस्या दोहोर्याई रहेका छौँ ।

विद्यालयमा विद्यार्थी अनियमितताको प्रसङ्ग उठ्दा, दुई वर्ष पहिले पाल्पाको एक विद्यालयका प्रअसँग भएको कुराकानी यति खेर सम्झनामा आईरहेको छ ।

कक्षा कोठाको सिकाइ प्रसङ्ग उठाउँदै गर्दा प्रअले विद्यार्थी नियमित आउँदैनन्, आएका पनि पुरै समय बस्दैनन्, अभिभावकले पनि ध्यान दिँदैनन् र कहिलेकाहीँ त कापी, पेन्सिल किताब नलिई आउँछन् । सुधार गर्न त खोजेको हो सकिएन भनेका थिए । त्यस पछि उनीसँग यसै विषयमा केही कुराकानी भयो :

म : सरको घर यहाँ बाट कता पर्छ ?

प्रअ : (स्कुलबाट पारीपट्टीको गाउँ तिर देखाउँदै) उ पारी ।

म : सर घरबाट स्कुल आउँदा र स्कुलबाट घर जाँदा बाटोमा पर्ने घर कति जति होलान् ?

प्रअ : यस्तै ५०/६० घर होलान्, (तल पट्टीको गाउँ देखाउँदै उनले भने ।)

म : ती बाटोमा पर्ने घरबाट आउने विद्यार्थीमा पनि त सरले भने जस्तो समस्या होलान् नि ।

प्रअ : छ नि किन नहुनु !

म : सरको घर जाँदा र आउँदा बाटोमा पर्ने ती घरका विद्यार्थीको समस्याका बारेमा सरले बाटोमै अभिभावकसँग कुरा गर्न मिल्दैन र ? नानीलाई पेन्सिल दिएर स्कुल पठाउनुहोला । बाबुले त किताब नलिइ स्कुल आएछ । अनि छोरी त ३ दिन देखि स्कुल आएकी छैनन नि किन ? के भयो र ? यस्ता कुरा अभिभावकसँग बाटैमा गर्न मिल्ने कुरा हुन् । सरले भेट्ने अभिभावकसँग सरले कुरा गर्ने, अन्य शिक्षकले भेटेका अभिभावकसँग अन्यले कुरा गर्ने । बाटोमा, चौतारामा, मेलामा जहाँ जहाँ अभिभावकसँग भेट हुन्छ, त्यहाँ विद्यार्थीका नियमितताका, पठन पाठनका, सामग्रीका कुरा गर्न सकिन्छ नि ।

प्रअ : मिल्न त मिल्छ, तर गरिँदैन ।

म : समस्या छ भने त्यसको समाधानका लागि केही त गर्नै पर्छ । सरले वर्षौ देखि यही समस्या भोग्नु भएको छ । अनि कसैले विद्यालयको पठन पाठनको कुरा गर्दा यही समस्या कहिले सम्म दोहा¥याउने । आखिर प्रयास त स्कुल र शिक्षकले गर्नु प¥यो नि । समस्या जजसको भए पनि समस्याको प्रभाव त विद्यालयमा परेको छ ।

प्रअ : हुन त हो … !

मः सरले मेरा कुरालाई कसरी लिने सरको कुरा भयो । विद्यालयका समस्याको वारेमा सरले जति त मैले जान्दिन । यदि सरले सुधार चाहनुहुन्छ भने केही त गर्नै पर्छ । होइन जागिर चलेकै छ, आएकालाई पढाउने हो, नआएकालाई के गर्नु र भन्ने हो भने सरको विद्यालयको यो समस्या अझै बीसौँ वर्ष पनि यस्तै रहन सक्छ ।

अभिभावकसँग विद्यार्थीका नियमितताका कुरा गर्ने हो भने उनीहरुले विद्यालय नियमित पठाउनु पर्ने कुराको अनुभूति गर्छन् । जहाँ भेट हुन्छ त्यहीँ नानीबाबु स्कुल पठाउनु भएन नि ! भनेर भन्न थालियो भने, केटाकेटी स्कुल नपठाए यी ‘माष्टर’हरूले बाटैमा किन पठाइनस् ? भन्छन बरु जा स्कुल, मै चराउँला बाख्रा, मै जाउँला मेला ! भन्ने भावना विकास हुन्छ ।

कुनै विद्यार्थीले पेन्सिल, कापी नलिइ विद्यालय आउँदा अभिभावकलाई पेन्सिल नदिइ पठाउनु भएको ! अथवा कापी किन नकिन्दिनु भएको ? भनेर सोध्न थाल्यौँ भने उनीहरू त्यसको बारेमा पनि ध्यान दिन थाल्छन् ।

अभिभावकसँग विद्यार्थी उपस्थितिका कुरा गर्दा अभिभावकमा एक दिन स्कुल नपठाउँदा पनि बाटाघाटा जहाँ भेट भयो त्यहीँ किन स्कुल नपठाएको भन्न थाले ! बरु स्कुल जाउ काम त जे होला भन्ने मनोविज्ञान समेत सिर्जना हुन पुग्छ । यसले प्रत्यक्ष रुपमा विद्यार्थी नियमित बनाउन सहयोग पुग्छ भने अप्रत्यक्ष रुपमा विद्यालय समुदायको सम्बन्ध बढाउन पनि सघाउँछ ।

प्रअ : गर्दा त हुने हो ! एक्लै गरेर पनि भएन !

म : सरले विद्यालयमा शिक्षकहरूसँग छलफल गर्नुस् । सबै समूह नै लाग्ने हो भने समस्या समाधान त्यति जटिल नहोला ।

कुनै पैसा नलाग्ने, अतिरिक्त समय नलाग्ने, थप मेहनत र बल नपर्ने जस्ता साधारण कामबाट हुने समस्याको न्यूनीकरणमा हाम्रो ध्यान पुग्दैन । अनि हामीले अभिभावक, विद्यार्थी र अरु कसैलाई दोष दिएर उम्किरहेका छौँ ।

वास्तवमा विद्यार्थी नियमितता हाम्रो समस्या हो । यसमा हामी सबैका जिम्मेवारी छन् । केही हाम्रा संस्कार पनि जिम्मेवार होलान् । अभिभावकले एक दिन स्कुल नगएर केही हुदैँन भन्ने बुझेका होलान् । ग्रामीण क्षेत्रका मेलापात र घरायसी कामले पनि नियमिततामा समस्या भएको होला । तर हामीले अभिभावकलाइ विद्यार्थी नियमितताको बारेमा पर्याप्त बुझाउन सकेका छैनौँ । वर्षमा एकपटक (असी प्रतिशत विद्यालयको) गर्ने अभिभावक भेलामा हामीले विद्यार्थी नियमितताका कुरा गर्नै भ्याउदैनौँ । गरी हाले पनि एक दिन मञ्चबाट उठाउने विद्यार्थी नियमितताको विषय कति नै प्रभावकारी होला र ?

विद्यार्थी नियमिततासँग अनियमित हुने विद्यार्थीलाई शिक्षक र विद्यालयले कस्तो व्यवहार गर्छौ भन्ने कुराले पनि निर्धारण गर्छ । एउटा विद्यार्थी विद्यालय आउँदैन, ऊ खास के कारणले विद्यालय आएन हामीलाई सोध्ने चासो हुदैँन ।
स्कुल आउनु पर्दैन ? भनेर हप्काउँछौ अधिकांशले ।

कुनै विद्यार्थीले स्वभाविक रुपमा जान्दैन, फेरी हप्काउँछौ –

– स्कुल आए पो जानिन्छ !

– यसले पढेर खाँदैन !

– ढङ्ग सङ्ग केही छैन !

स्कुल आउने पनि होइन भन्दै उसलाई सिकाइ प्रति निरुत्साहित बनाउँछौ । जब हामीले कुनै विद्यार्थीलाई स्कुल नआउने र नजान्ने विद्यार्थीको रुपमा दर्ज गरिदिन्छौ, अनि उ क्रमशः विद्यालय कम आउन थाल्छ । विद्यार्थी कम आउने कारण हामी आफैँ बन्छौँ र अनि नजान्नुको कारण बन्छ विद्यार्थीको अनुपस्थिति ।

कुनै विद्यार्थी विद्यालय किन आएन । हामी कमैले मात्र सोध्छौँ खासमा किन विद्यालयआएन ? औपचारिकता पुरा गर्न त धेरैले सोध्छौँ होला तर समस्या नै समाधानमा हामी कमैको मात्र चासो छ । सोधे पनि हाम्रो सोधाइ मिठास पूर्ण हुँदैन, औपचारिक मात्र हुन्छ । हामीले कारण सोध्दा प्रयोग गर्ने शब्द, व्यवहार र शैलीले उसलाई सान्दर्भिक कारण दिन पनि कठिन हुन्छ ।

कोही विद्यार्थी विद्यालय आउँदैन । किन आएन ? के समस्या भयो ? यस्तै कारणले भोलि पनि नआउने हुन्छ कि त्यसलाई कसरी कम गर्ने ? उ नआएकै दिन हामीले ज्यादै महत्वपूर्ण विषयवस्तु पो पढायौँ कि त्यसलाई कसरी सिकाउने होला ! भन्ने चिन्तन गरेकै छैनौँ ।

कुनै विद्यार्थी पढाएको नबुझेर पनि त स्कुल नआउन मिल्छ । जसरी हामीले नबुझ्ने चाइनिज टेलिभिजन हेर्दैनौँ त्यसै गरी कुनै विद्यार्थीले पढाएको बुझ्दैन भने ऊ पनि स्कुल आउँदैन । हामीले विद्यालय नआउने कारण सामान्य तरिकाले सोध्छौँ तर सबैले कारण नभन्न पनि सक्छन् । कोही गृहकार्य गर्न नभ्याएर नआउलान् त कोही आधा घण्टा ढिला भएर नआउलान् ।

हामीले हाम्रो समस्या समाधानका लागि सयौँ उपाय अपनाउन सक्छौँ । हामीले समस्या खोज्ने कि समाधान खोज्ने भन्ने प्राथमिक कुरा हो । अभिभावकसँग जहाँ भेट हुन्छ त्यहीँ कुरा गर्ने हो कि !

समयको अवरोध हटाउने पो हो कि !

प्राथमिक तहमा हुने विद्यार्थी अनुपस्थिति र माध्यमिक तहको अनुपस्थिति एउटै कारण र स्तरको हुँदैन । माध्यमिक तहकाले प्राथमिक तहका विद्यार्थीको अनुपस्थितिमा पनि चासो दिने हो कि । बाटामा जो भेटिन्छ उसैसँग कुरा गर्ने पो हो कि ? हाम्रा व्यवहार र शैली पनि परिवर्तन गर्ने हो कि ?

संविधानले विद्यालय शिक्षा सम्मको अधिकार स्थानीय सरकार मातहत गरेको अवस्थामा स्थानीय सरकारलाई नियमित विद्यार्थी नपठाउने अभिभावकलाई सुविधा नदेउ भनेर दण्ड तिरै जाने पो हो कि !

सँधै समस्या मात्र देखाउनु भन्दा केही उपाय पनि अवलम्बन गरौं ।

हाम्रा विद्यार्थीको उपस्थितिका लागि हामी शिक्षक नै जवाफदेही हुने पो हो कि । आखिर सिकाउने अन्तिम जिम्मेवारी त शिक्षकसँगै छ । हामी विद्यार्थीको अनुपस्थितिलाई कमजोर सिकाइको कारण बनाइरहने हो कि अब हाम्रो प्रयास यता लगाउने हो । फरक तरिकाले सोच्ने पो हो कि । भूमिका फरक फरक गर्ने पो हो कि ।

सबै विद्यालयको सन्दर्भ एउटै छैन । सबैका कारण एउटै छैनन् । सबैको परिस्थिति फरक छ । त्यसैले आफ्नो विद्यालयकै सन्दर्भमा समाधान खोज्नु आवश्यक छ ।  सिद्धान्तको रटान नलगाई व्यवहारका कुरा अहिलेको आवश्यकता हो ।

एउटा विद्यार्थी गृहकार्य नगरेकै कारण विद्यालय आउँदैन । यही कारणका सन्दर्भमा गृहकार्य नगर्ने ठूलो कुरा होला कि त्यही कारणले एक दिन विद्यालय नै नआउनु ठूलो कुरा होला । यसरी पनि हेर्नु आवश्यक छ ।

सबै विद्यालयका कारण, त्यस प्रतिको बुझाई र सन्दर्भ निश्चित रुपमा फरक छ । विद्यार्थी नियमित त गराउनै पर्छ त्यसो भए फरक फरक पद्धति नै किन नअपनाउने ? नियमित आएकालाई त सिकाउनै पर्छ । यो दायित्व पूरा गर्नै पर्छ ।
www.edukhabar.com मा प्रकाशित ।