Latest Book

औचित्य छैन परीक्षाको – १

यो शीर्षक पढेर कतिलाई अचम्म लाग्ला ! कतिपयलाई त रिसै पनि उठिसकेको हुनुपर्छ । तर, धैर्यता पूर्वक पढ्न, त्यसपछि मात्रै प्रतिकृया जनाउन र समालोचनात्मक ढङ्गले सोच्न आग्रह छ ।

तपाँईले गाली नै गरेपनि सहने सहनशीलता विकास गरेरै यो आलेख लेख्न बसेको छु । म यसको प्रतिरक्षामा उत्रने पनि छैन । यो लेखका ३ वटा श्रृङ्खला रहेका छन् ।

यो पहिलो श्रृङ्खला हो । सबै श्रृङ्खला अध्ययन गरेर मात्र प्रतिकृया जनाउनु भयो भने छलफल र वहस गरौंला ।

श्रृङ्खला : १, श्रृङ्खला २, श्रृङ्खला ३

अघिल्लो महिना एउटा विद्यालयको कक्षा १ का विद्यार्थीका अभिभावकहरुका लागि मात्र बोलाइएको वैठकमा उपस्थित हुने अवसर मिल्यो । त्यो वैठकमा म एउटा आलङ्कारिक स्रोता मात्र थिँए । वैठकमा कक्षा १ का कक्षा शिक्षकले त्रैमासिक परीक्षाको सबै विद्यार्थीको नतिजा सुनाउनु भयो । प्रधानाध्यापकले विद्यार्थीलाई नियमित सफा सुघ्घर बनाइ, कापी कलम पेन्सिल लिएर विद्यालय पठाइदिन आग्रह गर्दै वैठक समापन गर्नुभयो ।

विद्यालय हाता बाहिर चिया खाँदै गर्दा मैले ३ जना अभिभावक (अ) सँग कुरा गरे ।

म : आजको वैठकमा तपाईले के थाहा पाउनु भयो ।

अ १ : मेरो छोराले पहिले भन्दा धेरै जानेछ ।

म : कसरी थाहा भयो ?

अ १ : धेरै अङ्क ल्याएछ ।

म  : ए अनि के धेरै जानेछ त ?

अ १ : पढ्न धेरै जानेछ ।

म : के पढ्न ? क, ख पढ्न, अथवा A,B,C,D कि १, २, ३ ?

अ १ : त्यो त थाहा भएन ?

अ २ : मेरो छोरीको पढाइ कमजोर भयो रे, घरमा सिकाउनु भन्नु भएको छ ।

म : के कमजोर भयो रे ? अनि के सिकाउनु हुन्छ त ?

अ २ : खै के सिकाउने, क, ख, A,B कि अङ्क सिकाउने त होला ।

म : क, ख पनि जान्दैनिन् रे ?

अ २ : खै त्यो त थाहा भएन, घरमा त क, ख भनेको सुन्छु । छोरी ज्ञानी छे, भनेको मान्छे, लेखिरहन्छे, खै यहाँ कमजोर भइ रे, मैले त केही बुझिन ।

म : अनि के मा कमजोर भइन, मैले के सिकाउने भनेर सोध्नु भएन । अङ्क नजानेर हो कि ? A,B,C,D नजानेको हो कि ।

अ २ : खै थाहै भएन । त्यस्तै भन्नु भयो ।

अ ३ :  नातीको रिजल्ट सुन्न आएको । पहिलेजस्तै हो, सुधार भएको छैन, अलि ध्यान दिनुहोला भन्नु भएको छ ।

म : के मा ध्यान दिने रे त ?

अ ३ : पढाइमा ध्यान दिने त होला । क, ख पढाउन भन्नु पर्ला बुहारीलाई, मलाइ त आँउदैन ।

म : नातीले क, ख पनि नजानेको रे ।

अ ३ : मलाई के थाहा, के नजानेको हो ? माष्टरले त्यही भन्या छन् । आँफू पढाउन जान्दिन । जे भने बुहारीलाई त्यही भन्नु पर्ला ।

अभिभावकहरु जानुभयो । अभिभावक वैठक सञ्चालन गर्नुभएका कक्षा १ का कक्षा शिक्षक (शि) सँग मैले केही जिज्ञासा राखे ।

म : अभिभावकले त केही बुझिएन भन्नु भयो त सर ।

शि : नबुझ्नु पर्ने के नै छ र । हजुरले देख्नु भएकै त थियो । सबैले ध्यान दिएर सुन्नु भएको थियो । बुझ्याँै पनि त भन्नु भएको थियो ।

म : अनि कसको बच्चा के मा कमजोर भयो भनेर नभनी, उनीहरुले कसरी सिकाउँछन त सर ?

शि : विषय अनुसार नम्बर सुनाइदिएकै त छ नि ।

म :  होइन, मैले भन्न खोजेको के भने, कुनै बच्चाले नेपालीमा थोरै नम्बर ल्यायो, उसले क, ख नचिनेर थोरै नम्बर ल्यायो, अथवा क, ख लेख्न नजानेर थोरै नम्बर ल्यायो । अथवा क, ख, ग, हुँदै ज सम्म लेख्न सक्छ, तर ण सम्म जानेन, अथवा नजानेको खास कुरा के हो त अभिभावकलाई नभन्दा त उनीहरुले के सिकाउने त ? कुनै बच्चा गणितमा कमजोर भएछ, उ अङ्क नचिनेको हो कि, लेख्न नसकेको हो कि, अथवा अङ्क जानेको छ, जोड गर्न नजानेको हो । यो कुरा प्रष्ट नभइ अभिभावकलाई प्राप्ताङ्क सुनाएर त कुनै अर्थ होला जस्तो लागेन । उनीहरु त शिक्षकसँग तर्क विर्तक गर्ने, बुझिन भनेर त भन्दै भन्दैनन, नि होइन र ।

शि : यसरी त कहिल्यै गरेकै छैन । हामी त सधै यस्तै गर्छौ । अरु कक्षाका अभिभावकलाई पनि यसरी नै रिजल्ट सुनाउँछौ । तपाँइले भनेजस्तो गर्न त कठिन छ नि । एक एक कापी हेरेर गर्नु पर्छ । कहाँ सकिन्छ र ? फेरी सबै विषयको ? एउटा विषयमा त सकिएला ।

म : वर्षमा यस्तो काम कति पटक हुन्छ ?

शि : परीक्षा त ३ पटक हुन्छ । अभिभावकलाई २ पटक बोलाउँछौ । देखिहाल्नु भयो आधा पनि आउँदैनन् ।

म : सरले, बुझिने कुरा भन्ने भए पो सुन्न आउँछन त, नेपालीमा ६, गणितमा ५, अङ्ग्रेजीमा ५ भनेर सुनाउनु हुन्छ । के बुझ्न आउनु त नि । ६ नम्बर आयो के जानेर ६ नम्बर आयो, के नजानेर अरु जान्नेको जस्तो ८, ९ नम्बर आएन । गणितमा के जानेको छैन र ६, ७ आएन र के जानेर ५ आयो भन्ने कुरा थाहा नदिने हो भने, यो परीक्षा पनि बहाना मात्र भएन र !

शि : त्यसो मात्र होइन । हामीले पनि त हेर्छौ नि ।

म : के हेर्नुहुन्छ तपाईहरुले ? तपाईलाई कुन कुन बच्चा कमजोर छन् भन्ने त थाहा होला तर को के मा कमजोर छन् भन्ने थाहा  हुदैन होला । नेपालीमा कसैले अक्षर नचिन्ने होला, कसैले लेख्न मात्र नसक्ने होला, कसैले मात्रा चिन्न सक्दैन होला । गणितमा जोड जान्नेले घटाउ जान्दैन होला । कसैले त अङ्कै चिन्दैन होला । कसैले अङ्ग्रेजीमा आफ्नो नाम लेख्न नसक्ला त कसैले पढ्नै नसक्ला । कसैको अर्कै समस्या होला । उनीहरुका फरक फरक सिकाइका समस्या थाहै नहुने भयो । अनि कसरी सिकाउनु हुन्छ त ?

शि : सबैलाई जान्ने बनाउनै सकिएन । केही उपाय छैन सर ।

म : सबैलाई एकैपटक सबै कुरा जान्ने बनाउन त संसारमा कसैले पनि सक्दैन । र त्यसको कुनै खास रामवाण उपाय पनि हुँदैन । कसले के जानेको छ, कसले के जान्दैन भन्नेसम्म थाहा पाउनु पर्छ पहिले । अनि नजान्नेलाई बढी सहयोग गर्नु पर्छ होला । जो नजान्ने छ, उसलाई जान्दैन भन्दै गर्छौ, सिकाउँदैनौ अनि उ कसरी जान्दछ त ? आज पढाएको कुरा उसलाई आजै जान्ने बनाउँदैनौ । हामीलाई थाहा पनि हुँदैन । भोलि सोध्दा जान्दैन । अनि हिजो त्यत्रो पढाएर जान्दैनस ! भन्छौ । उसले जानिन, बुझिन पनि कहिल्यै भन्दैन, अनि कसरी सबैलाई जान्ने बनाउन सकिएला र ?

शि : त्यसरी त कहिले गरेकै छैनौ । पाठ पनि त सकाउनु पर्छ । स्रोतकेन्द्र भरीमा कोर्ष मिल्नु पर्छ नि । परीक्षाको प्रश्न सबैका लागि एउटै हुन्छ ।

म : खै के भनौं सर । समस्या नै धेरै भए । के गर्न सकिन्छ त ? सधै जसरी चलेको छ, त्यसरी चलाउँ । पाठ्यक्रमले वर्षमा ३ पटक परीक्षा गर्नु भनेको छ, त्यही अनुसार गर्नु भएकै रहेछ । अभिभावकलाई पनि यसो बोलाएर नम्बर सुनाइदिने गर्नु हुँदो रहेछ । यसो गरेपछि उनीहरुको गुनासो पनि सुन्न पर्दैन  ! क्यारे । परीक्षा पनि लिनै पर्यो । नम्बर सुनाउनै पर्यो । सधै यसरी नै चलेकै छ । परीक्षा गर्नु पर्छ भनेको हुनाले परीक्षा गर्नुहुन्छ । निरन्तर विद्यार्थी मूल्याङ्कनको फारम भर, भनेको छ, भर्नै पर्यो । हामी अरुले जे गर भन्यो, त्यही गरिरहँदा सम्म यस्तै त हो सर । म के भनौं र !

शि : अब मैले मात्र गरेर पनि भएन । एउटा विद्यालयमा गरेर पनि भएन । हाम्रो विद्यालय यो क्षेत्रको राम्रै विद्यालय हो । छिमेकी विद्यालयको भन्दा त राम्रै गरेका छौँ जस्तो लाग्छ, हामीलाई । स्रोत व्यक्ति सरहरुले राम्रो छ भन्नु हुन्छ । अब सरले कसरी हेर्नु भयो कुन्नि !

म : होइन, मैले त्यसो भन्न खोजिन । तपाईको विद्यालय नराम्रो भन्न खोजेकै होइन, मैले त खाली यो परीक्षाको नतिजाका सवालमा यसरी सुधार गरौँ न मात्र भन्न खोजेको । म १ दिन घुम्न आएको मान्छेले तपाईको विद्यालयको मूल्याङ्कन गर्नै सक्दिन नि । मेरो चासो त, हामी परीक्षा किन लिन्छौ ? त्यसको के उपयोगिता छ ? कक्षामा ६ घण्टा पढाउन छोडेर १ देखि ३ घण्टे परीक्षा किन लिने ? त्यो १, २, वा ३ घण्टाको परीक्षा दिनभरीको ६ घण्टे पठनपाठन भन्दा बढी उपयोगी हुन्छ होला त ? त्यसलाई यसरी प्रयोग गर्दा खास उपयोगी भएन कि भन्ने मात्र हो सर । माफ गर्नुहोला । मैले तपाँईलाई अलिकति डिस्टर्व गरे क्यारे ।

घण्टी लाग्यो । हाम्रो कुराकानी सकियो । शिक्षक कक्षातिर लाग्नु भयो । म मेरो आफ्नै बाटो लागेँ ।